मकवानपुर/बागमती प्रदेशको मुख्यमन्त्रीमा राजेन्द्र पाण्डे चयन हुने संभावना बलियो बनेको छ । यस अघि मुख्यमन्त्रीको दाबेदार रहेका नेपाली काँग्रेस मकवानपुरका सभापति तथा कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बाँनीया मुख्यमन्त्रीको होडबाट बाहिरिएपछि पाण्डेको संभावना बलियो बनेका हो ।
संघीय सरकारमा मन्त्रालयको भागबण्डाको क्रममा भएको सहमति अनुसार बानियाँ मुख्यमन्त्रीको होडबाट बाहिरीएसँगै नवगठित एकीकृत समाजवादीको केन्द्रीय उपाध्यक्ष तथा बागमती प्रदेश संसदीय दलको नेता राजेन्द्र पाण्डे बागमती प्रदेशको मुख्य मन्त्री बन्ने लगभग पक्का भएको हो ।
नेकपा एमालेको विभाजनसँगै एमालेको तर्फबाट मुख्यमन्त्री बनेकी अष्टलक्ष्मी शाक्य अल्पमतमा परेपछि मुख्यमन्त्रीको रुपमा पाण्डे आउने भएका हुन् । उनी असोज ३० गतेसम्म मुख्यमन्त्री भैसक्ने दाबी गठबन्धनले गरेको छ ।
नेकपा एमाले विभाजनपूर्व मुख्यमन्त्री बनेकी शाक्य एमाले विभाजनपछि अल्पमतमा परेकी हुन् । यो संगै गठबन्धनको सहमतिमा पाण्डेलाई बागमती प्रदेशको मुख्यमन्त्री बनाउने तयारी अगाडि बढाइएको थियो । बागमती प्रदेशमा हाल अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकार रहेको छ । गत २ भदौमा शाक्य मुख्यमन्त्री पदमा नियुक्त भएकी थिइन् ।
सत्तारुढ दल नेकपा एमाले विभाजन भएसँगै मुख्यमन्त्री शाक्य अल्पमतमा परेकी छन् । सत्तारुढ दल विभाजन भएको ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान अनुसार नेकपा एमालेको स्पष्ट बहुमतबाट मुख्यमन्त्री नियुक्त भएकी शाक्य एमाले परित्याग गरी १३ जना सांसदले एकीकृत समाजवादीमा सनाखत गरेसंगै अल्पमतमा परेकी हुन् ।
बागमती प्रदेशसभामा हाल १०९ जना प्रदेशसभा सदस्य रहेका छन् । प्रदेश सरकार गठनको लागि ५५ सांसदको साथ आवश्यकता पर्दछ । तर, एमालेका १३ जना सांसदले एकीकृत समाजवादीमा सनाखत गरेसँगै एमालेमा ४३ सांसद मात्र रहेका छन् । यस अघि नेपाली कांग्रेसले नयाँ सरकार गठनका लागि दाबी गर्दै आएपनि अब गठबन्धनमा सहभागी भएपछि पाण्डे मुख्यमन्त्री बन्ने भएका हुन् ।
मुख्यमन्त्री शाक्यद्धारा विश्वासको मत लिन प्रस्ताव पेश
बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिन प्रदेश सभामा प्रस्ताव पेश गरेकी छन् । विश्वासको मत लिन शुक्रबार मुख्यमन्त्री शाक्यका प्रमुख राजनीतिक सल्लाहकार माधव अर्यालले प्रदेश सभा सचिवालयका सचिव कृष्णहरि खड्कालाई प्रस्ताव बुझाएका हुन् ।
शाक्यले आफ्नो दल नेकपा एमाले विभाजन भएकाले संविधानको धारा १८८ को उपधारा २ तथा प्रदेशसभा नियमावली २०७४ को नियम १४३ को उपनियम १ बमोजिम विश्वासको मत प्राप्त गर्न सूचना गरेको उल्लेख गरेकी छिन् । शाक्यले विश्वासको मत लिन प्रदेश सरकारले २४ असोजमा प्रदेश सभा अधिवेशन आह्वान गर्न सिफारिस गरेको थियो ।

मकवानपुर । बागमती प्रदेश खेलकुद विकास परिषद्को कार्यालय हेटौंडाकाे गौरीटारमा सारिने भएकाे छ । शुक्रबार सामाजिक विकास मन्त्री विजय सुवेदीले हेटाैडा ६ गौरीटारमा रहेको साढे ३ तल्ले भवनमा प्रदेश खेलकुद विकास परिषद्को कार्यालय शुभारम्भ गर्न उद्घाटन गरेका छन् ।
कोरोना संक्रमितहरुको उपचारका लागि आइसोलेशन वार्डको रुपमा प्रयोग गरिएको उक्त भवनलाई औपचारिक रुपमा पहिलो पटक प्रदेश खेलकुद विकास परिषद्को कार्यालय रहने गरी उद्घाटन भएको हो । भवनमा रहेको ३९ वटै कोठालाई कार्यालयले प्रयोग गर्ने परिषद्ले जनाएकाे छ । उक्त भवन संघीय सरकारको बजेटबाट बनेकाे हाे ।
उक्त भवनमा ९ वटा खेलकुदका प्रदेश स्तरका कार्यालय समेत रहने सदस्य सचिव सूर्यलाल भण्डारीले जानकारी दिए । फुटबल, भलिबल, क्रिकेट, बक्सिङ, एथलेटिक्स, तेक्वान्दो, कराँते, व्याडमिन्टन र स्विमिङ खेल कार्यालयलाई समेत १-१ कोठा कार्यालयका रुपमा प्रयोग गर्न उपलब्ध गराइने भएकाे हाे । कार्यालयको औपचारिक रुपमा शुक्रबार उद्घाटन गरिएको भएपनि हेटौंडा–४ मा रहेको कार्यालयमा रहेका सामानहरु दशैंपछि मात्र सारेर त्यसपछि मात्र कार्यालय गौरीटारबाट सञ्चालन हुने बताइएकाे छ ।
कार्यालय उद्घाटन कार्यक्रममा सामाजिक विकास राज्यमन्त्री जुनेली श्रेष्ठ, प्रदेश खेलकुद विकास परिषद्का सदस्यद्वय माधव तिमल्सिना, कल्पना शर्मा, जिल्ला खेलकुद विकास समिति मकवानपुरका अध्यक्ष सानु लामा, मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टिका लामा, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतम लगायतकाको उपस्थिति रहेको थियो ।
“आर्थिक पाटो दरिलो पार्न आर्थिक पत्रकारको सुझाव अपेक्षाकृत छ”
Tags: No Comments
मकवानपुर / बागमती प्रदेश आर्थिक मामिला तथा योजना मन्त्री रचना खड्काले आर्थिक पत्रकारीता गर्ने पत्रकारहरूबाट प्रदेशको आर्थिक मामिलामा महत्वपूर्ण सुझाव प्राप्त हुने आशा प्रकट गरेकी छन् ।
पत्रकारले तीनै तहको सरकारलाई जिम्मेवार बनाउन सक्ने बताउंदै आर्थिक मन्त्री खड्काले भनिन् “संघीय व्यवस्था बलियो बनाउने आर्थिक पाटो चुस्त हुनुपर्छ ।”
नेपाल आर्थिक पत्रकार समाज (सेजन)को आयोजनामा हेटौंडामा आयोजित सार्वजनिक खर्च तथा वित्तीय उत्तरदायित्व सचिवालयसँगको सहकार्यमा आर्थिक पत्रकारहरूलाई सार्वजनिक वित्त व्यवस्थापनसम्बन्धि तालीम तथा अभिमुखिकरणमा यस्तो बताएकी हुन् । संघीय व्यवस्था सफल बनाउन बित्तीय संघीयता सफल हुनुपर्ने उनले बताइन् । पत्रकारको अध्ययन बिश्लेषणले राष्ट्रको वित्तीय व्यवस्था दरिलो हुने उनले बताइन् ।
सही सूचनाको विश्लेषणले जनतालाई बलियो बनाउने भएकोले सबै प्रकारको नेतृत्वलाई जिम्मेवार बनाउने सुझाव महत्त्वपुर्ण हुने उनले बताइन् । “भौतिक पुर्वाधार क्षेत्रमा विकास गर्नको लागि मात्र बजेट व्यवस्था गरिनु पनि संघीयताको उपलब्धि हैन, भूई तहका व्यक्तिको पहुँचमा पुग्ने विकास गरिनु आवश्यक छ” उनले भनिन् । वित्तीय अनुशासनको पाटोमा पनि पत्रकारले चासो राख्नुपर्ने उनले बताइन् ।
कार्यक्रम बागमती प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयका अर्थ सचिव धनिराम शर्माले आर्थिक सूचनाहरू जनताका बिचमा लैजाने क्रममा पत्रकारहरूबाट प्राबिधिक त्रुटि हुने गरेको गुनासो गरे । सरकारले बिनियोजित गर्ने बजेट मितव्ययी भए नभएको, दोहोरपना आए नआएको बारे चासो राखिदिन उनले आग्रह गरे । पारदर्शीतालाई ध्यानमा राख्दै लक्ष्यित बजेट, खर्च बारे राम्रो अध्ययन नभएको उनले बताए । सरकारले बजेट ल्याउनु अघि जनताको सुझाव संकलन भए नभएको, संसदीय नियन्त्रणको अवस्था, कर प्रणाली, योजनाको दीर्घ प्रभावित बारे सूचना आमनागरिकमा लैजान मिडियाले भूमिका निर्वाह गर्नु पर्ने अर्थ सचीव शर्माले बताए ।
आर्थिक पत्रकार समाज सेजनका अध्यक्ष जनार्दन बरालको अध्यक्षतामा भएको कार्यक्रममा सार्वजनिक वित्त व्यवस्थापन सम्बन्धमा हालसम्मका व्यवस्थाहरू बारे पेफाका सदस्य सचिव गोरखबहादुर शाहीले र प्रदेश बजेट खर्च प्रणाली तथा प्रदेश लेखा नियन्त्रक कार्यालयबाट हुने कामहरू बारेमा बागमती प्रदेश लेखा नियन्त्रक हरिप्रसाद उपाध्यायले प्रस्तुति गरेका थिए ।
कार्यक्रममा नेपाल सरकारका पुर्व सचिव सुशील पाण्डेले केन्द्रिय तथा प्रदेश बजेट अनुदान प्रणाली, पुँजीगत खर्च संचित कोष बजेट घाट यसका समस्या र अभ्यास बारे जानकारी गराएका थिए । यसैगरी सेजनका निवर्तमान अध्यक्ष भीम गौतमले सार्वजनिक वित्त व्यवस्थापनसम्बन्धि हालको रिपोर्टिङ बारे पत्रकारलाई सहजीकरण गरेका थिए ।

मकवानपुर । मकवानपुरको हेटौँडामा विहीबार हेटौँडा रन’ प्रतियोगिता भएको छ । हेटौँडा उपमहानगरपालिका नगर खेलकुद विकास समितिको आयोजनामा ‘हेटौँडा रन’ प्रतियोगिता भएको हो ।
प्रतियोगिताको उद्घाटन् हेटाैडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले गरेका थिए । ६ किलोमिटर ‘हेटौंडा रन’ दौड प्रतियोगितामा हेटौंडा–१४ का डेबिट मिजार प्रथम भएका छन् । यस्तै हेटौंडा १३ को अम्रित सुनार द्वितीय र हेटाैडा १२ कै शशी विश्वकर्मा तृतीय भएका छन् । प्रतियोगितामा ४२ जनाले सहभागिता जनाएका थिए ।
प्रतियोगिताको प्रथम हुनेले नगद १५ हजार सहित मेडल तथा प्रमाणपत्र, दोश्रो स्थान हाँसिल गर्नेले १० हजार तथा तेश्रो हुनेले ५ हजार सहित मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन् । विजयी प्रतियाेगीहरुलाई हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले पुरस्कार प्रदान गरेकाे थिए ।
कार्यक्रममा उपमहानगरपालिकाका उपमेयर मिना कुमारी लामा, प्रमुख प्रशासकिय अधिकृत शिबराज चौलागाई नगर खेलकुद विकास समितिका अध्यक्ष चन्द्र शाही लगायतको आतिथ्यता रहेको थियो ।
मकवानपुर / नेपाल रेडक्रस सोसाइटी हेटौंडा उपशाखाले बडादशैं, तिहार, नेपाल सम्बत, छठलगायतका चाडपर्वको अवसरमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रमको आयोजना गरेको छ ।
बागमती प्रदेशको सामाजिक बिकास राज्यमन्त्री जुनेली श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा सामाजिक विकास राज्यमन्त्री जुनेली श्रेष्ठलाई रेडक्रस अभियानमा महत्त्वपूर्ण योगदान दिएकोमा सम्मान गरिएको थियो । कार्यक्रमकै अबसरमा रेडक्रसका आजिवन सदस्यहरुलाइ आजिवन सदस्यताको प्रमाणपत्र समेत बितरण गरिएको नेरेसो हेटौंडाका सभापति शिवहरी दाहालले जानकारी बताए ।
कार्यक्रममा जिल्ला समन्वय समिती मकवानपुरका प्रमुख रघुनाथ खुलाल, नेपाल बुद्धिचाल संघका केन्द्रिय अध्यक्ष एकलाल श्रेष्ठ, नेपाल रेडक्रस सोसाइटीका केन्द्रिय सदस्य प्रताप बिष्ट तथा जिल्ला सभापति सुर्यचन्द्र न्यौपानेले मन्तव्य ब्यक्त गरेका थिए।
हेटौंडा उपशाखाले हरेक वर्ष चार्डपर्वको अवसरमा शुभकामना आदानप्रदान तथा चियापान एवं रेडक्रस परिचयात्मक कार्यक्रमको आयोजना गर्दै आइरहेको उपशाखाका कोषाध्यक्ष हिक्मत श्रेष्ठले जानकारी दिए। कार्यक्रम उपशाखा सभापति शिबहरि दाहालको अध्यक्षतामा भएको थियो ।