मकवानपुर । मकवानपुर होटल एशोसिएसनको अध्यक्षमा दिलिश गोविन्द जोशी चयन भएका छन् । शनिबार भएको छैठौं अधिवेशनबाट जोशीको अध्यक्षतामा सर्वसम्मत् नयाँ कार्यसमिति चयन भएको हाे ।
एशोसिएसनको वरिष्ठ उपाध्यक्षमा विष्णुगोपाल महर्जन, उपाध्यक्षमा धन बहादुर पौडेल (कल्याण) चयन भएका छन् । यसैगरी महासचिव हरिगोपाल सापकोटा, सचिव उमाप्रसाद रौनियार, कोषाध्यक्षमा रविन लामा, सहकोषाध्यक्ष सुरेश लामा चयन भए । यस्तै सदस्यमा पारसमणि थिङ, तेज कुमार स्याङतान, धन गहतराज विश्वकर्मा, कृष्णकली राजथला, ऋतु पिया र पाल्साङ लामा छन् ।
सर्वसम्मत निर्वाचित समितिले सरोज अधिकारी र सञ्जीव बल लोप्चनलाई कार्यसमिति सदस्यमा चयन गरेको छ । यसैगरी एशोसिएसनको पश्चिमक्षेत्र संयोजकमा कृष्णराम श्रेष्ठ, पूर्वीक्षेत्र संयोजकमा केदार दाहाल र उत्तरीक्षेत्र संयोजकमा रामशरण नेपाल चयन भएका छन् ।
एशोसिएसनका निवर्तमान अध्यक्ष शंकरलाल श्रेष्ठको अध्यक्षता तथा हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतको प्रमुख आतिथ्यमा अधिवेशनको उद्घाटन कार्यक्रम भएको हो । अधिवेशन उद्घाटन सत्रमा एशोसिएसनले इतिहासकार केदारप्रसाद न्यौपाने र अग्रज होटल व्यवसायी प्रमोद श्रेष्ठलाई सम्मान गरेकाे छ ।
मकवानपुर । मध्यवर्ती क्षेत्र खारेजको माग गर्दै हेटौंडामा विरोध प्रदर्शन गरिएकाे छ । हेटौंडा उपमहानगरपालिका वडा नम्वर–१२, १३ र १४ का स्थानीयहरुले पर्सा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र खारेजीको माग गर्दै प्रभावित वडाका संर्घष समितिले विरोध प्रर्शन गरेका हुन् । निकुञ्ज क्षेत्रको मध्यवर्ती क्षेत्र विस्तारले मानव बस्ती क्षेत्रलाई नै प्रभावित पार्ने र मानवीय सुरक्षा नै नरहेको भन्दै स्थानीयहरुले शुक्रबार विरोध प्रदर्शन गरेका हुन् ।
संर्घष समितिको विरोध प्रर्दशनलाई सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन) मकवानपुरले समर्थन गरेकाे छ । उनीहरुले हेटौंडा–१३ पदमपोखरीमा राष्ट्रिय निकुञ्जको सुरक्षार्थ सेनाको क्याम्प राख्ने तयारी गरिएकाले सो कदम तत्काल रोक्न माग गर्दै विरोध गरेका छन् । स्थानीयले निकुञ्जले क्याम्प राखेर आतंक सिर्जना गर्न खोजेको र स्थानीयलाई दुःख दिने नियत राखेको भन्दै त्यसको विरोध गरेका हुन् । यसविषयमा वडा, उपमहानगर, प्रदेश तथा संघीय प्रतिनिधिलाई समेत जानकारी गराइसकेका बताइएको छ ।
निकुञ्जको सुरक्षाका लागि सेनाको क्याम्प मानववस्तीको बीचमा नभइ चुरेको डाँडापारी राख्न उनीहरुले आग्रह गरेका छन् । निकुञ्जले स्थानीहरुसँग छलफल नै नगरी मध्यवर्ती क्षेत्र विस्तार गर्दै मानिसहरुलाई दुःख दिने उद्देश्यले बस्तीको बीचमा सेनाको क्याम्प राख्ने तयारी गरेकाले संघर्ष समिति बनाएर विरोधमा उत्रिएको उनीहरुको भनाई छ ।
निकुञ्जले क्याम्प खडा गरेपछि स्थानीयलाई घाँसदाउरा तथा गोठालो जान समेत अवरोध सिर्जना गर्ने भएपछी स्थानीयवासी त्यसको विरुद्धमा उत्रिएका हुन् । हेटौंडा–१२, १३ र १४ नम्वर वडाका स्थानाीय जनप्रतिनिधिहरुले पनि आफूहरुसँग समन्वय नै नगरी निकुञ्जले काम गरेको बताएका छन् । यसअघि पनि निकुञ्जले स्थानीय तह र वडासँग कुनैपनि समन्वय नगरी एकलौटी रुपमा आफ्नो काम गरिरहेकाले तत्काल त्यसलाई रोकेर छलफलमा आउन हेटौंडा १३ का वडा अध्यक्ष मनोज कुमार वाइवाले आग्रह गरे ।
विरोध प्रदर्शनका क्रममा सामुदायिक वनमा भइरहेको प्रतिगमन बन्द गर, संरक्षण क्षेत्र विस्तार बन्द गर, मानव अधिकारको सम्मान गर, वन्यजन्तु आतंक नियन्त्रण गर, प्रदेश वन ऐन संसोधन गर, मानव अधिकार विरोधी राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन र राष्ट्रिय पर्सा निकुञ्ज मध्यवर्ति क्षेत्र खाजेर गरलगायतका नाराहरु लगाइएको थियो ।
मकवानपुर । प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशको आयोजनामा भएको प्रथम खेलकुद प्रतियोगिताको फुटबलतर्फ मकवानपुर र ललितपुर फाइनल प्रवेश गरेका छन् ।
शुक्रबार भएको पहिलो सेमीफाइनल खेलमा ट्राइवेकरमा ललितपुरले धादिङलाई ५–३ गोलअन्तरले हराउदैं फाइनल प्रवेश गरेको छ । हेटौंडाको क्याम्पा रंगशालामा जारी खेलमा निर्धारित खेलमा गोल हुन नसकेपछि खेल ट्राइवेकरमा गएको थियो ।
त्यस्तै, दोस्रो खेलमा मकवानपुर फाइनल प्रवेश गरेको छ । घरेलु मैदानमा दोलखालाई ५–१ गोलअन्तरले हराउदैं मकवानपुर फाइनल प्रवेश गरेको हो । मकवानपुरका लागि १४ मिनेटमा समिरराज थोकरले पहिलो गोल गरेका थिए । खेलको ३४ मिनेटमा मकवानपुरका ललित चौलागाईले थप एक गोल थपेका थिए ।
खेलको दोस्रो हाफमा दोलखाका स्वंयम श्रेष्ठले ५३ मिनेटमा सान्त्वना गाेल गरेका थिए । मकवानपुरको तर्फबाट ५५ मिनेटमा समिरराज थोकरले थप १ गोल गरे । खेलमा मकवानपुरका लागि अमिर श्रेष्ठ र अनिष महर्जनले १/१ गोल गर्दै ५–१ को गोलअन्तरले मकवानपुर फाइनल प्रवेश गरेको खेल संयोजक कल्पना शर्माले बताइन् ।
आइतबार दिउँसो ३ बजे फाइनल खेलमा मकवानपुर र ललितपुरबीच प्रतिस्पर्धा हुनेछ । खेल नकआउट चरणमा खेलाइएको थियो ।
क्रिकेटतर्फ
क्रिकेट खेल तर्फ मकवानपुर र काभ्रे सेमीफाइनल प्रवेश गरेका छन् । चितवनको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा पुरुष तर्फको जारी क्रिकेट खेलमा मकवानपुर र काभ्रे सेमीफाइनल प्रवेश गरेको हो । शुक्रबार भएको पहिलो खेलमा काभ्रे ८ विकेटले विजयी भएको छ । भक्तपुरले २० ओभरमा ७ विकेट गुमाएर १ सय ३० रन बनाएको थियो । काभ्रेले १२.५ ओभरमै २ विकेट गुमाउदैं १ सय ३३ रन बनाएको थियो ।
त्यस्तै, दोस्रो खेलमा टस जितेर ब्याटिङ गरेको मकवानपुरले १९.१ ओभरमा सबै विकेट गुमाएर ललितपुरलाई १ सय ५८ रनको लक्ष्य दिएको थियो । ललितपुरले २० ओभरमा ८ विकेट गुमाएर ८४ रन मात्रै बनाएको खेल संयोजक प्रेम बहादुर क्षेत्रीले बताए । शनिबार क्रिकेटका २ खेल हुनेछ । पहिलो खेल धादिङ र काठमाडौं तथा दोस्रो खेल नुवाकोट र चितवनबीच हुने क्षेत्रीले जानकारी दिए । प्रतियोगितामा सिन्धुलीले सहभागिता जनाएको छैन् ।
यसैगरी मकवानपुरमा शनिबारबाट तेक्वान्दो प्रतियोगिता सुरु हुनेछ । हेटौंडा ४ पारिजातपथमा रहेको कभर्डहलमा खेल हुने खेल संयोजक माधव कोइरालाले बताए । प्रतियोगितामा १३ जिल्लाकै सहभागिता रहेको छ ।
काठमाडौंमा चैत्र ६ गतेदेखि एथलेटिक्स प्रतियोगिता हुनेछ भने सिन्धुपाल्चोकमा चैत्र ७ गतेबाट कराँते खेल हुने परिषदले जनाएको छ । त्यस्तै, काभ्रेमा भने चैत्र ७ गतेदेखि महिला फुटबल र ९ गतेदेखी बक्सिङ खेल प्रतियोगिता हुने सदस्य सचिव सुर्यलाल भण्डारीले बताए ।
मकवानपुर । हेटौंडा–४ मा रहेको नवोदय शिशु सदन अङ्ग्रेजी विद्यालयमा बुधबार पुस्तक परिचर्चा (बुक टक) भएको छ । पठन सीपको विकास गराउने उद्देश्यले कक्षा १ देखि ३ सम्मका विद्यार्थीले किताब अध्ययन गरी ‘लेभल–३’ मा पुग्न सफल भएका ११ जना विद्यार्थीले आफूले पढेको पुस्तकको बारेमा परिचर्चा गरेका हुन् ।
नवोदय विद्यालय कक्षा ३ मा अध्ययनरत छात्र अनुशिलन अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा झरना साहित्यिक परिवार मकवानपुरका उपाध्यक्ष विश्वनाथ सञ्जेलको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि रहेका सञ्जेलले साहित्य क्षेत्रमा कलम चलाउँदै सिर्जनशील क्षमताको विकास हुने बताए । जीवित हुँदै राम्रो काम गर्नुपर्छ भन्ने विषय वस्तुलाई आधार मानी गाई र खशीको कथा विद्यार्थी सामु उनले प्रस्तुत गरेका थिए ।
‘पुस्तकले नै संसारलाई परिवर्तन गर्न सक्छ । त्यसैले आधारभूत तहबाट नै विद्यार्थीलाई पठन सीपको विकास गराउनुको साथै बोल्ने सीपको विकास गराउने उद्देश्यले बुक टक कार्यक्रम आयोजना गरेको हौँ ।’– कार्यक्रमका संयोजक जमुना थापाले भनिन्। बुक टकमा सहभागी भएका ११ जना विद्यार्थीलाई संयोजकद्वय जमुना थापा र सोहिता भट्टराईले प्रमाणपत्र प्रदान गरेका थिए ।
कार्यक्रममा विद्यार्थीले नाटक प्रस्तुत गर्नुका साथै नृत्य पनि प्रस्तुत गरेका थिए । कार्यक्रममा नवोदय विद्यालयका भाइस प्रिन्सिपल दुर्गा भट्टराई, शैक्षिक संयोजक अव्यक्त खनालको आतिथ्यता रहेको थियो ।
मकवानपुर । प्रथम खेलकुद प्रतियोगितामा बुधबार भएको खेल अन्तरगत पुरुष फुटबलमा मकवानपुर र धादिङ सेमीफाइनल प्रवेश गरेको छ । प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशको आयोजनामा भएको खेलकुद प्रतियोगिताको पुरुष फुटबलतर्फ काभ्रेलाई हराउँदै धादिङ र सिन्धुलीलाई हराउँदै मकवानपुर सेमीफाइनलमा प्रवेश गरेका छन् ।
हेटौंडाको क्याम्पा रंगशालामा जारी फुटबल खेल अन्तरगत पहिलो खेल धादिङ र काभ्रेबीच भएको थियो । जसमा १–० गोलअन्तरले धादिङ विजयी भएको हो । खेलको २४ औं मिनेटमा विपिन कंडेलले गरेको १ गोल नै निर्णायक गोल बन्न पुग्यो । विजयीसँगै धादिङ सेमीफाइनल प्रवेश गरेको हाे । त्यस्तै, घरेलु मैदानमा सिन्धुलीलाई हराउदैं मकवानपुर सेमीफाइनल प्रवेश गरेको छ । बुधबार नै भएको क्वाटरफाइनल खेलमा १८ मिनेटमा ललित चौलागाईले पहिलो गोल गरेका थिए । पहिला हाफमा ४७ मिनेटमा सुनिल घलानले मकवानपुरका लागि दोस्रो गोल थपेका थिए । मकवानपुरका लागि दोस्रो हाफको ७४ मिनेटमा समिरराज थोकरले एक गोल थप गर्दै ३–० गोल अन्तरले मकवानपुर विजयी भएको हो ।
प्रतियाेगिता अन्तरगत विहीबार फुटबलका २ क्वाटरफाइनल खेल हुने संयाेजक कल्पना शर्माले जानकारी दिइन् । पहिलो क्वाटरफाइनल खेल ललितपुर र रामेछापबीच हुनेछ भने दोस्रो खेल दोलखा र भक्तपुरबीच हुने खेल शर्माले बताइन् । खेल नकआउट चरणमा खेलाइएको छ ।
पुरुष तर्फको क्रिकेट खेल सुरु
प्रदेश खेलकुद अन्तरगत नै चितवनको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा पुरुष तर्फको क्रिकेट खेल बुधबारबाट सुरु भएको छ । प्रतियोगिताको पहिलो खेल रामेछाप र नुवाकोटबीच भएको हाे । टस जितेर ब्याटिङ रोजेको नुवाकोटले २ विकेट गुमाएर रामेछापलाई २ सय ५६ रनको लक्ष्य दिएको थियो । रामेछापले १५ ओभरमा सबै विकेट गराउदैं ६६ रनमै सिमित रहेको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएका विभिन्न प्रतियोगिताहरु मध्ये हाल सम्मकै नुवाकोटका राजेश रिमालले एकैखेलमा हाइ स्कोर १ सय ५९ रन बनाएका थिए ।
त्यस्तै, दोस्रो खेल रसुवा र धादिङ बीच खेलाइएकाे थियाे । रसुवाले टस जितेर ब्याटिङ रोज्दै १३ ओभरमा पुरै विकेट गुमाएर ५१ रन बनाएको थियो । धादिङले ५ ओभरमै १ विकेट गुमाएर लक्ष्य हासिल गर्दै अघिल्लो चरण प्रवेश गरेको खेल संयोजक प्रेम बहादुर क्षेत्रीले बताए । क्रिकेट अन्तरगत विहीबार २ खेल हुनेछ । पहिलो खेल ललितपुर र दोलखा तथा दोस्रो खेल सिन्धुपाल्चोक र काभ्रेबीच हुने क्षेत्रीले बताए । प्रतियोगितामा सिन्धुलीले सहभागिता जनाएको छैन् ।
महिला भलिबलमा चितवन र रामेछाप फाइनलमा
चितवनको माडी खेल मैदानमा भएको महिला भलिबलमा चितवन र रामेछाप फाइनल प्रवेश गरेको छ । रामेछापले सिन्धुलीलाई २५–१०, १५–२५, २५–१४, २५–२० ले हराउदैं रामेछाप फाइनल प्रवेश गरेको हो । त्यस्तै, चितवनले दोलखालाई साझै सेटमा हराएको छ । चितवनले दोलखालाई २५–१२, २५–९,२५–८ ले हराउदैं फाइनल यात्रा तय गरेको हो ।
पुरुष भलिबलक़मा चितवन र सिन्धुली फाइनलमा
यस्तै पुरुष भलिबल तर्फकाे खेलमा चितवन र सिन्धुली फाइनल प्रवेश गरेका छन् । सेमीफाइनलमा सिन्धुलीले सिन्धुपाल्चोकलाई तथा चितवनले दोलखालाई हराउदैं फाइनल प्रवेश गरेको खेल संयोजक अशोक काजी थापाले बताए ।
प्रतियाेगिता अन्तर्गत मकवानपुरमा चैत्र ५ गतेबाट तेक्वान्दो प्रतियोगिता सुरु हुनेछ । सिन्धुपाल्चोकमा चैत्र ७ गतेबाट कराँते खेल हुनेछ भने काठमाडौंमा चैत्र ६ गतेदेखि एथलेटिक्स प्रतियोगिता हुने परिषदले जनाएको छ । त्यस्तै, काभ्रेमा भने चैत्र ७ गतेदेखि महिला फुटबल र ९ गतेदेखी बक्सिङ खेल प्रतियोगिता हुने सदस्य परिषदका सचिव सुर्यलाल भण्डारीले बताए ।
प्रतियोगिताको लागि आठ करोड ४ लाख रकम खर्च हुने अनुमान गरेको छ । विभिन्न खेलमा करिब २ हजार भन्दाबढी खेलाडीले सहभागिता जनाउनेछन् । खेलको समापन कार्यक्रम १२ गते शनिबार काभ्रेको धुलिखेलमा हुनेछ ।