मकवानपुर । दोलखा जिल्लामा पहिलो पटक कोरोना भाइरसको परीक्षण गर्न पीसीआर परीक्षणका लागि प्रयोगशाला (Molecular Lab) शुरु भएको छ । दोलखाको भिमेश्वर नगरपालिकास्थित चरिकोट अस्पतालमा आज बुधबार प्रयोगशालाको उद्घाटन गरिएको हो ।
प्रयोगशाला चौबिसै घण्टा चलाउने हो भने ५०० सयसम्म स्वाब परीक्षण गर्ने क्षमता रहेको जनाइएको छ । आज दक्ष जनशक्ति समेत लगेर प्रयोगशालाको उद्घाटन गरेको बागमती प्रदेशको जनस्वास्थ्य प्रयोगशाला धुलिखेलका प्रमुख डा.नारायण बहादुर कार्कीले बताए । सो प्रयोगशालामा दोलखा नजिकका दोलखा, रामेछाप, सिन्धुपाल्चोक र सिन्धुलीबाट स्वाब संकलन गरेर ल्याउन सकिने कार्कीले बताए । चरिकोटमा प्रयोगशाला शुरु गरिएसँगै बागमती प्रदेशमा प्रयोगशालाको संख्या ६ पुगेको छ ।

यसअघि धुलिखेल, नुवाकोट, भक्तपुर, हेटौंडा, सिन्धुलीमा प्रयोगशाला संचालनमा रहेको छ । प्रयोगशाला निर्देशक डा. कार्कीका अनुसार यो मेसिन संसारमै अहिलेसम्म बनेको राम्रो मानिने मेसिन मध्येको हाे । यहाँ राखिएको मेसिनमा पीसीआर मात्रै नभई अरु विभिन्न रोगको पनि परीक्षण गर्न सकिने कार्कीको बताए । प्रयोगशालामा माइक्रोबाइलोजिस्ट सहितको जनशक्ति अहिले भए पनि पुग्ने जनशक्ति नभएकाले प्रदेश सरकारसँग माग गरिएको डा. कार्कीले बताए ।

‘थप जनशक्ति प्रदेश सरकारले पठाउँछ’ –मन्त्री बस्नेत
बागमती प्रदेश, सामाजिक विकास मन्त्री सरस्वती बस्नेतले कोरोना संक्रमण बढ्दै गएकाले दोलखासहित आसपासका जिल्लाको पीसीआर परीक्षणका लागि सहज हुने भएकाले प्रयोगशाला संचालनमा ल्याएको बताए ।
मन्त्रालयले केन्द्रीय जनस्वास्थ्य प्रयोगशालासँग समन्वय गरेर तत्कालै प्रयोगशाला संचालनमा ल्याएको र अहिले न्यूनतम जनशक्ति भए पनि थप जनशक्ति प्रदेश सरकारले पठाएर प्रयोगशालालाई पूर्ण क्षमतामा संचालन गर्ने मन्त्री बस्नेतले बताइन् ।

