मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका १३ नम्बर वडा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा हुने भएको छ । हेटौंडा १३ नम्बर वडा बालमैत्री शासनयुक्त घोषणा गर्न तयारी पूरा भएकोले घोषणा गर्न लागिएको सोमबार पत्रका सम्मेलन मार्फत जानकारी दिइएको हो ।
वडालाई २४ पुसमा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्न लागिएको पत्रकार सम्मेलनमा वडाध्यक्ष पेम्बा लामाले जानकारी दिए । बालमैत्री स्थानीय शासनका लागि तोकिएका ५१ वटा सूचकमध्ये ४५ वटा सूचकमा शत प्रतिशत नतिजा हासिल गरेको वडाध्यक्ष लामाले बताए । अन्य २ वटा सूचकमा ९८ प्रतिशत, एकमा ९६ र अर्को एकमा ९५ प्रतिशत नतिजा प्राप्त भएको लामाले बताए ।
यस्तै अरु २ वटा सूचकमा भने ८१ प्रतिशत मात्रै उपलब्धी हासिल भएको बताइएको छ । ती २ वटा सुचक बालमैत्री घोषणाको लागि न्युनतम ८० प्रतिशत आधारविन्दु रहेको छ । २४ पुस प्रभातफेरीसहित एक कार्यक्रममा बीच बालमैत्री वडा घोषणा हुनेछ । हेटौंडा उपमहानगरपालिका बालमैत्री स्थानीय शासनयुक्त उपमहानगरपालिका घोषणाका लागि २०७९ भदौ ५ गते सरोकारवालाहरुको उपस्थितिमा प्रतिवद्धतामा हस्ताक्षर सुरुवात गतेको थियो ।
१३ नम्बर वडाले २०७९ मंसिर २५ गते सरोकारवालाको उपस्थितिमा प्रतिवद्धतापत्रमा हस्ताक्षर गरी अभियानलाई निरन्तरता दिएकाे थियाे । वडामा ८ हजार ८ सय ४२ जनसंख्या रहेकोमा २ हजार ५ सय ७४ जना बालबालिका रहेका छन् ।

