मकवानपुर । हेटाैडामा बैसाख १८ गते शनिबारदेखी मिनि लकडाउन हुने भएको छ । काेराेना संक्रमण दिनदिनै बढ्दै गएकाेले हेटाैडा उपमहानगरपालिका क्षेत्रमा रहेका सम्पूर्ण होटल, लज, रेष्टुरेन्ट, मिठाई पसल, चिया पसलहरू बन्द गर्ने जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डीसीएमसी) मकवानपुरले निर्णय गरेकाे हाे ।
होटल, लज, रेष्टुरेन्ट तथा चिया पसलहरूमा मानिसहरूको भिडभाड देखिएकोले कोभिड १९ संक्रमण फैलिनसक्ने जोखिमलाई मध्यनजर गर्दै शनिबारदेखि लागू हुने गरी हेटौडा उपमहानगरपालिका क्षेत्रमा मिनि लकडाउन गर्ने निर्णय भएको हाे । तर, टेकअवे र होमडेलिभरी सेवा विहान १० बजेदेखि बेलुकी ६ बजेसम्म गर्न सकिने निर्णय गरिएको छ।
शुक्रबार बसेको केन्द्रकाे बैठकले थाहा नगरकाे शिखरकाेट स्थित मालपोत कार्यालय र नापी कार्यालयमा सेवाग्राहीहरूको अत्यधिक भिडभाडका कारण कोभिड १९ संक्रमण फैलिनसक्ने उच्च जोखिम देखिएको हुँदा सो कार्यालयहरूले आन्तरिक कार्य बाहेक अन्य सबै प्रकारका सेवाहरू बन्द गर्ने निर्णय समेत गरेकाे छ ।
हेटौडास्थित सम्पूर्ण निजी अस्पतालहरूले आआफ्नो अस्पताल परिसरमा ज्वरो क्लिनिक सञ्चालन गर्नु पर्ने र हेटौडा अस्पतालसँग समन्वय गरी आवश्यक पर्ने स्वास्थ्यकर्मीहरू आलोपालो उपलब्ध गराउनु पर्ने निर्णय समेत डीसीएमसीले गरेकाे छ । साथै, आफ्नो अस्पतालमा निश्चित बेड कोभिड संक्रमितको उपचारका निम्ति छुट्याई संक्रमितका लागि सेवा प्रारम्भ गर्ने समेत निर्णय भएको छ ।
हेटौडा बजार क्षेत्रमा मानिसहरूको भिडभाडलाई नियन्त्रण एवं व्यवस्थापन गर्दै कोभिड १९ संक्रमणको जोखिमलाई न्यूनीकरण गर्न दिन तोकी आलोपालो गरी विहान १० बजेदेखि बेलुकी ६ बजेसम्म मात्र व्यसायहरू सञ्चालन गर्ने व्यवस्था मकवानपुर उद्योग वाणिज्य संघले मिलाउने गरी निर्णय भएको छ ।
यस्तै बैठकबाट हेटौडा औद्योगिक क्षेत्रमा सञ्चालित उद्योगहरूले उद्योगमा कार्यरत मजदुर तथा श्रमिकहरूलाई उद्योग परिसर भित्रै राखी बाहिर आवत जावतमा हुन नदिने गरी उद्योग सञ्चालन गर्ने व्यवस्था मिलाउनु पर्ने भएकाे छ ।
हेटौडा उपमहानगरपालिका वडा नं ६ स्थित गौरिटार रंगशालामा हेटौडा उपमहानगरपालिकाले हाल २० बेड क्षमताको अक्सिजन सहितको आईसोलेसन सेन्टर सञ्चालन गरेकाेमा पछिल्लो समय मकवानपुर जिल्लामा कोभिड १९ संक्रमितहरूको संख्या बढ्दै गइरहेकोले आईसोलेसन सेन्टरको क्षमतालाई विस्तार गरी अक्सिजन सहितको २ सय बेड पुर्याउन आवश्यक पर्ने स्वास्थ्य सामग्रीलगायत अन्य सामग्रीहरूको व्यवस्थाका लागि सामाजिक विकास मन्त्रालय, बागमती प्रदेश, हेटौडालाई अनुरोध गर्ने समेत निर्णय डीसीएमसीले गरेकाे छ ।


