सिन्धुपाल्चोक । बागमती प्रदेशको कानून निर्माण, कार्यान्वयन र अपेक्षा सम्बन्धी छलफल तथा अन्तरकृया कार्यक्रम भएको छ ।
बागमती प्रदेश सभा सचिवालयको आयोजनामा सिन्धुपाल्चोकको पाँचपोखरी गाउँपालिकामा भएको कार्यक्रमको उद्घाटन बागमती प्रदेश सभा सभामुख भुवन कुमार पाठकले गरेका थिए। सभामुख पाठकले कानूनको सही कार्यान्वयनका लागि स्थानीय तहको भूमिका महत्वपूर्ण रहेको र सबैको सहकार्य आवश्यक रहेको बताए।
यसैगरी उपसभामुख अप्सरा चापागाईले प्रदेशले बनाई लागू गरेका कानूनका बारेमा सबैले जानकारी राख्नुपर्ने बताईन । छलफलका क्रममा गाउँपालिका अध्यक्ष टासी लामाले प्रदेशले बनाएका कतिपय कानुन कार्यान्वयनमा जटिलता देखिएकाले समयानुकुल संशोधन गर्नुपर्ने धारणा राखेका थिए ।
यस्तै संविधान सभा सदस्य तथा वरिष्ठ अधिवक्ता खिमलाल देवकोटाले संविधान र कानूनी प्रक्रियाको महत्त्वलाई रेखांकित गर्दै कानूनी सुधारका लागि थप छलफलको आवश्यकता रहेको बताए । प्रदेश सभा सचिव कृष्णहरि खड्काले प्रदेशले निर्माण गरेका कानून र कार्यान्वयनको अवस्था जानकारी गराएका थिए।

