मकवानपुर । मकवानपुर जिल्लाका ३ स्थनीय तहमा पूर्ण र १ स्थानीय तहमा आंशिक लगाइएकाे निषेधाज्ञामा अत्यावश्यक उपभोग्य वस्तु विक्री वितरण गर्न समय घट्ने भएकाे छ ।
मकवानपुर जिल्लामा कोभिड-१९ को संक्रमण रोकथाम, नियन्त्रण तथा व्यवस्थापनका लागि प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले गत बैशाख १८ गते जारी गरेकाे निषेधाज्ञाकाे आदेशकाे बुंदा नं. २ लाइ संसाेधन गरी अत्यावश्यक उपभोग्य वस्तु (खाद्यान्न, पानी, दुध, माछा, मासु, अण्डा, फलफूल तथा तरकारी) विक्री वितरण गर्ने पसल विहान ५ बजेदेखि विहान ८ बजेसम्म मात्र खोल्न पाइने गरी बैशाख २१ गते थप आदेश जारी गरिएकाे हाे । यसअघि प्रशासनले निषेधाज्ञा क्षेत्रमा बिहान ५ बजे देखि ९ बजेसम्म पसल खोल्न पाईने जनाएको थियो ।
यसै गरी अादेशमा निषेधाज्ञा लागू भएका स्थानीय तहमा औषधी पसल, पेट्रोल पम्म, ग्याँस डिपो, अक्सिजन सिलिण्डर पसल, सवारी साधन मर्मत गर्ने तोकिएका वर्कसप नियमित सञ्चालन गर्नुपर्ने जनाइएकाे छ । यस बाहेकका अन्य सबै प्रकारका व्यवसायहरू बन्द रहने भएकाे छ।
यस अघी जारी अादेशलाइ संक्रामक रोग ऐन, २०२० को दफा २ र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ बमोजिम संशोधन गरी थप आदेश जारी गरिएको हाे । जारी आदेशको बर्खिलाप भए, गरेको पाइएमा प्रचलित कानून बमोजिम कारबाही हुने व्यहोरा उल्लेख छ ।
कोभिड-१९ को संक्रमण रोकथाम, नियन्त्रण तथा व्यवस्थापनका लागि जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र, मकवानपुरको बैशाख १८ गतेकाे सिफारिस तथा जिल्ला सुरक्षा समितिकाे सिफारिस समेतकाे अाधारमा प्रमुख जिल्ला अधिकारीले बैशाख १९ गते राती १२ बजेबाट मकवानपुर जिल्लाकाे हेटाैडा उपमहानगरपालिका, थाहा नगरपालिका, भीमफेदी गाँउपालिकाका सवै क्षेत्रमा निषेधाज्ञा गरेकाे थियाे । यस्तै मनहरी गाँउपालिकाकाे राजमार्ग क्षेत्रकाे दायाँबायाँ ५/५ सय मिटर क्षेत्रसम्म निषेधाज्ञा जारी भएकाे थियाे
मकवानपुरमा आजसम्म ७ सय ७२ जना सक्रिय संक्रमित रहेका छन् । जसमा ७ सय ४० जना संक्रमित घरमा,१९ जना संक्रमित हेटौंडा ६ स्थित गौरिटार आइसोलेसनमा र १३ जना संक्रमित हेटौंडा अस्पतालमा उपचाररत रहेका छन् । हालसम्म मकवानपुरमा कोरोना संक्रमण पुष्टी भएका ४० जनाको ज्यान गएको छ । मंगलबार मात्र काेराेना पुष्टि भएका २ जना संक्रमितकाे हेटाैडा अस्पतालमा ज्यान गएकाे थियाे ।


