हेटाैडा अस्पताललाई आवश्यक स्वास्थ्यकर्मी हेटौडा उपमहानगरपालिकाले उपलब्ध गराउने
Tags: No Comments
मकमवानपुर । हेटौडा अस्पतालमा स्वास्थ्यकर्मीको अभाव हुन नदिन तत्काल हेटौडा उपमहानगरपालिकाले स्वास्थ्यकर्मी उपलब्ध गराउनु पर्ने भएकाे छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरमा बुधबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले हेटाैडा अस्पतालमा स्वास्थ्यकर्मी हेटाैडा उपमहानगरपालिकाले काजमा खटाइ पठाउने निर्णय गरेकाे छ ।
यस्तै निषेधाज्ञाको अवधिमा जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट जारी भएका सवारी पास बाहेक स्थानीय तह वा अन्य निकायबाट जारी भएकाे सवारी सञ्चालन अनुमति पत्र (पास)लाई मान्यता नदिने निर्णय बैठकले गरेकाे छ । सोही अनुसार गर्न/गराउन जिल्ला प्रहरी कार्यालय र मातहतका कार्यालयलाई निर्देशन जारी गरिएको छ ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले कोरोनाका विरामी बढ्दै गएपछि कोभिड अस्पतालको रुपमा निजी अस्पताललाई प्रयोग गर्ने निर्णय गरेको छ । बैठकले हेटौँडा उपमहानगरपालिका ११ स्थित चुरेहिल अस्पतालमा आइसियु सेवासहितको २५ बेडको कोरोना विशेष अस्पताल संचालन गर्ने निर्णय गरेको हो ।
हेटौडा अस्पतालमा अक्सिजनको अभाव हुन नदिन शिवम् सिमेण्टबाट प्राप्त ४२ थान अक्सिजन तत्काल पठाउने व्यवस्था मिलाउन सम्बन्धित निकायलाई प्रशासन कार्यालयले निर्देशन दिएको छ ।

मकवानपुर । हेटाैडा अस्पतालकाे कोभिड वार्डमा उपचारत १ पुरूषकाे आज बुधबार विहान मृत्यु भएकाे छ । कोरोना संक्रमण पुष्टि भएका मकवानपुरगढी गाउँपालिका वडा नम्बर–५ बस्ने ६८ वर्षिय पुरुषकाे मृत्यु भएको अस्पतालले जनाएकाे छ ।
हेटौंडा अस्पतालको कोभिड वार्डमा उपचार गर्दागर्दै उनकाे मृत्यु भएको अस्पतालका डाक्टर सागर काफ्लेले जानकारी दिए । याे समेत हेटौंडा अस्पतालमा उपचाररत कोरोना संक्रमण पुष्टि भएका ६ जनाकाे मृत्यु भएकाे छ । मृतक मध्ये मकवानपुरका ४ र बाहिरी जिल्लाबाट उपचारका लागि आएका २ जना रहका छन् ।
यसै गरी मकवानपुरको मनहरी गाउँपालिकामा काेराेना संक्रमण पुष्टि भएका १ पुरषकाे मृत्यु भएकाे छ । मनहरी १ मकरीमा कोरोना संक्रमित पुरुषको मृत्यु भएको हाे । कोरोनाबाट संक्रमित पुरुषको गए राती मृत्यु भएको मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले बताए ।अस्पतालमा उपचारपछी घरफर्किएका ती पुरूषकाे मृत्यु भएको थियाे ।

मकवानपुर । मकवानपुर जिल्लाका ३ स्थनीय तहमा पूर्ण र १ स्थानीय तहमा आंशिक लगाइएकाे निषेधाज्ञामा अत्यावश्यक उपभोग्य वस्तु विक्री वितरण गर्न समय घट्ने भएकाे छ ।
मकवानपुर जिल्लामा कोभिड-१९ को संक्रमण रोकथाम, नियन्त्रण तथा व्यवस्थापनका लागि प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले गत बैशाख १८ गते जारी गरेकाे निषेधाज्ञाकाे आदेशकाे बुंदा नं. २ लाइ संसाेधन गरी अत्यावश्यक उपभोग्य वस्तु (खाद्यान्न, पानी, दुध, माछा, मासु, अण्डा, फलफूल तथा तरकारी) विक्री वितरण गर्ने पसल विहान ५ बजेदेखि विहान ८ बजेसम्म मात्र खोल्न पाइने गरी बैशाख २१ गते थप आदेश जारी गरिएकाे हाे । यसअघि प्रशासनले निषेधाज्ञा क्षेत्रमा बिहान ५ बजे देखि ९ बजेसम्म पसल खोल्न पाईने जनाएको थियो ।
यसै गरी अादेशमा निषेधाज्ञा लागू भएका स्थानीय तहमा औषधी पसल, पेट्रोल पम्म, ग्याँस डिपो, अक्सिजन सिलिण्डर पसल, सवारी साधन मर्मत गर्ने तोकिएका वर्कसप नियमित सञ्चालन गर्नुपर्ने जनाइएकाे छ । यस बाहेकका अन्य सबै प्रकारका व्यवसायहरू बन्द रहने भएकाे छ।
यस अघी जारी अादेशलाइ संक्रामक रोग ऐन, २०२० को दफा २ र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ बमोजिम संशोधन गरी थप आदेश जारी गरिएको हाे । जारी आदेशको बर्खिलाप भए, गरेको पाइएमा प्रचलित कानून बमोजिम कारबाही हुने व्यहोरा उल्लेख छ ।
कोभिड-१९ को संक्रमण रोकथाम, नियन्त्रण तथा व्यवस्थापनका लागि जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र, मकवानपुरको बैशाख १८ गतेकाे सिफारिस तथा जिल्ला सुरक्षा समितिकाे सिफारिस समेतकाे अाधारमा प्रमुख जिल्ला अधिकारीले बैशाख १९ गते राती १२ बजेबाट मकवानपुर जिल्लाकाे हेटाैडा उपमहानगरपालिका, थाहा नगरपालिका, भीमफेदी गाँउपालिकाका सवै क्षेत्रमा निषेधाज्ञा गरेकाे थियाे । यस्तै मनहरी गाँउपालिकाकाे राजमार्ग क्षेत्रकाे दायाँबायाँ ५/५ सय मिटर क्षेत्रसम्म निषेधाज्ञा जारी भएकाे थियाे
मकवानपुरमा आजसम्म ७ सय ७२ जना सक्रिय संक्रमित रहेका छन् । जसमा ७ सय ४० जना संक्रमित घरमा,१९ जना संक्रमित हेटौंडा ६ स्थित गौरिटार आइसोलेसनमा र १३ जना संक्रमित हेटौंडा अस्पतालमा उपचाररत रहेका छन् । हालसम्म मकवानपुरमा कोरोना संक्रमण पुष्टी भएका ४० जनाको ज्यान गएको छ । मंगलबार मात्र काेराेना पुष्टि भएका २ जना संक्रमितकाे हेटाैडा अस्पतालमा ज्यान गएकाे थियाे ।

मकवानपुर । अहिले देशकाे केही भूभागमा मेघगर्जन र चट्याङ्ग सहित वर्षा भएकाे छ भने केही भूभागमा सामान्य देखी पूर्ण वदली रही वर्षाकाे सम्भावना रहेकाे छ ।
हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली, दक्षिण भू-भाग नजिक विकसित भएको न्यून चापीय क्षेत्र तथा बंगालको खाडीको जलवाष्प युक्त हावाको प्रभाव रहेकोले देशै भरी पूर्ण तथा आंशिक बर्षाकाे सम्भावना रहेकाे जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।
अहिले देशको प्रदेश २ र प्रदेश १ मा सामान्य देखि पूर्ण बदली रहेको छ भने बाँकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहेको छ। प्रदेश २ र प्रदेश १ का केहि भू-भागहरूमा मेघगर्जन/चट्याङ्ग सहित वर्षा भएको महाशाखाले जानकारी दिएकाे छ।
मौसम पूर्वानुमान महाशाखाले देशका केही स्थानमा मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन समेत अनुरोध गरेकाे छ।
३ दिनको मौसम पूर्वानुमान
बैशाख २१ गते मंगलबार दिउँसो देशका प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागका धेरै स्थानहरूमा सामान्य देखि पूर्ण बदली रहने छ । प्रदेश २, लुम्विनी, र सुदुरपश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली रहने छ। देशका पहाडी भू-भागका केहि स्थानहरूमा मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेकाे महाशाखाले जनाएकाे हाे।
मंगलबार राती पहाडी भू-भागका धेरै स्थानहरूमा सामान्य देखि पूर्ण बदली र बाँकी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रहने छ। देशका केही स्थानमा मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना समेत रहेकाे छ।
यस्तै बैशाख २२ गते बुधबार दिउँसो देशका पहाडी भू-भागका धेरै स्थानहरूमा सामान्य देखि पूर्ण बदली र बाँकी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रहने छ। देशका प्रदेश १ केही स्थानका साथै अन्य प्रदेशका पहाडी भू-भागमा मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित हल्का देखि मध्यम वर्षा तथा एक/दुई स्थानमा भारी वर्षाको सम्भावना मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।
बुधबार राती देशका पहाडी भू-भागका धेरै स्थानहरूमा सामान्य देखि पूर्ण बदली र बाँकी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रहने छ। देशका सुदुरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानहरूका साथै र बागमती, प्रदेश २ र प्रदेश १ का थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना पूर्वानुमान महाशाखाले जानकारी दिएकाे छ।
यसै गरी बैशाख २३ गते विहीबार दिउँसो देशका पहाडी भू-भागका धेरै स्थानहरूमा सामान्य देखि पूर्ण बदली र बाँकी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रहने छ। देशका केही स्थानमा मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित हल्का देखि मध्यम वर्षा तथा एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाे बताइएकाे छ।
विहीबार राती देशका पहाडी भू-भागका धेरै स्थानहरूमा सामान्य देखि पूर्ण बदली र बाँकी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रहने छ। देशका केही स्थानमा मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेकाे मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।