मकवानपुर/ मानव अधिकार रक्षकको अवस्था नाजुक रहेको निर्क्यौल सहित १६ बुंदे घोषणा पत्र जारी गर्दै मानव अधिकार रक्षक प्रादेशिक सम्मेलन सकिएको छ ।
बागमती प्रदेशलगायत देशको सातै प्रदेशमा जारी मानव अधिकार रक्षक प्रादेशिक दुई दिने सम्मेलनमा मानव अधिकार रक्षकहरूलाई राज्यले सुरक्षाको सुनिश्चितता सहित पीडितलाई तत्काल उद्वार गर्ने टिमको व्यवस्था गर्नुपर्ने औल्याईएको छ । सम्मेलनले ११ बुंदे स्थिती पत्र तथा १६ बुँदे घोषणा पत्र जारी गरेको हो ।
राजनीतिक नेतृत्व, सुरक्षा निकाय र सरकारी संयन्त्रले मानव अधिकार रक्षकको भूमिका र पहिचानलाई प्रयाप्त ध्यान नदिएको, दलहरूले बेलाबेला आफ्नो कार्यकर्ताहरूलाई मानव अधिकार उल्लंघनका घटनामा समेत संलग्न गराएको अवस्था प्रति सम्मेलनमा ध्यानाकर्ष भएको थियो ।
मानव अधिकार हनन्का घटनामा पीडितहरूकोन्यायको लागि आवाज उठाउने ब्यक्तिले धम्की, हिंसा तथा गैरकानुनी पक्राउ जस्ता कार्यहरूको सामना गर्नु परेको, महिला मानव अधिकारकर्मींहरूले विभिन्न खालका दुव्र्यवहार र हिंसा भोग्नु तथा लान्छना र आरोपको सामना गर्नु परिरहेको, जघन्य आपराधिक घटनामा समेत भित्रभित्रै मिलाउन खोज्ने, प्रहरी प्रशासनले समेत मिलापत्र गराउन पहल गर्ने परिपाटीले मानव अधिकार रक्षकहरू नै जोखिममा पर्ने खतरा रहेको, पीडकबाट मानवअधिकार रक्षकहरूलाई विभिन्न डर, धाक/धम्की दिने गरेका कारण मानवअधिकार रक्षकहरू विस्थापित भइरहेको स्थिती सार्वजनिक गरिएको छ ।

यसैगरी स्थानीय स्तरमा मानव अधिकार रक्षकहरूले आवश्यक सूचना लिनुपर्दा सहजै नपाइने अवस्था रहेको रहेको स्थिती पत्रका उल्लेख छ । यसैगरी सम्मेलनको घोषणापत्रमा समानता, सम्मान, संरक्षण र सुरक्षाको लागि मानव अधिकार रक्षकसम्बन्धी तीनतहका सरकारले कानून तर्जुमा गरी कार्यान्वयन गरिनुपर्ने, मानवअधिकार रक्षकहरूले आफूले कामगर्ने क्षेत्रमा सहज रुपमा सूचनाको पहुँच पाउने गरी स्थानीयदेखि संघीयतहसम्म राष्ट्रिय मानवअधिकार आयोगले समन्वय गरिदिनुपर्ने, आयोगले मुलुकभित्र रहेका मानव अधिकार रक्षकहरूको सूचीतयार गर्ने र सोको नियमित अद्यावधिक गरिनु पर्ने घोषणा गरिएको छ ।
यस्तै राष्ट्रिय मानव अधिकार आयोगले विभिन्न क्षेत्रमा कार्यरत मानवअधिकार रक्षकहरूको मापदण्ड निर्धारण, वार्षिक प्रतिवेदन, उचित सम्मान र पुरस्कार व्यवस्था गनुपर्ने, आयोग र तीनै तहका सरकारले विभिन्न क्षेत्रमा कार्यरत मानवअधिकार रक्षकको क्षमता अभिवृद्धिमा उचित ध्यान दिनुपर्ने, उल्लेख छ ।
आयोगले सातै प्रदेशबाट आएको स्थिति पत्र र घोषणा पत्रलाई कम्पाइल गरेर सरकारलाई सुझावको रुपमा बुझाउने अयोगको सदस्य लिलि थापाले बताइन् । दुई दिनसम्म चलेको सम्मेलमा इन्सेक, पत्रकार महासंघ, सञ्चारिका समूह, सिविन बाल हेल्प लाईन, माइती नेपाल, अपाङग महासंघ, दलित महासंघ, बार एशोसियस, मानव अधिकार संगठन, विभिन्न गैससका प्रतिनिधिहरु सहभागी थिए ।
हेर्नुहाेस घोषणा पत्र


मकवानपुर /मकवानपुर जिल्लाको थाहा नगरपालिका जिल्ला कै उत्कृष्ट स्थानीय तह बनेको छ । प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको कार्यसम्पादन मूल्यांकन अनुसार थाहा नगरपालिका जिल्लाकै उत्कृष्ट भएको हो ।
थाहाले आयोगको मुल्याङ्कनमा ७०.०८ अंक प्राप्त गरेको थाहा नगरपालिकाका स्थानीय तहको कार्य सम्पादन प्रगती अनलाइन रिपोटिङ फोकल पर्सन सुरज कुमार भुजेलले जानकारी दिए । आगामी आर्थिक वर्ष २०७९/८० मा संघीय सरकारबाट तल्लो सरकारलाई प्रदान गर्ने वित्तीय समानीकरण अनुदानको प्रयोजनका लागि प्राकृतिक स्रोत तथा वित्त आयोगले प्रदेश र स्थानीय सरकारहरुको कार्यसम्पादन मूल्यांकन गरेको थियो ।
‘आयोगले तोकेको सूचकमा थाहानगरले पाएकाे अंक रिपोटिङमा गरे भन्दा कम अंक हो, कामकाे आधारमा अझ पुर्नमूल्याङ्कनका लागि प्रमाण पेश गछौं’ भुजेलले भने । आयोगले १८ फागुनमा कार्य सम्पादन मूल्याङ्कन सार्वजनिक गर्दै तथ्याङ्क र प्राप्ताङ्कमा परिमार्जन गर्न परे ठोस प्रमाण सहित ७ दिन भित्र कार्यविधि बमोजिम पुनरावलोकनका लागि पत्र पठाउन स्थानीय तहहरुलाई परिपत्र गरेको छ ।
पालिकाको प्रमुख तथा जनप्रतिनीधिहरुको सहयोगबाटै उपलब्धी हासिल गर्न सकिएको थाहानगरका प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीले जानकारी दिए । पालिकाको वित्तिय सेवा प्रवाहलाई थप सुधार गर्दै लैजाने प्रशासकीय अधिकृत पुरीको प्रतिवद्धता छ । पालिकाको कार्य सम्पदन मूल्याङ्कनका प्रभावकारी रुपमा जिम्मेवार बहन गर्ने सबै जनप्रतिनीधि र कर्मचारीलाई नगर प्रमुख लवशेर विष्टले धन्यवाद दिएका छन् ।
आयोगको मुल्याङ्कन अनुसार सबैभन्दा कम प्राप्ताङ्क मकवानपुरको मनहरी गाउँपालिकाले पाएको छ । मनहरीले ४४.१३ अंक पाएको हो । त्यस्तै मकवानपुरगढी गाउँपालिकाले ६५.०७, बकैयाले ६१.८८, राक्सिराङले ६०, कैलाशले ५६.९९, भिमफेदीले ५६.४५, बागमतीले ५३.१७, इन्द्रसरोवर गाउँपालिकाले ५१.०२ र हेटौंडा उपमहानगरपालिकाले ४५.७३ मूल्याङ्कन अंक पाएको छ ।
आयोगले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग ऐन, २०७४ बमोजिम वार्षिक रुपमा मुल्याङ्कन गर्ने गर्दछ ।
मकवानपुर / मकवानपुरको हेटौंडा अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर सुरु भएको छ ।
शिविरमा सुष्मा कोइराला मेमोरियल अस्पतालका प्लास्टिक सर्जन मनहर कुमार यादबले स्वास्थ जाँच गरिरहेका छन् ।
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालको सहयोग र सुष्मा कोइराला मेमोरियल अस्पताल साँखु काठमाडौंको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर हेटौंडा उपमहानगरपालिका मेयर हरिबहादुर महतले उद्घाटन गरे ।
शारीरिक स्वास्थ्य समस्या भएका व्यक्तिहरुको विशेषज्ञ चिकित्सकद्वारा निःशुल्क स्वास्थ्य परीक्षण हुँदैछ। हेटौंडा अस्पताल व्यवस्थापन समितिले आवश्यक समन्वय गरिरहेको छ ।
शिविरमा आगोले पोलेको, शरिरको कुनै भाग खुम्चिएको वा चलाउन नमिल्ने भएको, अंगभंग भएको, आगोले पोलेर कपाल गुमाएका बिरामीहरु, जन्मजात हातगोडाको औँलाहरु टाँसिएको, बाङ्गिएको, हात गोडामा जन्मजात पाँचभन्दा बढी औँलाहरु टाँसिएको, जन्मजात ओठ तथा तालु फाटेको बिरामीहरुको स्वास्थ्य अवस्था परीक्षण गरिने प्रतिष्ठानका सुपेन्द्र कार्कीले बताए ।
त्यस्तै शिबिरमा मांसपेशी खुम्चिएर शरिरको कुनै भाग चलाउन नमिल्ने, विस्फोटनमा परी शरीरको कुनै भागको शल्यक्रिया गराउनुपर्ने अवस्था भएको, हातगोडा काटिएको ठाउँमा पाकेर, नचल्लने भएको, कान तथा नाक चिरिएको बिरामी, शरिरमा मुसा, कोठी, दाग तथा गाँठाहरुको शल्यक्रिया गर्नुपर्ने तथा क्यान्सर सम्बन्धी बिरामीहरु, हर्निया, हाइड्रोसिलका बिरामी तथा मेरुदण्ड भाँचिएर प्यारालाइसिस भएका बिरामीको परीक्षण गरिने हेटौडा अस्पताल संचालक समितिका सदस्य उत्सव चौँलागाईले जानकारी दिए ।
शिविरमा स्वास्थ्य परीक्षणपश्चात शल्यक्रिया गर्नुपर्ने अवस्था भएका बिरामीहरुलाई उपचार अवधिभर गाँस बासको निःशुल्क व्यवस्थापन मिलाइने र शल्यक्रिया पनि निःशुल्क हुने चौँलागाईले बताए ।
उनले शिविरमा सुष्मा कोइराला मेमोरियल अस्पतालका २ जना सर्जन र अन्य केही डाक्टरहरुबाट स्वास्थ सेवा दिएने जानकारी दिए । शिविरमा बिरामीको चापको आधारमा समय थप गरी २२ गते पनि शिविर संचालन गरिने बताइएको छ ।
२०७८ असार १४ गते सुस्मा कोईराला अस्पताल र हेटौंडाको मदन भण्डारी स्वास्थ बिज्ञान प्रतिष्ठान बिचमा भएको सहकार्यको सम्झौता अनुसार शिविरको आयोजना गरिएको कार्कीले बताए । शिविरमा स्वास्थ जाँच गरिएकाहरू मध्ये शल्यक्रिया गर्नु पर्ने विरामी भए सुस्मा कोईरालामा नि:शुल्क हुने बताइएकाे छ ।

मकवानपुर / बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले मानव अधिकार रक्षकको नाममा भक्षक नबन्न आग्रह गरेका छन् ।
मानव अधिकार रक्षक प्रादेशिक सम्मेलनको उद्घाटन गर्दै पाण्डेले यस्तो बताएका हुन् । “मानव अधिकार अत्यन्त गहिराहीको कुरा हो, अब पुग्यो भन्ने सर्त छैन, सधैं यसबारे सचेत रहनु पर्छ” पाण्डेले भने । राज्यपक्षबाट भएको मानव अधिकार हनन मात्रै मानव अधिकार हनन नभइ घर घरमा पनि मानव अधिकार हननको सवाल रहेको उनले बताए । घरैभित्र जीवन, मर्यादा, समानता र स्वतन्त्रताको अधिकार सुनिश्चित हुनुपर्ने उनले बताए ।
संघीयताले स्थानीय तहहरूमा नेतृत्वको अवसर कानुन मै ब्यवस्था गरेको र यसले महिला, दलितलगायत सिमान्तकृत समुदायलाई आफ्नो आवाज उठान सक्ने ठाउँमा पुर्याएका छौ उनले बताए । “यसबाट मानव अधिकार रक्षाको सम्मान भएको छ” उनले भने । शिक्षा, सीप, रोजगारीको सवालमा प्रदेश सरकार सबैलाई सधैं सम्बोधन गर्ने प्रतिबद्धता ब्यक्त गरे । मानव अधिकार रक्षकको नाममा हुनेगरेको विकृतिहरूको विरुद्ध लाग्न र द्वत चरित्र नदेखाउन पाण्डेले आग्रह गरे ।

मानव अधिकार रक्षक प्रादेशिक सम्मेलनमा आयोग सदस्य लिलि थापाले बनेका नीति, नियम,ऐन कानुन कार्यान्वयनमा सरकारले ध्यान दिनुपर्ने बताइन् । महिलाका नाममा समाबेशिताको दुरुपयोग नगर्न र अझै समाबेशिताको सवाललाई ध्यान दिन थापाले आग्रह गरिन ।
कार्यक्रममा मकवानपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले मानव अधिकार रक्षकहरूको सकारात्मक दबाबले राज्यलाई आधारभुत सुरक्षाको लागि सहयोग पुग्ने बताए । “राज्यलाई जिम्मेवारीमा सहयोग भएको छ, प्रशासकलाई सही निर्णय गर्न सहयोग गर्छ” पाण्डेले बताए ।


मकवानपुर।मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा-८ रहेको एक उद्योगमा गएराती आगलागी भएको छ । आगलागी अझै नियन्त्रणमा नआएको नगरपालिकाको बारूणयन्त्र शाखाले जनाएको छ ।
हेटौंडा-८ विकास टोल बस्ने टिका प्रसाद कडेलको भुसको गोदाममा आगलागी भएको हो ।
गएराति साँडे ११ बजेबाट सुरु भएको आगलागी बिहानसम्म पनि पूर्ण रुपमा नियन्त्रणमा आउन नसकेको हो । जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी प्रवक्ता जयश्वर रिमालले आगो निभाउने कार्य जारी रहेको बताए ।
हेटौंडा उपमहानगरपालिकाको दमकल, जितपुर सिमरा उपमहानगरपालिकाको दमकल,खैरेनी नगरपालिकाको दमकल,नेपाल आयल निगमको दुई वटा दमकल गरी ५ वटा दमकल र प्रहरीको सहयोगमा आगो निभाउने कार्य भई रहेको छ ।
आगलागी नियन्त्रणको लागि जिल्ला प्रहरी कार्यलय मकवानपुरबाट प्रहरी निरीक्षकको कमाण्डमा १५ जना,बागमती प्रदेश बिपद् व्यवस्थापन गुल्मबाट प्रहरी नायब निरीक्षकको कमाण्डमा ७ जनाको टोली, शसस्त्र प्रहरी बल नेपाल १४ नंबर गण मकवानपुरबाट सप्रनिको कमाण्डमा २१ जनाको टोली खटिएको प्रवक्ता रिमालले बताए ।
उक्त गोदाममा पचास हजार भुसको बोरा रहेको प्रहरीले जनाएको छ । आगलागी बाट कुनै पनि मानविय क्षती नभएको तर गोदाम जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।