मकवानपुर । समाजवादी आन्दोलनमा नेतृत्व गर्ने कम्युनिष्ट नेताहरुले विवाह, ब्रतबन्ध जस्ता कार्यक्रमको सन्दर्भमा ठुलो रकम खर्च गर्ने गरेको आरोप बेला बेलामा लाग्ने गरेको छ । पछिल्लो समय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकै सवालमा पनि सामाजिक सञ्जालमा विभिन्न टीका टिप्पणी आए ।
विवाह लगायतको सामाजिक कार्यक्रम गर्दा सहभागी हुन संङख्या र खर्चको दायरा तोकिए पनि यसलाई नीति निर्माताहरुले नै अनुसरण गर्ने गरेको पाइदैन । तर मकवानपुरका एक सञ्चारकर्मीले आफ्नो छोराको विवाह भोजको खर्च काटेर धार्मिक पर्यटकीय स्थलमा बुद्धको मुर्ति स्थापना गरेका छन् ।
मकवानपुरको हेटौंडा उपमहानगरपालिका ४, कमलडाँडा नीवासी पत्रकार प्रताप विष्टले छोरा डा. घोषणा विष्ट र बुहारी सुजता कार्कीको विवाहको खर्च कटौति गरेर हेटौंडा–९ स्थित कुष्माण्ड सरोबर त्रिवेणीधाममा गौतम बुद्धको अष्टधातुको मूर्ति स्थापना गरेका हुन् ।
धार्मिक पर्यटनको गन्तव्यको रुपमा विकास गरिएको त्रिवेणी धाममा उनीहरुले ५ फिट अग्लो, २ सय ६० केजी तामा र पित्तल मिसिएको मूर्ति स्थापना गरेको हुन् । करिब १२ लाख रुपैयाँ खर्चमा निर्माण गरिएको मूर्तिको हेटौंडा उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामा तथा उपप्रमुख राजेश बानियाँ अनावरण गरे ।
सामाजसेवी तथा बुद्धिजीवी देव श्रेष्ठले फजुल खर्च गरी विवाह गर्ने परम्परा बढिरहेको समयमा यस जोडीले उदाहरणीय काम गरेको बताए । “यस्ता कार्यले समाजको नेतृत्वकर्तालाई थप जिम्मेवार बन्न प्रेरणा दिन्छ” वृद्ध श्रेष्ठले भने “बाटो देखाउनेहरुले गर्ने यस्तै काम हो ।”

घोषणा विष्ट सञ्चारकर्मी प्रताप विष्टका कान्छा छोरा हुन् । विष्टले २०७४ सालमा आफ्नो ज्येष्ठ छोराको विवाह खर्च कटाएर मानव सेवा आश्रमलाई ५ लाख ११ हजार १११ सय रुपैयाँ तथा नेपाल पत्रकार महासंघ मकवानपुर शाखामा एकलाख रुपैयाँ पुस्तकालय स्थापनाका लागि प्रदान गरेका थिए । “दुबै सन्तानको विवाहमा मैले सकेको सामाजिक काम गरे, परिवारको पनि साथ रह्यो” विष्टले भने “भोज खुवायो, एक दिनको लागि, त्यसमा पनि सबैको मन बुझाउन सकिदैन ।”
धार्मिक पर्यटकीय स्थलमा राखिएको बुद्धको मुर्तिले समावेशी पार्क निर्माणका टेवा पुगेको त्रिवेणी धाम विकास समिति अध्यक्ष इश्वरी न्यौपानेले बताए । त्रिवेणी थाममा १०८ गौमुखि धारा, शिश महल, हेडम्ब देबीको मुर्ति लगायतको दर्शनीय स्थलहरु छन् । यहाँ माघ महिना भरी कुष्माण्ड मेला लाग्छ । हेटौंडाको नामाकरण कसरी भयो भन्ने ऐतिहासिक कथा यहाँबाट बुझ्न सकिने न्यौपानेले बताए ।
बुद्धुमर्तिको अनावरण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सूर्य सेडाइलगायत जिल्लाका प्रमुख सरकारी कार्यालयका प्रमुखहरु, दलका प्रमुखहरु, सामाजिक अभियन्ताहरु तथा सञ्चारकर्मीहरुको उपस्थिती रहेको थियो ।

