मकवानपुर । देशमा पश्चिमी वायुको साथै पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेकोले हाल सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी प्रदेशहरूमा आंशिकदेखि साधारणतया बदली रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार तराई क्षेत्रमा हुस्सु लागेको छ । पहाडी केही भुभागमा हल्का वर्षा हुनसक्ने छ भने हिमाली क्षेत्रमा हिमपात हुन सक्ने सम्भावना रहेको छ ।
सोमबार देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ । सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरू तथा बाँकी उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
जसको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन समेत महाशाखाले अनुरोध गरेको छ।

