जिरी, दोलखा । दोलखा जिल्लाको जिरी नगरपालिकामा “बागमती प्रदेशको कानून निर्माण, कार्यान्वयन र अपेक्षा” सम्बन्धी छलफल तथा अन्तरक्रिया भएको छ ।
बागमती प्रदेश सभा सचिवालयको आयोजनामा मंगलबार भएको कार्यक्रममा बागमती प्रदेश सभाले बनाएका विभिन्न कानून र तिनका कार्यान्वयनका क्रममा स्थानीय तहमा उत्पन्न भएका समस्याहरू र तिनका समाधानका उपाय बारे छलफल गरिएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै बागमती प्रदेश सभा सभामुख भुवन कुमार पाठकले प्रदेशको कानून स्थानीय सरकारसंग समन्वय गरि निर्माण गर्दा प्रभावकारी हुने बताए । यस्तै उपसभामुख अप्सरा चापागाईंले स्थानीय तहको आवश्यकताअनुसार कानून परिमार्जनका लागि प्रदेश सभा तत्पर रहेको बताईन।
यसैगरी संविधान सभा सदस्य खिमलाल देवकोटाले समग्र कानूनी प्रणालीको सुधार र कार्यान्वयनमा पर्ने चुनौतीहरूलाई मर्मत गर्दै स्थानीय तहसँगको सहकार्यमा आगामी योजनाहरू अघि बढाउनु पर्ने धारणा व्यक्त गरे । जिरी नगरपालिकाका प्रमुख र उपप्रमुखले स्थानीय समस्याहरू र अपेक्षाहरूलाई अवगत गराउँदै, प्रदेश सभासँग निरन्तर समन्वय र सहकार्यको महत्त्वलाई जोड दिएका थिए ।
कार्यक्रममा उपस्थित सहभागीहरूले स्थानीय तहको विकासमा प्रदेश सरकारले निर्माण गरेका कानूनको प्रभाव र आगामी रणनीतिहरूको बारेमा आफ्ना धारणा राखेका थिए।
कार्यक्रममा बागमती प्रदेश सभा सभामुख पाठक, उपसभामुख चापागाईं, प्रदेश सभा सदस्य उर्मिला सुनुवार, संविधान सभा सदस्य तथा वरिष्ठ अधिवक्ता देवकोटा, बागमती प्रदेश सभाका सचिव कृष्ण हरि खड्का, जिरी नगरपालिका नगर प्रमुख मित्र बहादुर जिरेल, उपप्रमुख कृष्णमाया बुढाथोकी खड्का लगायतका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
इलाम । इलामको सूर्योदयमा गजल मञ्च गठन भएको छ । सूर्योदय गजल मन्चको अध्यक्षतामा योगनिधी भट्टराई चयन भएका छन् ।
सूर्योदय नगरपालिकामा भट्टराईको अध्यक्षतामा गठन गरिएको गजल मन्चको उपाध्यक्षमा अर्जुन बेदना राई, सचिवमा विक्रम सुन्दास, सहसचिवमा दिपेन्द्र आचार्य र कोषाध्यक्षमा टिङ्कु निर्झरी चयन भएका छन् । यसैगरी मन्चको सदस्यहरुमा रणविर राई, सन्तोष खापुङ, विवेक शर्मा लामिछाने र एन्जिला थामी चयन भए । यस्तै डिल्ली प्रसाद सुवेदीको संयोजकत्वमा सात सदस्यीय सल्लाहकार समिति समेत गठन गरेको छ। जसका सदस्यहरुमा कुल प्रसाद ढकाल, कविता राई ‘गाउले’, प्रेम अधिकारी, दुर्गा देवी भट्टराई, डम्बर थापा र नुरज भट्टराई नदी रहेका छन् ।
गजल मन्च दर्ता गरी साहित्यका विविध विधामा काम गर्ने नव गठित समितिका अध्यक्ष भट्टराईले जानकारी दिए । उनका अनुसार सूर्योदय सहित इलामको साहित्यलाई एकीकृत गरी साहित्य उत्थानमा सहयोग पुर्याउने उद्देश्यले गजल मन्च गठन गरिएको हो ।
वेदना न्युज डट कमको आयोजना तथा अर्जुन बेदना राईको अध्यक्षतामा भएको मन्च गठन कार्यक्रममा सूर्योदयका साहित्यकारले गजल, कविता वाचन गरेका थिए ।
टिङ्कु निर्झरीले सहजीकरण गरेको कार्यक्रममा दिपेन्द्र आचार्य सुमीले उपस्थित सबैलाई स्थानीय सयपत्री फूलले स्वागत गरेका थिए ।
सिन्धुपाल्चोक । बागमती प्रदेशको कानून निर्माण, कार्यान्वयन र अपेक्षा सम्बन्धी छलफल तथा अन्तरकृया कार्यक्रम भएको छ ।
बागमती प्रदेश सभा सचिवालयको आयोजनामा सिन्धुपाल्चोकको पाँचपोखरी गाउँपालिकामा भएको कार्यक्रमको उद्घाटन बागमती प्रदेश सभा सभामुख भुवन कुमार पाठकले गरेका थिए। सभामुख पाठकले कानूनको सही कार्यान्वयनका लागि स्थानीय तहको भूमिका महत्वपूर्ण रहेको र सबैको सहकार्य आवश्यक रहेको बताए।
यसैगरी उपसभामुख अप्सरा चापागाईले प्रदेशले बनाई लागू गरेका कानूनका बारेमा सबैले जानकारी राख्नुपर्ने बताईन । छलफलका क्रममा गाउँपालिका अध्यक्ष टासी लामाले प्रदेशले बनाएका कतिपय कानुन कार्यान्वयनमा जटिलता देखिएकाले समयानुकुल संशोधन गर्नुपर्ने धारणा राखेका थिए ।
यस्तै संविधान सभा सदस्य तथा वरिष्ठ अधिवक्ता खिमलाल देवकोटाले संविधान र कानूनी प्रक्रियाको महत्त्वलाई रेखांकित गर्दै कानूनी सुधारका लागि थप छलफलको आवश्यकता रहेको बताए । प्रदेश सभा सचिव कृष्णहरि खड्काले प्रदेशले निर्माण गरेका कानून र कार्यान्वयनको अवस्था जानकारी गराएका थिए।
मकवानपुर । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) मकवानपुरको अध्यक्षमा विनोद सुवेदी चयन भएका छन् । शुक्रबार हेटौंडामा भएको प्याब्सन मकवानपुरको २० औँ वार्षिक साधारणसभा तथा नवौँ अधिवेशनले हेटौँडा–२ स्थित बालजागृति इंग्लिस सेकेण्डरी स्कुलका प्रिन्सिपल सुवेदीलाई पुनः अध्यक्ष चयन गरेको हो ।
यसैगरी प्याब्सन मकवानपुरको वरिष्ठ उपाध्यक्षमा राजकुमार नहर्की तथा उपाध्यक्षमा नविन केसी र लक्ष्मी श्रेष्ठ चयन भएका छन् । यस्तै सचिवमा विष्णुहरि सुवेदी, कोषाध्यक्षमा उपेन्द्र सुवेदी, सहसचिवमा रामबाबु सापकोटा र सहकोषाध्यक्षमा भरत सापकोटा एवम् सदस्यहरूमा रमिता पाण्डे, गिता आचार्य र रिना आचार्य रहेका छन् ।
२० औँ वार्षिक साधारणसभामा प्याब्सन मकवानपुरले ३ जना सञ्चारकर्मीलाई सम्मानित गरेको छ । कान्तिपुर टेलिभिजनमा कार्यरत बालकृष्ण अधिकारी,कान्तिपुर दैनिकका सुवास बिडारी र समृद्ध समाज दैनिकमा कार्यरत जमुना थिङलाई सम्मानित गरिएको हो । उनीहरू जनही ५ हजार रुपैयाँसहित सम्मानित भएका हुन् ।
यसैगरी कार्यक्रममा प्याब्सन मकवानपुरका संस्थापक अध्यक्ष ऋषिराम आचार्य तथा पूर्वअध्यक्षहरु आशिष श्रेष्ठ, मदन दहाल र अनिल पाण्डेलाई पनि सम्मान गरिएको छ । शिक्षकहरु अरविन्द कुमार झा, उमा मगर र सञ्जिव ठाकुरलाई सम्मान गरिएको छ ।
यसैबीच कार्यक्रमको उद्घाटन सत्रमा प्याब्सन केन्द्रीय अध्यक्ष डी के ढुङ्गानाले संस्थाले कस्ता नेतृत्व चयन गर्ने र कस्ताे नीति बनाउने भन्नेमा लागि परिरहेकाे बताए । मनाङ जिल्ला बाहेक ७६ वटा जिल्लाका प्याव्सन रहेकाे सक्रिय रहेकोमा नयाँ नेतृत्वले शिक्षा पेशाकाे भविश्यकाे सुनिश्चितता गर्नु पर्ने उनले बताए ।
‘प्याव्सन भित्र मात्र २१ लाख विद्यार्थी रहेकोमा करिव १ लाख विद्यार्थी एसइईमा सहभागी हुने भएकोले प्याब्सनले जिल्लामा तथ्यांक प्रणालीलाई व्यवस्थित गर्नुपर्छ’ उनले भने । शिक्षा विधेयक सबैकाे हितमा आउने बताउदै उनले भने ‘अन्तर्राष्ट्रिय स्तरकाे शिक्षा नेपालमा पनि दिन सकिने भएकोले बाहिरका विद्यार्थी नेपालमा आएर पढ्ने वातावरण सिर्जना गर्नेछाै ।’
यस्तै प्याब्सन बागमती प्रदेश इन्चार्ज तथा केन्द्रीय उपाध्यक्ष आशिष श्रेष्ठले नितिगत कुराका प्याब्सनकाे लडाई केन्द्रीकृत मात्र भएकाेले गाउँपालिका, नगरपालिका, जिल्ला तथा प्रदेश तहकाे प्याब्सन पनि सक्रिय हुनुपर्ने बताए ।
प्याब्सन मकवानपुर अध्यक्ष बिनोद सुवेदीको सभाध्यक्षता तथा केन्द्रिय अध्यक्ष डीके ढुंगानाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्याब्सन बागमती प्रदेश समितिका अध्यक्ष केशवलाल श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।
काठमाडौं । बागमती प्रदेशका प्रदेश प्रमुख दीपक प्रसाद देवकाेटाले देशकै पुरानो र मौलिक संस्कृति भजन तथा चुड्का भएकाे बताएका छन् । राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान नेपालकाे केन्द्रीय बार्षिक साधारणसभा तथा बागमती प्रदेश कमिटीको प्रथम अधिवेशनमा उनले यस्तो बताएका हुन् ।
देशको पुरानो र मौलिक संस्कृतिको रूपमा रहेको भजन तथा चुड्काको जगेर्नामा अहोरात्र खटिने मौलिक संस्कृति उथ्थानको पहरेदार संस्थाको कार्यक्रममा उपस्थिति हुन पाउँदा गौरवको महसुस भएको प्रदेश प्रमुखले बताए । ‘२०६७ सालदेखि तपाईंहरू अनवरतरूपमा मौलिक एबम् लोपोन्मुख बाजागाजासङ्गै भजन संस्कृतिको संरक्षणमा लागिरहनुभएको छ’ उनले भने ‘माटाे र संस्कृति एक सिक्काको दुई पाटासरह हुन् । त्यसैले तपाईंहरुको कामको प्रसंशा जति गरेपनि कम हुन्छ, देशको असली राष्ट्रप्रेमी लोक भजन चुड्का संरक्षण प्रतिष्ठान रहेकाे छ ।’
‘भनिन्छ कुनै देशलाई ध्वस्त पार्नुछ भने उसको संस्कृतिबाट धावा बोल्न शुरु गरे हुन्छ’ उनले भने । ‘आफ्नो मौलिक पहिचान गुमाउँदै गर्दा हामी न घरको न घाटको बन्न पुग्छौं देवकाेटाले भने ‘आयातित सस्कृतिको अन्धनक्कलले हाम्रो मौलिक पहिचानलाई कुहिरोमा रुमल्ल्याएको छ ।’ हामीले यसबाट आफूलाई र युवा पुस्तालाई जोगाउनु पर्ने उनकाे भनाई थियाे । ‘विश्वब्यापीकरणको अर्थ आफ्नो मौलिक पहिचानलाई तिलान्जली दिनु कदापि होइन । हामीले बिबिधताको सम्मान गर्दै आफ्नो मन , मस्तिष्क र मुटुमा आफ्नो मौलिक पहिचानलाई सजाउनुपर्छ’ उनले भने । आखिर यो मन त नेपाली नै हो , होइन र ? भन्दैं उने प्रश्न गरे ।
हाम्रा सत्तल , पाटी, पूजापाठ, चाडपर्व, धार्मिक सास्कृतिक कार्यक्रम शंख, मुजुरा, खैजडीजस्ता थुप्रै बाद्ययन्त्रको ध्वनिसहित् भजन चुड्का गुन्जायमान हुँदा माहोल रमाइलो हुने उनले बताए । ‘भजन चुड्कामा यस्तो जीबन्तता छ जसले हामीलाई शान्त, उत्प्रेरित, संस्कारी, सभ्य र सकारात्मक बनाउँछ’ उनले भने ‘यसमा सन्देश छ, अनुशासन छ, मेलमिलाप छ, कर्तव्य छ र सौन्दर्यता छ । सङ्गीतले मान्छेलाई जोड्छ र सुखी जिवनको आधार तयार पार्दछ ।’
प्रदेश प्रमुख देवकाेटाले हामीले आफूद्वारा आफैंलाई जोगाउनुपर्ने बताए । भजन चुड्कामा रहेको बिशिष्टतालाई जीवनयापनको साथी बनाउनु पर्ने उनले बताए । ‘सुख र दुःखको साथी हाम्रो भजन चुड्का लगायत मौलिक संस्कृतिको संरक्षणमा राज्यका निकायहरू, संस्थाहरू, नागरिक समाज तथा हरेक तह र तप्काका ब्यक्तिहरू एकजुट भएर लाग्नुपर्छ’ उनले भने । धार्मिक तथा जुनसुकै सास्कृतिक कार्यक्रमहरूमा भजन, चुड्कालाई अनिबार्य समावेश गरिनु पर्ने तथा यसको व्यापक प्रचारप्रसार गर्नु पर्ने उनले बताए । ‘धार्मिक होस् वा अन्य अवसरमा मौलिक बाजासहित सुरिलो स्वरमा भजन चुड्काको प्रस्तुतिले वरपरको बाताबरणनै रौनकताले गुन्जिन्छ’ उनले भने ‘हाम्रा भजन, चुड्काहरू रोगनाशक औषधिसरह हाम्रो शरीर र मनलाई आरोग्य प्रदान गर्छन् ।’
प्रदेश प्रमुखले राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठानका अध्यक्ष नारायण प्रसाद खनाल “लेकाली ” लगायतकाे समूहलाई मौलिक सस्कृती जगेर्नाको अभियानमा गरिएका उत्कृष्ट कार्यकाे बधाई दिदै अभियान निरन्तरताको शुभकामना दिएका छन् । यो महाअभियानमा आफ्नाे पूर्ण साथ र सहयोग रहने प्रतिबद्धता समेत उनले व्यक्त गरे ।
कार्यक्रममा उत्कृष्ट भजन चुड्का र बाद्यबाजनको बेजोड प्रस्तुति रहेको थियो भने इन्द्रेणी कार्यक्रमका कृष्ण कंडेललगायतलाई सम्मान समेत गरिएको प्रतिष्ठानाका अध्यक्ष नारायण प्रसाद खनाल ‘लेकाली’ ले जानकारी दिए ।