मकवानपुर । बागमती प्रदेशसभाको असार २८ गते साेमबार बसेको बैठकले प्रदेश सरकारकाे अर्थ सम्बन्धी विधेयक पारित गरेकाे छ । प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक २०७८ लाई पारित गरेको छ ।
आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगेलले अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक २०७८ लाई पारित गरियोस् भनी बैठकमा पेश गरेकाे गरेका थिए । उक्त विधेयकमाथि सामान्य छलफल भई उठेका जिज्ञासाहरुलाई मन्त्री ढुंगेलले जफाव दिएका थिए ।
यसै गरी बैठकमा उद्योग पर्यटन वन तथा वातावरणमन्त्री सरेश नेपालले प्रदेश पर्यटन विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र सामाजिक विकासमन्त्री सरस्वती बस्नेतले प्रदेश उच्च शिक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भनी प्रस्ताव पेश गरेका छन् । दुबै प्रस्तावहरुलाई बैठकले सम्बन्धित समितिहरुमा पठाउन भनी स्वीकृति प्रदान गरेको छ ।
बैठकमा उद्योग पर्यटन वन तथा वातावरण समितिका सभापति रमा आले मगरले सिन्धुपाल्चोक जिल्लाको बाढी प्रभावित क्षेत्रको स्थलगत अनुगमन प्रतिवेदन २०७८ पनि पेश गरेकी छिन् ।
यस सँगै सभामुख सानुकुमार श्रेष्ठले अर्को सूचना जारी नभएसम्मको लागि प्रदेशसभाको बैठक स्थगित गरेका छन् ।

