मकवानपुर । प्रथम खेलकुद प्रतियोगितामा बुधबार भएको खेल अन्तरगत पुरुष फुटबलमा मकवानपुर र धादिङ सेमीफाइनल प्रवेश गरेको छ । प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशको आयोजनामा भएको खेलकुद प्रतियोगिताको पुरुष फुटबलतर्फ काभ्रेलाई हराउँदै धादिङ र सिन्धुलीलाई हराउँदै मकवानपुर सेमीफाइनलमा प्रवेश गरेका छन् ।
हेटौंडाको क्याम्पा रंगशालामा जारी फुटबल खेल अन्तरगत पहिलो खेल धादिङ र काभ्रेबीच भएको थियो । जसमा १–० गोलअन्तरले धादिङ विजयी भएको हो । खेलको २४ औं मिनेटमा विपिन कंडेलले गरेको १ गोल नै निर्णायक गोल बन्न पुग्यो । विजयीसँगै धादिङ सेमीफाइनल प्रवेश गरेको हाे । त्यस्तै, घरेलु मैदानमा सिन्धुलीलाई हराउदैं मकवानपुर सेमीफाइनल प्रवेश गरेको छ । बुधबार नै भएको क्वाटरफाइनल खेलमा १८ मिनेटमा ललित चौलागाईले पहिलो गोल गरेका थिए । पहिला हाफमा ४७ मिनेटमा सुनिल घलानले मकवानपुरका लागि दोस्रो गोल थपेका थिए । मकवानपुरका लागि दोस्रो हाफको ७४ मिनेटमा समिरराज थोकरले एक गोल थप गर्दै ३–० गोल अन्तरले मकवानपुर विजयी भएको हो ।
प्रतियाेगिता अन्तरगत विहीबार फुटबलका २ क्वाटरफाइनल खेल हुने संयाेजक कल्पना शर्माले जानकारी दिइन् । पहिलो क्वाटरफाइनल खेल ललितपुर र रामेछापबीच हुनेछ भने दोस्रो खेल दोलखा र भक्तपुरबीच हुने खेल शर्माले बताइन् । खेल नकआउट चरणमा खेलाइएको छ ।
पुरुष तर्फको क्रिकेट खेल सुरु
प्रदेश खेलकुद अन्तरगत नै चितवनको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा पुरुष तर्फको क्रिकेट खेल बुधबारबाट सुरु भएको छ । प्रतियोगिताको पहिलो खेल रामेछाप र नुवाकोटबीच भएको हाे । टस जितेर ब्याटिङ रोजेको नुवाकोटले २ विकेट गुमाएर रामेछापलाई २ सय ५६ रनको लक्ष्य दिएको थियो । रामेछापले १५ ओभरमा सबै विकेट गराउदैं ६६ रनमै सिमित रहेको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएका विभिन्न प्रतियोगिताहरु मध्ये हाल सम्मकै नुवाकोटका राजेश रिमालले एकैखेलमा हाइ स्कोर १ सय ५९ रन बनाएका थिए ।
त्यस्तै, दोस्रो खेल रसुवा र धादिङ बीच खेलाइएकाे थियाे । रसुवाले टस जितेर ब्याटिङ रोज्दै १३ ओभरमा पुरै विकेट गुमाएर ५१ रन बनाएको थियो । धादिङले ५ ओभरमै १ विकेट गुमाएर लक्ष्य हासिल गर्दै अघिल्लो चरण प्रवेश गरेको खेल संयोजक प्रेम बहादुर क्षेत्रीले बताए । क्रिकेट अन्तरगत विहीबार २ खेल हुनेछ । पहिलो खेल ललितपुर र दोलखा तथा दोस्रो खेल सिन्धुपाल्चोक र काभ्रेबीच हुने क्षेत्रीले बताए । प्रतियोगितामा सिन्धुलीले सहभागिता जनाएको छैन् ।
महिला भलिबलमा चितवन र रामेछाप फाइनलमा
चितवनको माडी खेल मैदानमा भएको महिला भलिबलमा चितवन र रामेछाप फाइनल प्रवेश गरेको छ । रामेछापले सिन्धुलीलाई २५–१०, १५–२५, २५–१४, २५–२० ले हराउदैं रामेछाप फाइनल प्रवेश गरेको हो । त्यस्तै, चितवनले दोलखालाई साझै सेटमा हराएको छ । चितवनले दोलखालाई २५–१२, २५–९,२५–८ ले हराउदैं फाइनल यात्रा तय गरेको हो ।
पुरुष भलिबलक़मा चितवन र सिन्धुली फाइनलमा
यस्तै पुरुष भलिबल तर्फकाे खेलमा चितवन र सिन्धुली फाइनल प्रवेश गरेका छन् । सेमीफाइनलमा सिन्धुलीले सिन्धुपाल्चोकलाई तथा चितवनले दोलखालाई हराउदैं फाइनल प्रवेश गरेको खेल संयोजक अशोक काजी थापाले बताए ।
प्रतियाेगिता अन्तर्गत मकवानपुरमा चैत्र ५ गतेबाट तेक्वान्दो प्रतियोगिता सुरु हुनेछ । सिन्धुपाल्चोकमा चैत्र ७ गतेबाट कराँते खेल हुनेछ भने काठमाडौंमा चैत्र ६ गतेदेखि एथलेटिक्स प्रतियोगिता हुने परिषदले जनाएको छ । त्यस्तै, काभ्रेमा भने चैत्र ७ गतेदेखि महिला फुटबल र ९ गतेदेखी बक्सिङ खेल प्रतियोगिता हुने सदस्य परिषदका सचिव सुर्यलाल भण्डारीले बताए ।
प्रतियोगिताको लागि आठ करोड ४ लाख रकम खर्च हुने अनुमान गरेको छ । विभिन्न खेलमा करिब २ हजार भन्दाबढी खेलाडीले सहभागिता जनाउनेछन् । खेलको समापन कार्यक्रम १२ गते शनिबार काभ्रेको धुलिखेलमा हुनेछ ।

