मकवानपुर / नेपाली समुदायमा सबैभन्दा धेरै चर्चाको साथ मनाइने बडादशैं आजबाट सुरु भएको छ । आज दशैंको लागि घरघरमा जमरा राखिन्छ र नौ दिनसम्म पूजाआजा गरिन्छ । दशौं दिन सोही जमरालाई समृद्धिको प्रतिक मानेर शिरमा धारण गर्ने गरिन्छ ।
दशैंको पहिलो दिन आज जमरा राख्ने दिनलाई घटस्थापना भन्ने गरिन्छ। नेपाल पञ्चाङ्ग निर्णायक समितिले घटस्थापनाको उत्तम साइत आज बिहान ११ः४६ मिनेटमा रहेको जनाएको छ । घटस्थापना गर्दा पूजाकोठा वा दशैंघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ ।
नवरात्रको पहिलो दिन आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो ठाउँबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दशैंघरमा जौ रोपिन्छ । जौको पहेंलो अंकुरण अर्थात् जमरा दुर्गा देवीको प्रिय वस्तु भएकाले त्यसलाई विजयादशमीको दिन टीका–प्रसादसितै ग्रहण गरिन्छ । पहेंलो जमरालाई समृद्धिको प्रतीक पनि मानिन्छ ।
जमरा राख्नको लागि हिजै सरसफाई गरेर चोखो गरी राखिएको घर, मन्दिर, कोठाहरुमा आज विधि पूर्वक जमरा राखिन्छ ।कुल परम्परानुसार कसैले जमरा राख्दा जौसँगै अन्य अन्न पनि रोप्ने गरेका छन् । तर जमरा राख्ने कार्यमा जौबाहेक अरु अन्न रोप्ने शास्त्रीय विधि नभएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतम बताउँछन् ।
आज अर्थात घटस्थापनाको दिनदेखि नवरात्र शुरु भएको छ । नवरात्रभर दुर्गाका तीन रुप महाकाली, महालक्ष्मी र महासरस्वतीको विधिपूर्वक पूजाआराधना गरिन्छ । महाकाली शक्ति, महालक्ष्मी धनधान्य र ऐश्वर्य तथा महासरस्वतीलाई विद्या र बुद्धिको प्रतीकका रुपमा पूजाआरधना गर्ने परम्परा छ ।
नवरात्रको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी, सातौं दिन कालरात्रि, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गरिन्छ । दुर्गाका यी नौ रुपलाई नवदुर्गा भन्ने गरिन्छ ।
असोज २९ गते बिहान ८ बजेर १९ मिनेटमा देवी विसर्जन गर्ने र १० बजेर २ मिनेटमा टीका लगाउने उत्तम साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । टीका लगाउँदा पूर्वतर्फ फर्किएर लगाउनुपर्ने पनि समितिले जनाएको छ ।
अन्य साइत हेर्नुहाेस्

मकवानपुर/ बामगती प्रदेशमा आगामी २४ असोजमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिने भएकी छन् । २४ असोजको दिउँसो ३ बजे नवौं हिउँदे अधिवेशन बोलाउन प्रदेश प्रमुखलाई आग्रह गर्ने निर्णय प्रदेश सरकारले बुधबार गरेको छ ।
अल्पमतमा परेको बागमती प्रदेश सरकारले आगामी २४ असोजमा विश्वासको मत लिने भएको हो। बुधबार बसेको प्रदेश सरकारको बैठकले अधिवेशन आव्हानका लागि प्रदेश प्रमुखलाई आग्रह गर्ने निर्णय गरेको छ । प्रदेश सरकारका मन्त्री केशवराज पाण्डेले २४ असोजमा अधिवेशन आव्हानका लागि प्रदेश प्रमुख समक्ष आग्रह गर्ने निर्णय गरिएको जानकारी दिए ।
एमालेको एकल बहुमत रहेको बागमती प्रदेशमा १३ जनाले एकीकृत समाजवादी रोजेपछि मुख्यमन्त्री शाक्य अल्पमतमा परेर सरकार सञ्चालन गरिरहेकी छिन् । मुख्यमन्त्री शाक्यको दल एमालेसका ४३ सांसदको साथका साथ बागमती सरकार सञ्चालन भइरहेको हो।पार्टी विभाजनसँगै बागमती प्रदेशमा एमालेका १३ सांसदले नेकपा (एकीकृत समाजवादी) रोजेपछि शाक्य अल्पमतमा परेकी थिइन् । पार्टी विभाजनको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था बमोजिम मुख्यमन्त्री शाक्यले नवौं अधिवेशनमार्फत विश्वासको मत लिने तयारी थालेको भएपनि उनले विश्वासको मत पाउँने अवस्था अहिले छैन ।
एमालेका १३ प्रदेश सभा सदस्य नेकपा (एकीकृत समाजवादी)मा लागेपछि मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिनुपर्ने बाध्यात्मक अवस्था आइलागेको हो । आफूले विश्वासको मत नपाउने अवस्था भए पनि नतिजा स्वीकार गर्न आफू तयार रहेको मुख्यमन्त्री शाक्यले बताउँदै आएकी छन् ।
५६ सांसद सहित एकल बहुमत रहेको एमाले प्रदेश सभा संसदीय दलको नेताका रूपमा २ भदौमा उनी मुख्यमन्त्री नियुक्त भएकी थिइन् । ११० सदस्यीय प्रदेश सभामा बहुमतका लागि आवश्यक सांसद सङ्ख्या नपुगेपछि मुख्यमन्त्री शाक्यले विश्वासको मत लिनुपरेको हो।संविधानको धारा १८८ (२) मा मुख्यमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजन भए ३० दिनभित्र विश्वासको मत लिनका लागि प्रदेश सभामा प्रस्ताव राख्नुपर्ने व्यवस्था गरिएको छ ।
बागमती प्रदेश सभामा एमालेका ४३, नेकपा (माओवादी केन्द्र)का २३, नेपाली कांग्रेसका २२, नेकपा (एकीकृत समाजवादी)का १३, विवेकशील साझा पार्टीका तीन, नेपाल मजदूर किसान पार्टीका दुई, राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई र एक जना स्वतन्त्र सांसद छन्।संघमा गठबन्धन गरेको कांग्रेस, माओवादी र एकीकृत समाजवादी यो प्रदेशमा मिल्ने हो भने मुख्यमन्त्री शाक्यको बहुमत नपुग्ने निश्चितप्रायः छ ।
विश्वासको मत लिनका लागि मुख्यमन्त्री शाक्यले अहिलेसम्म आफ्नै पार्टी एमाले बाहेक अरुसंग भरपर्ने आधार नभएको बताइएको छ । यस्तो अवस्थामा मुख्यमन्त्री शाक्य विश्वासको मत लिन असफल हुने र आफूहरुको सरकार बनाउँने विपक्षी गठबन्धनको तयारी छ।विपक्षी गठबन्धनमा रहेका माओवादी केन्द्र, कांग्रेस, एकीकृत समाजवादीले आफूहरु मध्येबाट नयाँ मुख्यमन्त्री बनाउँने तयारी गरेका छन् । उनीहरुका अनुसार गठबन्धनमा ५९ मत रहेको छ ।
मकवानपुर । मकवानपुरको बकैयामा गाई काटेको आरोपमा पक्राउ परेका ९ जनालाई जिल्ला अदालत मकवानपुरले धरौटीमा छोड्न आदेश दिएको छ । सोमबार न्यायाधीश कमलराज विष्टको इजालशले पक्राउ परेका १० जनामा ९ जनालाई जनही ४० हजार धरौटीमा छोड्न आदेश दिएको हो ।
पक्राउ १० जना मध्य १ जना बालक रहेकामा उनलाई अविभावकको जिम्मा लगाईएको जिल्ला अदालत मकवानपुरका श्रेस्तेदार तीर्थराज भट्टराईले जानकारी दिए । मकवानपुर प्रहरीले गत असोज ३ गते बकैया-११ मा गाई काटेको आरोपमा घटनास्थलबाट ५० केजी गाईको मासु सहित १० जनालाई पक्राउ गरेको थियो ।
पक्राउ पर्नेहरुमा बकैया-११ कालिदमार बस्ने ३८ वर्षीय जनक बहादुर लो, सोही स्थानका ३५ वर्षीय राज लो, ४० वर्षीय रबिन्द्र लो, सिमाटार बस्ने ४५ वर्षीय राज कुमार घलान, ४८ वर्षीय प्रलाद भक्त न्यासुर,च्याउ च्याउ बस्ने १९ वर्षीय सोमार भोलन, ५० वर्षीया सन्च माया भोलन,१६ वर्षीय सन्देश बिक, ४० वर्षीय सुन बहादुर तामाङ, ३६ वर्षीय फुल माया थिङ रहेका थिए । प्रहरीले पक्राउ परेको सबै जनामाथि गौवधसम्बन्धी मुद्दा चलाएको थियो ।
मकवानपुर /बचत तथा ऋण सहकारीलाई पैसाको व्यापार गर्ने संस्था भन्ने आरोप लाग्न थालेकोले सहकारीहरूले आफ्नो पारदर्शितामा अधिकतम ध्यान दिनुपर्ने प्रदेश सहकारी विकास बोर्डका उपाध्यक्ष तथा सहकारी अभियन्ता नारायणप्रसाद देवकोटाले बताएका छन् । शनिबार हेटौंडामा आयोजित हातेमालो बचत तथा ऋण सहकारी संस्था लि को १५ औ बार्षिक साधारण सभामा उनले यस्तो बताएका हुन् ।
सहकारी अभियानमा आवद्ध सहकारीले लघु बिक्त क्षेत्रमा काम गर्नुपर्ने उपाध्यक्ष देवकोटाले बताए । ग्रामीण कृषि क्षेत्रमा धेरै भन्दा धेरै लगानी गरेमात्रै सहकारीको भबिष्य सहज भएको उनले बताए । सहकारीको नीति र बिधिलाई पछ्याउन लेखा समिति सबैभन्दा चुस्त रहनु पर्ने उनले बताए । सहकारी, निजि र सरकारी एकाकार नभएसम्म समृद्ध नेपाल संभव नभएको बताउँदै उपाध्यक्ष देवकाेटाले भने ‘सरकारले तीन खम्बे नीति लिएको छ तर सहकारीलाई बेवास्ता गर्दै आएको छ, याे सह्य विषय हैन ।’ ‘अब सहकारीले सरकार खोज्दै जाने हैन, सरकारले सहकारी खोज आउने गरी हामी बलियाे हुनुपर्छ’ उपाध्यक्ष देवकोटाले भने ।

कार्यक्रममा मकवानपुर जिल्ला बचत संघ अध्यक्ष कल्पना श्रेष्ठले सहकारीहरूले शेयर सदस्यहरूको विचारलाई मनन गर्दै अगाडि बढ्ने हो भने कम्तिमा १५ दिन अगावै प्रतिवेदन दिनुपर्ने र भेलाबाट सुझाव लिनुपर्ने बताइन् । राज्यले सहकारीको लागि दिने सहुलियत सहकारी भन्दा बाहिरको व्यक्ति तथा संस्थाले लिदै आएको गुनासो उनले गरिन । कर्जा सूचना केन्द्र र दृष्टि बन्धकमा लाग्दै आएको शुल्क खारेजी गर्न सहकारी बोर्डले भूमिका निर्वाह गर्नुपर्ने बताइन् ।

साधारणसभामा कृषि विकास बैंकका प्रबन्धक तथा हातेमालो सहकारी संस्था लिमिटेडका निवर्तमान अध्यक्ष नुरप्रसाद गौतमले सहकारीहरू आशा लाग्दो र भरपर्दो बन्नुपर्ने बताए । यसको लागि कर्मचारी र सन्चालकहरू सधै सचेत हुनुपर्ने गौतमले बताए । आर्थिक गतिविधि दरिलो नभएसम्म शेयर सदस्यहरूको हित गर्न नसकिने भएकोले अझै चुस्त र पारदर्शी काम गर्न उनले आग्रह गरे ।
कोरोना महामारीको कारण सहकारीको कारोबारमा धक्का लागेको हातेमालो बचत तथा ऋण सहकारीका अध्यक्ष हरिप्रसाद पौडेलले बताए । यद्यपि सहकारीले कोभिडको बेलामा कोभिड प्रभावित शेयर सदस्यलाई व्यवसाय सन्चालनको लागि प्रोत्साहन गरिएको पौडेलले बताए ।
सहकारीले शेयर सदस्यहरूलाई सुत्केरी पौष्टिक आहार खर्च स्वरुप एक हजार पांचसय रुपियाँ सुबिधा प्रदान गर्दै आएको छ ।

सहकारीले यसबर्ष ज्येष्ठ सदस्य तर्फ रामप्रसाद दाहाल र शुभमाया बिश्वकर्मा, नियमित तथा उत्कृष्ट बचतकर्ता तर्फ समिता ढुङ्गाना र बिष्णुप्रसाद दाहाल, नियमित तथा असल ऋणतर्फ तारादेवी बिष्ट र राजेन्द्रकुमार घिमिरे, उत्कृष्ट कर्मचारी तर्फ पुष्प दाहाललाई पुरस्कृत तथा सम्मानित गरेको सचीव केशवप्रसाद घितालले बताए ।

सहकारीले आगामी दिनमा सामाजिक उत्तरदायीत्व बहन गर्दै कम्तिमा २ वटा सामाजिक कार्यक्रम गर्ने तयारी गरेको पौडेलले बताए । हाल २ हजार १ सय ३५ जना शेयर सदस्यहरू आवद्ध रहेको सहकारीमा ४९ करोड २२ लाख ४३ हजार कारोबार रहेको छ । सस्थाले आगामी बर्षको लागि ६० करोड ३७ लाख कारोबारको लक्ष्य राखेको कोषाध्यक्ष सिताराम दाहालले बताए । सहकारीमा तीन कार्यकालसम्म सन्चालक समिति सदस्य रहेर योगदान गरे बापत बकैयाका चन्द्र कुमार राईलाई पनि सम्मान गरिएको थियो ।

मकवानपुर /मकवानपुरगढी गाउँपालिका अध्यक्ष बिदुर हुमगाईले परम्परागत चाडपर्वहरूमा हुन अनावश्यक खर्चहरू कटौती गरेर वचत गर्न तथा व्यवसायीक उत्पादनमा लाग्न आग्रह गरेका छन् ।
गाउँपालिकाको वडा-६ स्थित कालिदेवी प्राथमिक बिद्यालयको १७ औं अभिभावक भेलालाई सम्बोधन गर्दै अध्यक्ष हुमगाईले यस्तो बताएका हुन ।
तामाङ समुदायको बाहुल्यता रहेको सो क्षेत्रमा बालबालिकाहरूको पौष्टिकतालाई ध्यान दिन नसक्दा कुपोषणलगायतको समस्या हुनसक्ने संभावनालाई मध्येनजर गर्दै अध्यक्ष हुमगाईले यस्तो आग्रह गरेका हुन् । खानालाई पौष्टिकता नष्ट नहुने गरि प्रयोग गर्न र चाडपर्वमा गरिने अनावश्यक खर्चहरू कटौती गर्ने उनले आग्रह गरेका हुन् । कार्यक्रम बिध्यालय स्रोत व्यक्ति दाँसरथी उपाध्यायले बिद्यालय जाने उमेर समूहका बालबालिकाहरू बिद्यालय गए/ नगएको निगरानी समुदायले गरिदिन आग्रह गरे । सरकारले आधारभुत तहको शिक्षा अनिवार्य र निशुल्क गरेकोले सबैले अनिवार्य रूपमा बालबालिकालाई बिद्यालय पठाउन उपाध्यायले आग्रह गरे ।
कार्यक्रममा बिद्यालय स्रोत व्यक्ति इन्द्रबहादुर कार्कीको पनि उपस्थिति रहेको थियो ।
नकुल चौलागाईं व्यवस्थापन समिति अध्यक्ष चयन
मकवानपुरगढी गाउँपालिका -६ स्थित कालिदेवी प्राथमिक बिद्यालय व्यवस्थापन समितिको अध्यक्षमा नकुल चौलागाईं चयन भएका छन् । आइतबार भएको भेलाले चौलागाईंको अध्यक्षतामा ९ सदस्यीय नयाँ व्यवस्थापन समिति चयन गरेको हो । समितिको सदस्यहरूमा वडा प्रतिनिधिबाट वडा अध्यक्ष टीका दाहाल, शिक्षक प्रतिनिधिबाट सानुमाय दोङ्ग र सदस्य सचिव बिद्यालयको प्रध्यानाध्यापक देवकी तिमल्सिनालाई चयन गरिएको छ ।
व्यवस्थापन समितिको सदस्यहरूमा जितबहादुर दोङ्ग, तिलकबहादुर रूम्बा, सन्चमाया भम्जन, बिबिमाया मोक्तान र कृष्णकुमारी कार्की चयन भएको अध्यक्ष चौलागाईंले बताए ।
यसैगरी सोही भेलामा स्थानीय नबदुर्गा टोल विकास संस्थाको तेस्रो बार्षिक साधारणसभा पनि गरिएको थियो । टोल बिकास संस्था अध्यक्ष नकुल चौलागाईंको अध्यक्षतामा भएको साधारणसभाले यस सचिबको भूमिकामा रहेका देवराज घिमिरेको राजिनामा स्वीकृत गरि पुर्णबहादुर घलेलाई चयन गरेको छ । कार्यक्रम अध्यक्ष चौलागाईंले टोल विकास संस्थाले वडाको कार्यक्रमलाई चासोका साथ हेरेको बताउंदै डकुमेन्टेशन व्यवस्थापनको कार्यलाई चुस्त राख्न पालिका र वडालाई अनुरोध गरे ।
