मकवानपुर । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारलाई दिएकाे समर्थन फिर्ता लिने नेकपा माओवादी केन्द्रले लिने निर्णय गरेको छ ।
बैशाख २१ गते मंगलबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको हो । केन्द्र नयाँ सत्ता समीकरणका लागि नेपाली काँग्रेस र जनता समाजवादी पार्टीसँग भएको छलफल टुङ्गोमा पुग्न नसकेका कारण समर्थन फिर्ता लिने वा नलिने निर्णयमा पुग्न सकेको थिएन । माओवादीले समर्थन फिर्ता लिने निर्णय गर्ने जिम्मा यसअघि नै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिइएको थियाे ।
प्रधानमन्त्री केपी ओलीले आगामी वैशाख २७ गते विश्वासको मत लिने निर्णय गरेकाेले माओवादी केन्द्रकाे बैठकले समर्थन फिर्ताकाे औपचारिक निर्णय गरेको हो ।
प्रधानमन्त्रीलाई असफल बनाउने काँग्रेसको निर्णय

यसै बीच नेपाली काँग्रेसले प्रतिनिधिसभामा विश्वासको मत लिने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाइ असफल पार्ने निर्णय गरेको छ । प्रधानमन्त्री ओलीको विश्वासको मत लिने निर्णय षड्यन्त्रपूर्ण रहेको भन्दै त्यसलाई असफल पार्ने काँग्रेसले जनाएकाे छ
मङ्गलवार सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत लिनबाट रोक्न र ओलीको योजना असफल पार्न सबै दलसँग पहल गर्ने निर्णय गरेको हो ।

