मकवानपुर / मकवानपुरको हेटौंडा अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर सुरु भएको छ ।
शिविरमा सुष्मा कोइराला मेमोरियल अस्पतालका प्लास्टिक सर्जन मनहर कुमार यादबले स्वास्थ जाँच गरिरहेका छन् ।
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालको सहयोग र सुष्मा कोइराला मेमोरियल अस्पताल साँखु काठमाडौंको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर हेटौंडा उपमहानगरपालिका मेयर हरिबहादुर महतले उद्घाटन गरे ।
शारीरिक स्वास्थ्य समस्या भएका व्यक्तिहरुको विशेषज्ञ चिकित्सकद्वारा निःशुल्क स्वास्थ्य परीक्षण हुँदैछ। हेटौंडा अस्पताल व्यवस्थापन समितिले आवश्यक समन्वय गरिरहेको छ ।
शिविरमा आगोले पोलेको, शरिरको कुनै भाग खुम्चिएको वा चलाउन नमिल्ने भएको, अंगभंग भएको, आगोले पोलेर कपाल गुमाएका बिरामीहरु, जन्मजात हातगोडाको औँलाहरु टाँसिएको, बाङ्गिएको, हात गोडामा जन्मजात पाँचभन्दा बढी औँलाहरु टाँसिएको, जन्मजात ओठ तथा तालु फाटेको बिरामीहरुको स्वास्थ्य अवस्था परीक्षण गरिने प्रतिष्ठानका सुपेन्द्र कार्कीले बताए ।
त्यस्तै शिबिरमा मांसपेशी खुम्चिएर शरिरको कुनै भाग चलाउन नमिल्ने, विस्फोटनमा परी शरीरको कुनै भागको शल्यक्रिया गराउनुपर्ने अवस्था भएको, हातगोडा काटिएको ठाउँमा पाकेर, नचल्लने भएको, कान तथा नाक चिरिएको बिरामी, शरिरमा मुसा, कोठी, दाग तथा गाँठाहरुको शल्यक्रिया गर्नुपर्ने तथा क्यान्सर सम्बन्धी बिरामीहरु, हर्निया, हाइड्रोसिलका बिरामी तथा मेरुदण्ड भाँचिएर प्यारालाइसिस भएका बिरामीको परीक्षण गरिने हेटौडा अस्पताल संचालक समितिका सदस्य उत्सव चौँलागाईले जानकारी दिए ।
शिविरमा स्वास्थ्य परीक्षणपश्चात शल्यक्रिया गर्नुपर्ने अवस्था भएका बिरामीहरुलाई उपचार अवधिभर गाँस बासको निःशुल्क व्यवस्थापन मिलाइने र शल्यक्रिया पनि निःशुल्क हुने चौँलागाईले बताए ।
उनले शिविरमा सुष्मा कोइराला मेमोरियल अस्पतालका २ जना सर्जन र अन्य केही डाक्टरहरुबाट स्वास्थ सेवा दिएने जानकारी दिए । शिविरमा बिरामीको चापको आधारमा समय थप गरी २२ गते पनि शिविर संचालन गरिने बताइएको छ ।
२०७८ असार १४ गते सुस्मा कोईराला अस्पताल र हेटौंडाको मदन भण्डारी स्वास्थ बिज्ञान प्रतिष्ठान बिचमा भएको सहकार्यको सम्झौता अनुसार शिविरको आयोजना गरिएको कार्कीले बताए । शिविरमा स्वास्थ जाँच गरिएकाहरू मध्ये शल्यक्रिया गर्नु पर्ने विरामी भए सुस्मा कोईरालामा नि:शुल्क हुने बताइएकाे छ ।


