मकवानपुर/बागमती प्रदेशको मुख्यमन्त्रीमा राजेन्द्र पाण्डे चयन हुने संभावना बलियो बनेको छ । यस अघि मुख्यमन्त्रीको दाबेदार रहेका नेपाली काँग्रेस मकवानपुरका सभापति तथा कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बाँनीया मुख्यमन्त्रीको होडबाट बाहिरिएपछि पाण्डेको संभावना बलियो बनेका हो ।
संघीय सरकारमा मन्त्रालयको भागबण्डाको क्रममा भएको सहमति अनुसार बानियाँ मुख्यमन्त्रीको होडबाट बाहिरीएसँगै नवगठित एकीकृत समाजवादीको केन्द्रीय उपाध्यक्ष तथा बागमती प्रदेश संसदीय दलको नेता राजेन्द्र पाण्डे बागमती प्रदेशको मुख्य मन्त्री बन्ने लगभग पक्का भएको हो ।
नेकपा एमालेको विभाजनसँगै एमालेको तर्फबाट मुख्यमन्त्री बनेकी अष्टलक्ष्मी शाक्य अल्पमतमा परेपछि मुख्यमन्त्रीको रुपमा पाण्डे आउने भएका हुन् । उनी असोज ३० गतेसम्म मुख्यमन्त्री भैसक्ने दाबी गठबन्धनले गरेको छ ।
नेकपा एमाले विभाजनपूर्व मुख्यमन्त्री बनेकी शाक्य एमाले विभाजनपछि अल्पमतमा परेकी हुन् । यो संगै गठबन्धनको सहमतिमा पाण्डेलाई बागमती प्रदेशको मुख्यमन्त्री बनाउने तयारी अगाडि बढाइएको थियो । बागमती प्रदेशमा हाल अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकार रहेको छ । गत २ भदौमा शाक्य मुख्यमन्त्री पदमा नियुक्त भएकी थिइन् ।
सत्तारुढ दल नेकपा एमाले विभाजन भएसँगै मुख्यमन्त्री शाक्य अल्पमतमा परेकी छन् । सत्तारुढ दल विभाजन भएको ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान अनुसार नेकपा एमालेको स्पष्ट बहुमतबाट मुख्यमन्त्री नियुक्त भएकी शाक्य एमाले परित्याग गरी १३ जना सांसदले एकीकृत समाजवादीमा सनाखत गरेसंगै अल्पमतमा परेकी हुन् ।
बागमती प्रदेशसभामा हाल १०९ जना प्रदेशसभा सदस्य रहेका छन् । प्रदेश सरकार गठनको लागि ५५ सांसदको साथ आवश्यकता पर्दछ । तर, एमालेका १३ जना सांसदले एकीकृत समाजवादीमा सनाखत गरेसँगै एमालेमा ४३ सांसद मात्र रहेका छन् । यस अघि नेपाली कांग्रेसले नयाँ सरकार गठनका लागि दाबी गर्दै आएपनि अब गठबन्धनमा सहभागी भएपछि पाण्डे मुख्यमन्त्री बन्ने भएका हुन् ।
मुख्यमन्त्री शाक्यद्धारा विश्वासको मत लिन प्रस्ताव पेश
बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिन प्रदेश सभामा प्रस्ताव पेश गरेकी छन् । विश्वासको मत लिन शुक्रबार मुख्यमन्त्री शाक्यका प्रमुख राजनीतिक सल्लाहकार माधव अर्यालले प्रदेश सभा सचिवालयका सचिव कृष्णहरि खड्कालाई प्रस्ताव बुझाएका हुन् ।
शाक्यले आफ्नो दल नेकपा एमाले विभाजन भएकाले संविधानको धारा १८८ को उपधारा २ तथा प्रदेशसभा नियमावली २०७४ को नियम १४३ को उपनियम १ बमोजिम विश्वासको मत प्राप्त गर्न सूचना गरेको उल्लेख गरेकी छिन् । शाक्यले विश्वासको मत लिन प्रदेश सरकारले २४ असोजमा प्रदेश सभा अधिवेशन आह्वान गर्न सिफारिस गरेको थियो ।


