जिरी, दोलखा । दोलखा जिल्लाको जिरी नगरपालिकामा “बागमती प्रदेशको कानून निर्माण, कार्यान्वयन र अपेक्षा” सम्बन्धी छलफल तथा अन्तरक्रिया भएको छ ।
बागमती प्रदेश सभा सचिवालयको आयोजनामा मंगलबार भएको कार्यक्रममा बागमती प्रदेश सभाले बनाएका विभिन्न कानून र तिनका कार्यान्वयनका क्रममा स्थानीय तहमा उत्पन्न भएका समस्याहरू र तिनका समाधानका उपाय बारे छलफल गरिएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै बागमती प्रदेश सभा सभामुख भुवन कुमार पाठकले प्रदेशको कानून स्थानीय सरकारसंग समन्वय गरि निर्माण गर्दा प्रभावकारी हुने बताए । यस्तै उपसभामुख अप्सरा चापागाईंले स्थानीय तहको आवश्यकताअनुसार कानून परिमार्जनका लागि प्रदेश सभा तत्पर रहेको बताईन।
यसैगरी संविधान सभा सदस्य खिमलाल देवकोटाले समग्र कानूनी प्रणालीको सुधार र कार्यान्वयनमा पर्ने चुनौतीहरूलाई मर्मत गर्दै स्थानीय तहसँगको सहकार्यमा आगामी योजनाहरू अघि बढाउनु पर्ने धारणा व्यक्त गरे । जिरी नगरपालिकाका प्रमुख र उपप्रमुखले स्थानीय समस्याहरू र अपेक्षाहरूलाई अवगत गराउँदै, प्रदेश सभासँग निरन्तर समन्वय र सहकार्यको महत्त्वलाई जोड दिएका थिए ।
कार्यक्रममा उपस्थित सहभागीहरूले स्थानीय तहको विकासमा प्रदेश सरकारले निर्माण गरेका कानूनको प्रभाव र आगामी रणनीतिहरूको बारेमा आफ्ना धारणा राखेका थिए।
कार्यक्रममा बागमती प्रदेश सभा सभामुख पाठक, उपसभामुख चापागाईं, प्रदेश सभा सदस्य उर्मिला सुनुवार, संविधान सभा सदस्य तथा वरिष्ठ अधिवक्ता देवकोटा, बागमती प्रदेश सभाका सचिव कृष्ण हरि खड्का, जिरी नगरपालिका नगर प्रमुख मित्र बहादुर जिरेल, उपप्रमुख कृष्णमाया बुढाथोकी खड्का लगायतका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

