मकवानपुर । हेटाैडा–काठमाडाैं छोटो दुरी मार्ग अन्तरगत भीमफेदी–कुलेखानी सडकखण्ड जेठ २५ गतेसम्म बन्द हुने भएकाे छ । सडकखण्ड कालाेपत्रे गर्नका लागि बैशाख १० गतेबाट जेठ २५ गते सम्म डेढ महिना बन्द गरिने यातायात पूर्वाधार विकास निर्देशनालय बागमती प्रदेशले जनाएको छ ।
भीमफेदी–कुलेखानीको सडक फराकिलो पार्ने काम यसअघि नै सकिएकाे थियाे । सडक फराकिलाे गर्ने काम सकिएकाेले शुक्रबारबाट स्लाब ढलान र पीच गर्ने काम गर्न लागिएको निर्देशनालयले जनाएकाे छ । सडकका धेरै स्थानमा स्लाब ढलान समेत सकिएकाे बताइएकाे छ । केही स्थानमा स्लाब ढलान र कालाेपत्रेकाे काम गर्न लागिएको हाे ।
यसअघि २ महिना उक्तखण्ड सडक बन्द गरेर मोड र अप्ठेरो स्थान फराकिलाे बनाइएकाे थियाे । भीमफेदीदेखि देउराली भञ्ज्याङसम्मको ८ किलोमिटर सडकका लागि १८ करोड रुपैयाँ तथा देउरालीदेखि कुलेखानीको हेबीचौरसम्मको साढे ७ किलोमिटर सडकका लागि १६ करोड रुपैयाँगरी ३४ करोडबाट भीमफेदी–कुलेखानी–हेबीचौरसम्म सडक फराकिलो पारिएको छ ।

