मकवानपुर । बागमती प्रदेश खेलकुद प्रतियोगिता फागुन २८ गते हेटाैडामा उद्घाटन गरी सुरु हुने भएकाे छ । प्रदेश खेलकुद बिकास परिषद्, बागमती प्रदेशको आयोजनामा हुने प्रथम प्रदेश खेलकुद प्रतियोगिता प्रदेशको ५ जिल्लामा सञ्चालन गरिने भएकाे हाे । परिषदले शुक्रबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको बारेमा जानकारी दिएको हो ।
प्रतियोगिताको उद्घाटन समारोह बागमती प्रदेशको राजधानी हेटौंडामा गरिने र समापन काभ्रेपलाञ्चोकको धुलिखेलमा गरिने परिषद्का सदस्य सचिव सुर्यलाल भण्डारीले जानकारी दिए । प्रतियोगिताको उद्घाटन फागुन २८ गते बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले हेटौंडा–५ स्थित निर्माणाधिन क्याम्पाचौरमा गर्ने भएका छन् ।
प्रदेशले पहिलो पटक आयोजन गर्न लागेको प्रतियोगिता मकवानपुर, चितवन, सिन्धुपाल्चोक, काठमाडौं र काभ्रेपलाञ्चोकमा सञ्चालन हुने भण्डारीले बताए । पुरुष फुलबल, व्याडमिन्टन, क्रिकेट, तेक्वान्दो, भलिबल, कराते, एथलेटिक्स, महिला फुटबल र बक्सिङ खेल खेलाइने उनले बताए ।
प्रतियाेगिता अन्तरगत मकवानपुरमा पुरुष फुटबल, तेक्वान्दो र व्याडमिन्टन खेलहरु खेलाईने छ । यस्तै चितवनमा भलिबल र क्रिकेट सञ्चालन गरिने छ भने काभ्रेपलाञ्चोकमा महिला फुटबल र बक्सिङ खेलाइने छ । त्यस्तै सिन्धुपाल्चोकमा कराते, र काठमाडौंमा एथलेटिकस् खेल सञ्चालन हुनेछ । फागुन २८ गतेदेखि शुरु हुने प्रतियोगिता चैत १२ गतेसम्म (१५ दिन) सञ्चालन हुनेछ । प्रतियोगिताको समापन बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री रत्न प्रसाद ढकाल गर्ने छन् ।
उद्घाटन समारोहलाई भव्य बनाउन आर्मी तथा प्रहरीको व्याण्डसहितको प्रस्तुती, ३ सय भन्दा बढी विद्यार्थीको ड्रिल प्रर्दशन, आतिसबाजी, मार्सल आट्र्स डेमो, विभिन्न भाँकी तथा सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरिने सदस्य सचिव भण्डारीले जानकारी दिए । प्रतियोगितालाई सव्य र भव्य रुपमा सञ्चालन गर्न ५/५ सदस्यीय ६ वटा उपसमिति र ३/३ सदस्यीय ८ वटा प्राविधिक समिति निर्माण गरिने भएकाे बताइएकाे छ ।
प्रतियोगिताको उद्घाटन हुने पहिलो दिन कुनै खेल सञ्चालन हुने छैन । दोस्रो दिनबाट प्रतियोगिता अन्तर्गतका खेलहरु सुरु भण्डारीले बताए । दोस्रो दिन फागुन २९ गतेदेखि पुरुष फुटबल र व्याडमिन्टन सञ्चालन हुनेछ । तेस्रो दिन फागुन ३० गतेबाट भलिबल र क्रिकेट खेलाइनेछ । चैत्र ६ गतेबाट एथलेटिक्स, ७ गते महिला फुटबल र कराते, चैत ९ गते बक्सिङ खेल सञ्चालन हुने खेलतालिका रहेको छ ।
प्रतियोगितामा प्रदेशका १३ जिल्लाका २ हजार १ सय ८८ जना खेलाडीहरु सहभागिता जनाउने छन् । जसमा महिला खेलाडी ९ सय ३९ जना र पुरुष खेलाडी १ हजार २ सय ४९ जना सहभागी हुने छन् । प्रतियोगिता सञ्चालनको लागि ४ सय ५७ जना अफिसियल र निर्णायक खटिने जनाइएको छ ।
प्रदेशको लगानीमा पहिलो पटक हुने प्रतियोगितामा ८ करोड ४ लाख खर्च हुने अनुमान गरिएको छ । स्पोट्र्स किट, यातायात खर्च, दैनिक भता खेलाडीहरुलाई उपलब्ध गराइने जनाइएको छ । त्यस्तै प्रतियोगितामा स्वर्ण, रजत र कास्य पदक हासिल गर्ने खेलाडीहरुलाई नगद, शिल्ड तथा मेडल र प्रमाण पत्र पुरस्कार दिइने छ ।
स्थानीय तहबाट छनोट भएका खेलाडीहरु जिल्लाको प्रतिनिधित्व गर्दै प्रदेश खेलकुद प्रतियोगितामा सहभागि हुने छन् । यस प्रतियोगितामा उत्कृष्ट हुने खेलाडीहरुले प्रदेश स्तरको प्रतियोगितामा सहभागि हुन पाउने छन् । खेल प्रतिभाको खोजी गर्ने, स्थानीय तहबाटै खेलकुदको प्रवर्धन गर्ने, खेलकुदका गतिविधि सञ्चालन गर्न प्रत्साहन गर्ने, खेदकुदप्रति राज्यको प्रतिबद्धता अभिवृद्धि गर्ने र प्रदेशलाई खेलकुद हबका रुपमा विकास गर्ने प्रतियोगिताको मुख्य उद्देश्य रहेको छ ।

