मकवानपुर / माइती नेपाल मकवानपुरले मदन भण्डारी स्वास्थ प्रतिष्ठान हेटौंडा अस्पताललाई आज शुक्रबार स्वास्थ्य सामग्री सहयोग गरेको छ ।
कोरोना भाईरस संक्रमणको महामारी चलिरहेको बेलामा अग्रभागमा खटिएर कामगर्ने स्वास्थकर्मीको सुरक्षार्थ स्वास्थ सामग्री सहयोग गरिएको माइती नेपाल मकवानपुर प्रमुख माया लामाले बताइन् । माइती नेपाल मकवानपुरले प्रतिष्ठानलाई २३ सेट पीपीई, १० लिटर सेनिटाईजर, ४ सय थान सर्जिकल मास्क, २ वटा पल्स अक्सिमिटरलगायतको स्वास्थ सामग्री सहयोग गरेको हो ।
स्वास्थ सामग्री हस्तान्तरण कार्यक्रममा प्रतिष्ठानका रजिस्ट्रार राजेश प्रसाईं, हेटौंडा अस्पताल विकास समिति अध्यक्ष प्रकाश पौडेल, अस्पतालका बालरोग विशेषज्ञ डाक्टर हरिबहादुर खड्का, प्रतिष्ठानका सदस्य सुपेन्द्र कार्की, माइती नेपाल मकवानपुर प्रमुख माया लामा, फिल्ड सुपरभाइजर मन लामालगायतको उपस्थिति रहेको थियो ।
स्वास्थ्य सामग्री ग्रहण गर्दै रजिस्ट्रार प्रसाईंले महामारीमा सबैले आफ्नो स्वास्थको ख्याल गर्न अनुरोध गरे । “हालको विषम परिस्थितिमा अस्पताल आईपुग्ने बिरामीको उपचारका लागि यस्ता सहयोगले धेरै अर्थ” उनले भने ।
“महामारीको समयमा आफ्नो भन्दा सर्वसाधारणको स्वास्थको ख्याल गर्ने स्वास्थकर्मीहरुलाई सहयोग गर्नु हाम्रो दायित्व हो” माइती नेपाल मकवानपुर प्रमुख लामाले सामग्री हस्तान्तरण कार्यक्रमपछि सहीखबरसँग भनिन् “स्वास्थकर्मीलाई सुरक्षित रहन हामीले सहयोग गरेमा समाजलाई महामारीबाट उहाँहरूले बचाउन सक्नुहुनेछ।”


