मकवानपुर । बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिंह लामाले विद्यालयको अनुगमन गरेका छन् । मन्त्री लामाले मकवानपुरकाे हेटौंडा उपमहनागरपालिका –१४ मा रहेको भृकुटी माध्यमिक विद्यालयमा अनुगमन गरेका हुन् ।
विद्यालयको शैक्षिक अवस्थाबारे जानकारी लिन मन्त्री लामाले विद्यालयको प्रत्येक कक्षाकोठामै पुगेर अनुगमन गरेका थिए । उनलाई विद्यालयका प्रधानाध्यापक अच्युतकृष्ण रिजाल र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुमार मोक्तानले विद्यालयकाे अवस्थाकाे जानकारी गराएका थिए ।
अनुगमनका क्रममा मन्त्री लामाले भविष्यका कर्णधार बनाउने जिम्मेवारी शिक्षकको काँधमा रहेको भन्दै गम्भीर भएर लाग्न निर्देशन दिए । उनले शिक्षक, तथा विद्यार्थीहरुले थप परिश्रम गरि नमूना विद्यालयको रुपमा स्थापित गराउन आग्रह गर्दै मन्त्रालयले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । सार्वजनिक शिक्षा सुधार गर्ने प्रदेश सरकारको लक्ष्य रहेको भन्दै उनले विद्यालयका शिक्षक, विद्यार्थीकाे भूमिका शैक्षिक क्षेत्र सुधारमा नमूना हुने विश्वास व्यक्त गरे ।
२०७२ को भुकम्पपछि युएसएडको सहयोगमा एनआरएस परियोजना अन्तर्गत बनेको भवन एनआरएस परियोजना प्रमुख रामजी थापाले विद्यालयलाई हस्तान्तरण गरेका हुन् । १८ करोड लगानीमा निर्माण भएको विद्यालयकाे २२ कोठा रहेकाे छ । विद्यालय भवनलगायतका संरचना अपाङमैत्री रहेकाे थापाले बताए ।
यसैगरी विद्यालय भवन वातावरणमैत्री समेत रहेकाे छ । घाम कक्षाकोठामा नलाग्ने र गर्मी मौसममा गर्मी नहुने साथै चिसोमा चिसो नहुने गरी विद्यालयको भौतिक संरचना निर्माण भएको विद्यालयका प्रअ रिजालले बताए । हाल विद्यालयमा ३ सय ५० विद्यार्थी अध्ययनरत रहेका छन् । विद्यालयमा २५ वटा कम्युटर सहित ल्यावको समेत व्यबस्था रहेको प्रअ रिजालले जानकारी दिए ।

