मकवानपुर । नेपालको मकवानपुर जिल्लामा मात्रै बसोबास रहेको बनकरीया समुदायको अग्रेणी महिला सन्तोषी बनकरीयालाई थाहा नारी रत्नबाट सम्मान गरिएको छ । मकवानपुरको रेडियो थाहा सञ्चारले महिलाहरुको पर्व हरितालिका तीजको अवसरमा शुक्रबार आयाेजना गरेकाे तीज विशेष कार्यक्रमा बनकरीयालाई सम्मान गरिएकाे हो ।
तीज विशेष कार्यक्रममा मनहरी गाउँपालिका वडा नम्बर ४ की सन्तोषीलाई थाहा नारी रत्न सम्मानद्वारा सम्मान गरिएको हो । लोपोन्मुख समुदाय वनकरिया मकवानपुरको मनहरी गाउपालिका वडा नम्बर ४ मा बसोबास गर्दै आएका छन् । आफ्नो समुदायबाट संघर्ष गर्दै जेटिए अध्ययन गरी वनकरिया समुदायको उत्थानमा सक्रिय रहेकी सन्तोषीलाई सम्मान गरिएको हो । सन्तोषीले हाल वनकरिया समुदायका बालबालिकालाई निःशुल्क अध्यापन गराउँदै आएकी छिन् ।
सम्मान कार्यक्रममा बोल्दै सन्तोषी वनकरियाले आफ्नो समुदायबाट निकै संघर्ष गरेर अहिलेको अवस्थासम्म आईपुगेको स्मरण गरिन् । वनकरिया समुदायमा तीज मनाउने परम्परा नभएको भन्दै उनले अझै पनि वनकरिया समुदाय निकै पछाडी रहेको बताइन । कार्यक्रममा बागमती प्रदेशका प्रहरी प्रमुख किरण बज्रचार्यले तीजमा महिलाहरुले आफुलाई परेको समस्या दिदी बहिनीसँग पोख्ने र त्यसको समाधान खोज्ने अवसर पनि भएको बताए ।
मकवानपुर । बागमती प्रदेशको पुर्व मुख्यमन्त्री डोरमणी पौडेलले आगामी निर्वाचनमा आफ्नो उम्मेदवारी नरहने घोषणा गरेका छन् ।
बागमती प्रदेशका पहिलो मुख्यमन्त्री समेत रहेत पौडेलले आगामी मंसिर–४ गते हुने चुनाबमा आफ्नो उम्मेदवारी नरहने फेसबुक पेजमार्फत घोषणा गरेका हुन् ।
युवा पुस्तालाई नेतृत्वको अवसर दिनु पर्ने भन्दै उनले आफू इच्छुक नभएको बताएका हुन् । नाती पुस्ताले समेत मुलुकको नेतृत्व हाक्ने भइसकेकाले अब आफु चुनाब नलड्ने उनले बताएका हुन् ।
दोस्रो पुस्तामात्रै हैन अहिले नाति पुस्ता समेत देशको नेतृत्व हाँक्न तयार र सक्षम भएको बताएका छन् । “अहिले देशले साच्चै नै परिवर्तन खोजेको छ । परिवर्तनका लागि सारा देश जागेको बेला परिवर्तनको संवाहक नेकपा एमालेलाई चौतर्फी घेराबन्दी गरी नामेट बनाउने प्रयासमा देशी तथा विदेशी शक्तिहरु एकजुट भएर लागि परेको उनले टिप्पणी गरेका छन् ।
“यस्तो बेला आगामी निर्वाचनमा कस्ता खालका ब्यक्तिहरुलाई जिताएर पठाउने भन्ने नेपाली जनताको हातमा छ” पौडेलले फेसबुकमा लेखेका छन् “सञ्चार माध्यमहरु तथा सामाजिक सञ्जालहरुमा आगामी निर्वाचनका संभावित उमेदवारहरुका बारेमा चर्चा परिचर्चा पनि शुरु भइसकेको छ, त्यही क्रममा मेरो नाम जोडेर पनि केहि चर्चा हुने गरेको छ ।”

उनले सञ्चार माध्यमले भनेजस्तो आफू इच्छुक नभएको बताएका छन् । राजनीति लहड, रहर र दवाव मात्रैले राजनीति नचल्ने उनले बताए । आवश्यकताको वस्तुपरक मूल्याङ्कनले निर्धारण गरेका कडिहरुका आधारमा उमेदवार चयन गर्न चुकियो भने परिणाम अनपेक्षित हुनसक्छ आफ्नो ५० औं वर्षको राजनीतिक अनुभवले बताएको पौडेलले सञ्चारकर्मीसँगको छोटो प्रतिक्रियामा उल्लेख गरे ।
समाजले विगतमा परीक्षण भइसकेका जनप्रतिनिधिको सट्टामा नयाँ अनुहार खोजेको यथार्थलाई पार्टीले नजरअन्दाज गर्न नमिल्ने उनभे बताए । उनले स्टाटसमा लेखेका छन् “त्यसैले आगामी निर्वाचनमा मेरो उमेदवारी हुनुपर्छ भन्ने तमाम मेरो शुभचिन्तक, नागरिक समाज, युवा विद्यार्थी तथा पत्रकारहरु प्रति हार्दिक कृतज्ञता व्यक्त गर्दै आगामी निर्वाचनमा मेरो कुनै पनि क्षेत्रबाट उमेदवारी नरहने जानकारी गराउँदछु ।”
उनले लेखेका छन् “यो पटक जनचाहना अनुसार नयाँ पुस्तालाई मेरो समर्थन र सहयोग रहने छ, दोस्रो पुस्ता मात्रै हैन अहिले नाति पुस्ता समेत देशको नेतृत्व हाँक्न तयार र सक्षम भएर बसेका छन् ।”
उनले आफ्नो जिम्मेवारी नेकपा एमालेको उमेद्वारहरुलाई विजयी गराउनमा रहने उल्लेख गरेका छन् ।
मकवानपुर । मकवानपुरले जिल्लाको भिमफेदी गाउँपालिकाको फरक दुई स्थानबाट प्रहरीले तीन क्विन्टल भन्दा बढी लागुऔषध गाँजा बरामद भएको छ ।
इलाका प्रहरी कार्यालय भिमफेदीले मकवानपुरको भिमफेदी गाउँपालिका वडा २ भैसेबाट करिब २ सय ५६ केजी २८ ग्राम गाजा बरामद गरेको छ । यसैगरी ईलाका प्रहरी कार्यालय भिमफेदीबाटै खटिएको प्रहरीले ना.८ ख २७१८ नम्बरको आईचर ट्रकबाट करिब ७४ केजी लागूऔषध गाँजा बरामद गरेको छ । उक्त लागुऔषध बरामद गरिए पनि ट्रक चालक भने फरार रहेका छन् । उनको खोजी कार्य भइरहेको प्रहरीले जनाए छ ।
यसैगरी प्रहरीले भिमफेदीबाट लागूऔषध गाँजासहित एक जना पक्राउ परेको छ । पक्राउ पर्नेमा भिमफेदी गाउँपालिका–९ महभिर बस्ने ३५ वर्षीय प्रकाश लामा रहेका छन् ।
ईलाका प्रहरी कार्यालय भिमफेदीबाट खटिएको प्रहरीले आज उक्त लागुऔषध गाँजा सहित पक्राउ गरेको हो । नामटारबाट हेटौंडातर्फ आउँदै गरेको ना ७ ख ३९८७ नम्बरको आईचर ट्रक जाँच गर्ने क्रममा उक्त परिमाणको लागूऔषधसहित ट्रक चालक लामालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
मकवानपुर । कार्यकक्षमै पिटाइका खाएका वडा अध्यक्ष आफैंले दिएको किटानी जाहेरी हाललाई स्थगित गर्न प्रहरीलाई अनुरोध गरेको बताएका छन् ।
गलत कार्यमा लाग्नेलाई सवक दिएर भन्दा पनि नरम बाटोबाट सुधार्न सकिन्छ भन्दै मकवानपुरको हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर ४ का वडाध्यक्ष नवीन सिग्देलले जाहेरी स्थगित गर्न प्रहरीलाई अनुराेध गरेका हुन् । आफूलाई कार्यकक्षमै कुटपिट गर्ने आफ्नै पार्टीको जिल्ला सदस्य सानु लामा दोङलाई माफी दिँदै जाहेरी स्थगित गर्न प्रहरीलाई अनुरोध गरेको उनले आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।
सिग्देलले कार्यालयम नै आज पत्रकार सम्मेलन गर्दै जाहेरी दिएको २४ घण्टा मा नै मकवानपुरका प्रहरी प्रमुख एसपी वामदेव गौतमलाई जाहेरी स्थगित गर्न अनुरोध गरिसकेको बताए । “कारबाही नै सबै थोक हैन नी, ढुङ्गाले हान्नेलाई फूलले पनि हान्न सकिन्छ” उनले भने “कसैको दबाबमा आएर मैले जाहेरी स्थगित गर्न प्रहरीलाई भनेको हैन ।” उनले आफूमाथि गलत कार्य गर्नेलाई सच्चिन मौका दिएको बताए ।
स्थानीय भुटनदेवि माविको व्यवसायिक सटर भाडामा दिने टेण्डरबारेको विवाद हुँदा आफूलाई लामाले पिटेको आजको पत्रकार सम्मेलनमा पनि उनले बताए । एमाले मकवानपुरका सचिवसमेत रहेका सिग्देललाई हेटौँडाका सानु लामा दोङले कार्यकक्षमै कुटपिट गरेका थिए । सिग्देलले मंगलबार जिल्ला प्रहरी कार्यालय मकवानपुरमा लामाविरुद्ध उजुरी दिएका थिए ।
उनले सटरको टेण्डरमा आफ्नो कुनै संलग्नता नरहेको र सटरको विषयमा समाचार लेखाएको विषयमा आफूमाथि आरोप लगाएकाले विवाद उत्पन्न भएको बताए । घटनापछि सम्बन्धित भुटनदेवी माविलाई सटरको टेण्डर सम्बन्धी सबैकाम तत्काललाई स्थगित गर्न समेत पत्र काटेको बताए ।
मकवानपुर । नेकपा एकीकृत समाजवादीले आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको चुनावको उम्मेदवार सिफारिस गरेको छ ।
मकवानपुर जिल्लाको प्रतिनिधि सभा क्षेत्र नम्बर २ तथा प्रदेशसभा २ काे क र ख मा यस अघि नै उम्मेदवार सिफारिस गरेको समाजवादीले क्षेत्र नम्बर १ को लागि अर्को सिफारिस गरेको हो ।
नेकपा एकीकृत समाजवादी पार्टीको प्रतिनिधि सभा क्षेत्र १ र प्रदेश ‘क’ र ‘ख’को संयुक्त बैठकले प्रतिनिधि सभा र प्रदेश सभाको उमेदवारको सिफारिस गरेको हो । जसमा संघीय क्षेत्र नम्बर १ बाट बिशभ अधिकारी, यादव शर्मा र घन प्रसाद गौतमको नाम सिफारिस भएको छ।
त्यसैगरी प्रदेश १ “क”मा प्रकास बानियाँ, उमा रेग्मी, ईस्मा राइ र नारायण तिमल्सिनाको नाम सिफारिस भएको छ भने प्रदेश १ “ख”मा मधु अधिकारी, बिष्णु दाहाल, धुर्ब भुजेल र धन मोक्तानको नाम सिफारिस गरिएको प्रतिनिधि सभा क्षेत्र १ का पार्टी अध्यक्ष बिष्णु दाहालले बताए ।
पार्टी स्थायी कमिटी सदस्य ललित बस्नेत, केन्द्रीय सदस्य मुनु सिग्देल, मधु अधिकारी जिल्ला अध्यक्ष सुर्य चन्द्र न्यौपाने लगायतका नेताहरुको उपस्थिति भएको भेलाले उम्मेदवारको सिफारिस गरेको पार्टी जिल्ला सचिवालय सदस्य कविन पन्तले बताए ।