मकमवानपुर । हेटौडा अस्पतालमा स्वास्थ्यकर्मीको अभाव हुन नदिन तत्काल हेटौडा उपमहानगरपालिकाले स्वास्थ्यकर्मी उपलब्ध गराउनु पर्ने भएकाे छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरमा बुधबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले हेटाैडा अस्पतालमा स्वास्थ्यकर्मी हेटाैडा उपमहानगरपालिकाले काजमा खटाइ पठाउने निर्णय गरेकाे छ ।
यस्तै निषेधाज्ञाको अवधिमा जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट जारी भएका सवारी पास बाहेक स्थानीय तह वा अन्य निकायबाट जारी भएकाे सवारी सञ्चालन अनुमति पत्र (पास)लाई मान्यता नदिने निर्णय बैठकले गरेकाे छ । सोही अनुसार गर्न/गराउन जिल्ला प्रहरी कार्यालय र मातहतका कार्यालयलाई निर्देशन जारी गरिएको छ ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले कोरोनाका विरामी बढ्दै गएपछि कोभिड अस्पतालको रुपमा निजी अस्पताललाई प्रयोग गर्ने निर्णय गरेको छ । बैठकले हेटौँडा उपमहानगरपालिका ११ स्थित चुरेहिल अस्पतालमा आइसियु सेवासहितको २५ बेडको कोरोना विशेष अस्पताल संचालन गर्ने निर्णय गरेको हो ।
हेटौडा अस्पतालमा अक्सिजनको अभाव हुन नदिन शिवम् सिमेण्टबाट प्राप्त ४२ थान अक्सिजन तत्काल पठाउने व्यवस्था मिलाउन सम्बन्धित निकायलाई प्रशासन कार्यालयले निर्देशन दिएको छ ।


