मकवानपुर । बागमती प्रदेशसभाको ८ औं अधिवेशन (बजेट अधिवेशन) बैठक आज बस्दै छ । प्रदेश प्रमुख विष्णु प्रसाद प्रसाईँले नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम जेठ १६ गते दिउँसो ३ बजेका लागि बैठक आह्वान गरेका थिए ।
मुख्यमन्त्री डोरमणि पौडेलको सिफारिसमा प्रदेश प्रमुखबाट आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटका विषयमा छलफल गर्न प्रदेश सभाकाे बैठक आज बस्ने गरी गत जेठ १० गते आह्वान गरिएकाे थियाे। संविधान अनुसार असार १ गते भित्र प्रदेश सरकारले बजेट सभामा प्रस्तुत गर्नुपर्ने व्यवस्था अनुसार बजेट अधिवेशन सुरू हुने भएकाे हाे ।
गत विहीबार बागमती प्रदेशको प्रदेश सुशासन केन्द्र जावलाखेलमा बसेको सर्वदलीय बैठकमा जेठ १६ गतेदेखि प्रदेश सभाको अधिवेशन सुरु गर्ने सहमति भएको हो । यस अघी बागमती प्रदेश प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले प्रदेशसभाको आगामी बैठकमा प्रतिपक्षको सशक्त र रचनात्मक भूमिका निर्वाह गर्ने जनाएको थियाे ।
यस अघी नेकपा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका नेता शालिकराम जमरकट्टेलले प्रदेशसभाको ८ औं अधिवेशन बैठकमा प्रतिपक्षको भूमिका सशक्त हुने बताएका थिए । उनले प्रदेशसभामा माओवादी केन्द्रले उठाएको विषयमा माग पुरा नगरेसम्म बैठक चल्न नदिने बताएका थिए ।
बागमती प्रदेशसभामा प्रमुख प्रतिपक्षी दलले यस अघीकाे ७ औं अधिवेशन पटक–पटक विद्युतीय बसको खरिद प्रक्रिया रोक्न र फाउन्डेशनलाई ५० लाख रुपैयाँ दिने निर्णय फिर्ता लिन भन्दै संसद अवरुद्ध गर्दै आएको थियो । बागमती प्रदेश सरकारले मदन भण्डारी फाउन्डेशनलाई ५० लाख रुपैयाँ दिने निर्णय फिर्ता लिने र विद्युतीय सवारी खरिदको विस्तृत जानकारी संसदमा जानकारी गराउने सहमती भए पछी आज बस्ने प्रदेश सभा बैठक सूचारू हुने भएकाे हाे ।
बागमती प्रदेशसभाको ७ औं अधिवेशन प्रमुख प्रतिपक्ष दलकाे पटक पटककाे अवराेध पछी गत बैशाख ९ गते अन्त्य गरिएको थियो ।


