मकवानपुर । बागमती प्रदेशसभाको असार २८ गते साेमबार बसेको बैठकले प्रदेश सरकारकाे अर्थ सम्बन्धी विधेयक पारित गरेकाे छ । प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक २०७८ लाई पारित गरेको छ ।
आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगेलले अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक २०७८ लाई पारित गरियोस् भनी बैठकमा पेश गरेकाे गरेका थिए । उक्त विधेयकमाथि सामान्य छलफल भई उठेका जिज्ञासाहरुलाई मन्त्री ढुंगेलले जफाव दिएका थिए ।
यसै गरी बैठकमा उद्योग पर्यटन वन तथा वातावरणमन्त्री सरेश नेपालले प्रदेश पर्यटन विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र सामाजिक विकासमन्त्री सरस्वती बस्नेतले प्रदेश उच्च शिक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भनी प्रस्ताव पेश गरेका छन् । दुबै प्रस्तावहरुलाई बैठकले सम्बन्धित समितिहरुमा पठाउन भनी स्वीकृति प्रदान गरेको छ ।
बैठकमा उद्योग पर्यटन वन तथा वातावरण समितिका सभापति रमा आले मगरले सिन्धुपाल्चोक जिल्लाको बाढी प्रभावित क्षेत्रको स्थलगत अनुगमन प्रतिवेदन २०७८ पनि पेश गरेकी छिन् ।
यस सँगै सभामुख सानुकुमार श्रेष्ठले अर्को सूचना जारी नभएसम्मको लागि प्रदेशसभाको बैठक स्थगित गरेका छन् ।
मकवानपुर । मकवानपुरकाे एक गाउँपालिकाले विद्यालयलाई बस सहयाेग गरेका छ । मकवानपुरकाे पूर्वी भागमा रहेकाे बागमती गाउँपालिकाले देवकी माध्यमिक विद्यालयलाइ बस हस्तान्तरण गरेको हाे ।
गाउँपालिका अध्यक्ष सर्केश घलानले आइतबार विद्यालयका प्रधानाध्यापक चन्द्र बहादुर थापा र विद्यालय व्यवस्थापन समिती अध्यक्ष हस्त बहादुर थिङलाइ बसको साँचो हस्तान्तरण गरेका हुन् । गाउँपालिको शैक्षिक शुधार कार्यक्रम अन्तरगत विनियोजित ३० लाख बजेटबाट स्कुलबस खरिद गरि हस्तान्तरण गरिएको अध्यक्ष घलानले जानकारी दिए ।
साँचो हस्तान्तरण कार्यक्रममा बाेल्दै अध्यक्ष घलानले सरकारी विद्यालयमा शैक्षिक सुधार गर्न गाउँपालिका लागि परेको बताए । ‘शिक्षामा आउने चुनौती सामना गर्न गाउँपालिका सदैब तयार रहेको छ’ घलानले भने ‘सबै बालबालिकालाई शिक्षाको पँहुचमा पुर्याउने लक्ष्य गाउँपालिकाकाे छ ।’ बस हस्तान्तरणले विद्यालयमा विद्यार्थीको उपस्थिती उल्लेख्य बढ्ने तथा शैक्षिक गुणस्तरमा सुधार ल्याउन मद्दत पुग्नेशिक्षा साखा प्रमुख रमेश बिडारीले जानकारी दिए । गाउँपालिकाले एमवीवीएसकाे डाक्टर उत्पादन गर्ने गरि नीती तथा कार्यक्रम ल्याउन लागेकाे बताइएकाे छ ।
विद्यालयकाे बस भएपछी पैदल अध्ययनका लागि विद्यालय आउनु पर्ने बाध्यता हट्ने बताइएकाे छ । शैक्षिक सुधारकाे लागि गाउँपालिकाले महत्वपूर्ण कामको थालनी गरेको अभिभावक बताउँछन् । अब विद्यालयमा टाढा बाट आउने विद्यार्थी पढ्दा थकाई लाग्ने, पढ्न मन नलाग्ने, गृहकार्य गर्न नपाईने जस्ता समस्या समाधान हुने प्रधानाध्यापक चन्द्र बहादुर थापाले विश्वास लिएका छन् । प्रधानाध्यापक थापाले बस सहयोग गरेकोमा गाउँपालिकालाई धन्यवाद समेत दिए । उनका अनुसार देवकी माध्यमिक ५ सय ७५ जना विद्यार्थी अध्ययनरत छन् ।
कार्यक्रमा बागमती गाउँपालिकाका कार्यकारी प्रमुख शुक्रमान राइ, बागमती गाउँपालिकाका ४ नं वडा अध्यक्ष रहर सिं थिङ, बागमती गाउँपालिकाका ५ नं वडा अध्यक्ष बुद्वीमान माझी, लेखा प्रमुख झम्क घलान, शिक्षा साखा प्रमुख रमेश बिडारी लगायतको उपस्थिती रहेको थियो।
मकवानपुर । प्रतिपक्षको तिव्र विरोधका बाबजुत बागमती प्रदेश सरकारको आर्थिक बजेट आइतबार पारित भएको छ । पटक पटक संसद नै अवरुद्ध गर्दै आएको प्रतिपक्षको विरोधकै बिच आर्थिक वर्ष २०७८/७९ को बजेट बहुमतले पारित भएको हो ।
आइतबार साँझ प्रदेशसभामा भएको छलफलपछि बजेट पारित भएको हो । बागमती प्रदेश बाहेक देशको अन्य कुनै पनि प्रदेशले आगामी वर्षको लागि प्रस्तावित बजेट हालसम्म पास गर्न सकेको छैन । विनियोजन विधेयक निर्णयार्थ पेश गर्दा सत्तारुढ नेकपा एमाले र नेपाल मजदुर किसान पार्टी मात्र प्रदेशसभाको बैठकमा सहभागी थिए । विपक्षी दलका सांसदहरु प्रदेशसभा बैठकबाट बाहिरिएका थिए ।
आइतबार दिउँसो बसेको प्रदेश सभाको बैठकमा विनियोजित बजेट माथिको छलफलमा विपक्षी दलले सरकारले ल्याएको बजेट विभेदकारी रहेको आरोप लगाएका थिए । प्रतिपक्ष दलहरुलाई उपेक्षा गर्दै एकलौटी ढंगबाट बजेट पास गरेको भन्दै यो दिन इतिहासकै कालो दिने भन्दै प्रतिपक्षी दल नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले विपक्षी दलहरुको सुझावको उपेक्षा नगर्ने आग्रह गरेका थिए ।
आइतबार विहान ११ः ४० बजेदेखि निरन्तर संचालन भएको प्रदेशसभा बैठकमा विभिन्न समयमा विद्युत अवरुद्ध भई बैठक प्रभावित भइरहेको र सदनमा खर्च कटौतीको प्रस्ताव राखेका सांसद्हरुले फिर्ता लिने वा नलिने काम बाँकी रहेकोले भोलि जेठ २८ गते बैठक पुन राख्न विपक्षी दलहरुले आह्वान गर्दा समेत त्यसको उपेक्षा गर्दै सत्तारुढ दलका सांसद् मात्रै सदनमा उपस्थित भई बैठक सञ्चालन गरिएको थियो ।
विनियोजन बजेटमाथि आवश्यक छलफल नै नगरी सत्तारुढ दलले बहुमतको दम्भ देखाउँदै एकलौटी ढंगबाट बजेट पास गरेकोले त्यो स्वीकार्य नहुने बानियाँले बताए ।
प्रतिपक्षद्वारा बहिस्कार
विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिने क्रममा विद्युत आपूर्ति अवरुद्ध भएपछि प्रतिपक्षी दलले सोमबार विनियोजन विधेयकमाथिको छलफल अघि बढाउन सभामुख सानुकुमार श्रेष्ठसंग आग्रह गरेका थिए ।
अव्यवस्थित ढंगले संसद नचलाउन अनुरोध गर्दा पनि सुनुवाई नभएको भन्दै प्रतिपक्षले आक्रोष पोखेका थिए । “भोली छलफल गरौं भनेर विपक्षी दलहरुले कुरा राख्यौं तर सभामुख ज्यूले पेलेर अघि बढ्नु भयो” नेपाली कांग्रेसका सचेतक छिरिङदोर्जे लामाले भने । अव्यवस्थित र असुरक्षित ढंगबाट संचालन भएको संसद बहिस्कार गरेको प्रतिपक्षी दलहरुको भनाई छ । विनियोजन विधेयक बैठकमा निर्णयार्थ पेश हुँदा नेकपा माओवादी केन्द्र, नेपाली काँग्रेस, विवेकशिल साझा पार्टी, राप्रपा र स्वतन्त्र संसद संसदमा थिएनन् भने नेमकिपाले पक्षमा मत राखेको थियो ।
बागमती प्रदेश सरकार आर्थिक वर्ष २०७८/०७९ को लागि बिनियोजित बजेट १ असारमा प्रदेश सभा समक्ष पेश गरेको थियो । प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि कुल ५७ अरब ७२ करोड ९ लाख २७ हजार बजेट बिनियोजन गरेको छ । कुल बजेट मध्ये चालु खर्चमा २६ अर्ब १ करोड ६६ लाख २३ हजार (अर्थात ४५ प्रतिशत), पुँजीगत तर्फ २९ अर्ब ७० करोड ४३ लाख ४ हजार ( अर्थात् ५१ प्रतिशत), वित्तिय व्यवस्थापनतर्फ २ अर्ब ( अर्थात् ४ प्रतिशत) बिनियोजन गरेको हो ।
आगामी आर्थिक वर्षको लागि अनुमानित गरिएको खर्च व्यहोर्न स्रोत मध्ये कर राजस्वबाट २३ अर्ब ८२ करोड १८ लाख, अन्य राजस्वबाट ६ अर्ब ८२ करोड १३ लाख संघीय सरकारबाट वित्तिय हस्तान्तरण प्राप्त हुने १६ अर्ब ९२ करोड ६८ लाख, विविधि प्राप्ति १ अर्ब ५ करोड ९ लाख चालु आवको राजस्व बचतबाट ९ अर्ब १० करोड प्राप्त हुने अनुमान गरेको छ ।
प्रदेश सभाको अर्को बैठक असार २८ असार गते विहान ८ बजे बस्ने गरी सभामुख सानुकुमार श्रेष्ठले आजकाे बैठक स्थगित गरेका छन् ।
मकवानपुर/आर्थिक वर्ष २०७८÷०७९ को लागि बजेट पेश भएपछी पटक पटक अवरुद्ध हुँदै आएको बागमती प्रदेशको प्रदेश सभा बैठक आइतबार बसेको छ । प्रदेश सभामा विनियोजित बजेटमाथिको छलफल सुरु भएको छ ।
बजेटमा चित्त नबुझेपछी विषेशतः विपक्षिदलको विरोधमा प्रदेश सभा बैठक सञ्चालन हुन सकेको थिएन । आइतबार बसेको बैठकमा बागमती प्रदेशका प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता शालिकराम जम्कट्टेलल, नेपाली काँग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँलगायतले बजेट विभेदकारी भएको भन्दै विरोध जनाएका छन् ।
प्रदेश सभामा मुख्यमन्त्री डोरमणि पौडेलले विपक्षिदलहबाट आएको विरोधको विषयमा संसदमा जवाफ दिएका थिए । प्रदेश सभामा असार १८ गतेको बैठकको विशेष समयमा उठेको प्रश्नको जवाफ दिंदै मुख्यमन्त्री पौडेलले प्रदेश सरकारले ल्याएको बजेटमा कुनै शंका र चिन्ता प्रकट गर्नुपर्ने औचित्य नै नभएको बताए ।
विशेषः प्रदेश सरकारले पूर्वाधार निर्माण नै नगरी विद्युतीय बस खरिद गर्न लागेको भन्दै बागमती प्रदेशसभामा चर्को विरोध भएपछि मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशसभामा जवाफ दिएका छन् । प्रदेशसभाको बैठकमा सम्बोधन गर्दै मुख्यमन्त्री पौडेलले प्रदेश सरकारले बस खरिद गर्नुभन्दा ३ महिनाअघि नै चार्जिङ स्टेशन बनाइसक्ने र बसको रुटसमेत तय गरिसकिने जवाफ दिएका हुन् ।
“हामीले खरिद गर्न लागेको ३० मध्ये २० वटा बस काठमाडौंमा चलाउनेछौं, बाँकी १० वटा बसहरु मात्रै हामीले उपत्यका बाहिर चलाउँछौं, त्यसको लागि चार्जिङ स्टेशन निर्माण स्थल पहिचान भइसकेको छ” मुख्यमन्त्री पौडेलले भने ।
बिद्युतीय बस खरिद गर्नको लागि टेन्डर गरिसकिएको सन्दर्भलाई जोडेर मुख्यमन्त्री पौडेलले “कम्पनीको बसको लागि टेन्डर पर्छ अहिले थाहा भइसकेको छैन, कुन कम्पनीको विद्युतीय बस आउने र त्यसको चार्जर कस्तो हुने भन्ने थाहा भएपछि हामी बस आइपुग्नुभन्दा ३ महिनाअघि नै चार्जिङ स्टेशन बनाउँछौं ।”
मुख्यमन्त्री पौडेलले चितवनको भतपुर बसपार्क, मकवानपुरको हेटौंडा बसपार्क, काठमाडौं बसपार्क र धुलिखेलमा बसपार्कमा चार्जिङ स्टेशन राख्ने निश्चित गरिसकिएको बताए । “चार्जिङ स्टेशन पनि दुइ प्रकारको हुने छ, एउटा ढिलो चार्ज हुने र एउटा छिटो जार्च हुनेवाला, ढिलो चार्ज हुनेवाला काठमाडौंमा राख्छौं, जो रातभर बस चार्ज गर्न पाइयोस् । छिटो चार्ज हुनेवाला चार्जिङ स्टेशन अन्य ठाउँमा राख्छौं” पौडेलले भने । विद्यतुीय बस सञ्चालनसँगै हेटौंडा– काठमाडौंको बीचमा २ ठाउँमा ठूलो स्टेशन बनाउने र रिफ्रेस सेन्टर सञ्चालन गरिने पौडेलले योजना सुनाए । रिफ्रेस सेन्टरको लागि सरकारले जग्गा मात्रै उपलब्ध गराउने र उक्त ठाउँमा निजी क्षेत्रले लगानी गर्ने उनले बताए ।
प्रदेश सभामा नेपाली काँग्रेस बागमती प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले प्रदेश सरकार आफैंले बस खरिद गरेर व्यापार गर्नतिर लागेको आरोप लगाउँदै यो गलत अवधारण भएको बताए ।
प्रदेशसभामा बोल्दै बानियाँले काँग्रेसले यसअघि नै आफ्नो स्पष्ट धारणा राखिसकेको बताउँदै सरकार आफैंले मिडिया हाउस खोल्ने निर्णय पनि गलत भएको दोहो¥याए । विद्युतीय बस खरिद, मिडिया हाउस सञ्चालनलगायतको विषय उठाउँदै अवरुद्ध प्रदेशसभा सञ्चालन गर्न विपक्षी दलहरुसँग भएको वार्ताका क्रममा मुख्यमन्त्री पौडेलले गरेको प्रतिवद्धताअनुरुप स्पष्टीकरण नदिएको भन्दै नेता बानियाँले असन्तुष्टीसमेत जनाए । “हामीसँग जे कुरामा सहमति भएको थियो, संसदमा त्यसरी जवाफ आएन, मुख्यमन्त्री ज्यूले घुमाउरो अभिव्यक्ति दिनुभयो हामी कसरी सन्तुष्टी हुने” नेता बानियाँले भने ।
प्रदेश सरकारले दीनदुखीहरुको हितको लागि बजेट नल्याएको भन्दै गरिब विपन्न नागरिकको लागि कुनै चासै नदिएको बताए । सरकारले ल्याएको बजेट भौगोलिक, विविधता, विकटतालाई सम्बोधन नगरीएको भन्दै सरकार अफ्ठ्यारोमा परेको नागरिकको पक्षमा नभएको उनले दाबि गरे ।
“बजेट विभेदकारी छ” नेता बानियाँले भने “कम्युनिष्टले गरिबको नाममा राजनीति र धनीको नाममा काम गरेको छ,काँग्रेस यो बजेटको विरोध गर्दछ ।”
इलेक्ट्रिक बस चाहिने तर त्यसअघि नेपालमा प्रसस्त विजुली उत्पादन गरेरे सरकारले निजी क्षेत्रलाई निजी सवारी साधन किन्नलाई ठूला ठूुला कम्पनीहरुबीच प्रतिष्पर्धा गराई जनतालाई सुविधा दिनुपर्ने धारण काँग्रेसले राख्दै आएको छ नेता बानियाँले भने–“त्यसैले अहिले सरकारले इलेक्ट्रिक बस किनेर व्यापार गर्न नलागोस्, सरकार आफैं मिडिया हाउस खोलेर आफूले नै भनेका राम्रा नराम्रा कुराको बारेमा आफैंले नै गाथा गाउन नखोजोस् ।”
प्रदेश सभामा नेता ममकट्टेलले प्रधानमन्त्रीको निर्देशनमा नेकपा एमालेका नेता माओवादी पार्टी खारेजीको माग गर्दै निर्वाचन कार्यालय धाएको भन्दै त्यसको भत्सना गरेका थिए ।
द्वन्द्वपीडितको बजेट काटेको प्रति संसदमा प्रश्न
प्रदेश सभामा पेश गरिएको बजेट परिणाममुखी नभएको दाबि गर्दै प्रमुख प्रतिपक्ष दलका प्रतिनिधिहरुले यसको विरोध गरेका छन् । बजेट संघीयतामुखी नभई नियन्त्रित बजेट भएको सांसदहरुले आरोप लगाए ।
बागमती प्रदेशका प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता शालिकराम जम्कट्टेलले भने “यो बजेटले समाज, क्षेत्र भुगोल पटक्कै चिनेको छैन ।”भूगोल विशेष र आवश्यकताको आधारमा बजेट बनाउनुपर्नेमा मन्त्रीमुखी र गुटमुखी बजेट आएको भन्दै उनले आपत्ति जनाए ।

आर्थिक वर्ष २०७८/०७९ को बजेटमाथि बोल्दै जम्कट्टेलले बजेटले दलित, गरिब अल्पसंख्यक समुदायको क्षेत्रमा बजेटले कुनै पनि सम्बोधन नगरिएको उनले आरोप लगाए । यसअघिका वर्षहरुमा निरन्तर रुपमा राखिको द्वन्द्वपीडितका कार्यक्रमहरु कटौती गरिएको भन्दै जम्कट्टेलले आपत्ति जनाए ।
‘द्वन्द्वपीडितका क्षेत्रका कार्यक्रमहरु किन राखिएनन् । द्वन्द्वपीडित भनेका माओवादी मात्रै हैनन, समाजका अन्य वर्गका पनि छन्, किन काट्नु भयो त्यो बजेट” जमकट्टेलले भने । “द्वन्द्वपीडितको कार्यक्रम राखेर मन्त्रालयले खोजीखोजी सरकारले सुविधा दिनुपर्छ” जम्कट्टेलले भने । बागमती प्रदेश भित्र ७ हजारको हाराहारीमा द्वन्द्वपीडित छन् । घाइते अपाङ्गहरुको लागि पनि बजेटले सम्बोधन गर्न नसकेको जमकट्टेलले बताए। यसैगरी अस्थायी र ज्यालादारीका कामदारलाई पनि सामाजिक सुरक्षाको कार्यक्रममा समेट्नुपर्ने आफूहरुको आवाजलाई सरकारले नसुनेको उनको गुनासो छ ।
मकवानपुर । बागमती प्रदेशको प्रदेश सभा बैठक आज शानिबार ३ बजे बस्ने भएको छ । शुक्रबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले आजको लागि प्रदेश सभा बस्ने निर्णय गरेको हो ।
भर्चुअल प्रविधिको माध्ययमबाट बसेको बैठकले शनिवार दिउँसो ३ बजे प्रदेशसभाको बैठक संचालन गर्ने निर्णय गरेको प्रदेशसभा सचिवालयले जनाएको छ । बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका सचेतक बुद्धिमान माझी, प्रतिपक्षी दल नेपाली कांग्रेसका सचेतक छिरिङ दोर्जे लामालगायत अन्य दलका नेताहरुको सहभागिता रहेको थियो ।
विपक्षी दलहरुले परामर्श समिमितको बैठकमा भोली आइतबारको लागि मात्रै प्रदेशसभाको बैठक सञ्चालन गर्न सुझाव दिएको भएपनि आज शनिबार नै बैठक राख्ने निर्णय गरिएको हो । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र र विपक्षी दल कांग्रेसले विपद् व्यवस्थापनको बजेट जिल्ला प्रशासनलाई पठाउनु संघीयता विपरित भएकोले सिधै स्थानीय तहलाई पठाउनुपर्ने, ससर्ततर्फको अनुदान रकममा विभेद बन्द गरिनुपर्ने, विद्युतीय बस खरिद प्रक्रिया, सुरुङमार्ग निर्माण र सरकार मातहतको संचार गृह संचालनको निर्णय खारेज हुनुपर्ने माग गर्दै १९ जेठदेखि सदन अवरुद्ध गराउँदै आएका थिए ।