मकवानपुर । २०७६ सालको संविधान दिवस असाेज ३ गते घोषणा भएकाे विभूषणहरुमध्ये ९ वटा मानपदवी चैत २७ गते प्रदान गरिने भएको छ । शीतल निवासमा आयोजना हुने विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले मानपदवीहरु प्रदान गर्ने कार्यक्रम रहेकाे छ ।
गृह मन्त्रालयले साेमबार सूचना जारी गरी महाउज्ज्वल राष्टदीप, सुप्रसिद्ध प्रवल जनसेवाश्री, उज्ज्वल किर्तीमय राष्टदीप, प्रसिद्ध प्रवल जनसेवाश्री, सुकिर्तीमय राष्टदीप, सुप्रवल जनसेवाश्री, किर्तीमय राष्टदीप, प्रवल जनसेवाश्री, जनसेवाश्री प्रदान गरिने कार्यक्रम चैत २७ गते रहेकाेले राष्टपति कार्यालयमा उपस्थित हुन जानकारी गराएकाे छ । अलंकार र पदकहरु भने सम्बन्धित विभागीय प्रमुखहरुले प्रदान गरिने भएकाे छ ।
गृहमन्त्रालयले औपचारिक पोशाक लगाएर सुशोभन समारोहमा सहभागी हुन सम्बन्धित महानुभावहरुलाई सूचित गरेको छ । गृहमन्त्रालयले कालो वा खरानी रंगको कोट, चोलो सारी/लवेदा, सेतो सुरुवाल, कालो भादगाउँले टोपी र छालाको कालो रंगको जुत्ता लगाउन भनेको छ ।
हिमाल, पहाड, तराई मधेसमा लगाइने आ-आफ्नो परम्परा र संस्कृतिअनुसारको जातजाति, भाषा, धर्म र संस्कृति झल्काउने नेपाली पोशाक पनि लगाउन सकिने गृहमन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ । यसैगरी नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल तर्फकालाई ट्युनिक, एक्युलेट, ग्याठ बुट लगाउन आग्रह गरिएको छ ।
गृह मन्त्रालयको विभूषण शाखाले कोरोना संक्रमणको जोखिमका कारण वितरण हुन नसकेको मानपदवी, अलंकार तथा पदकहरु वितरण आगामी चैत २७ गते हुन लागेको बताएकाे छ । २०७७ वैशाख १ गते सुशोभन समारोह हुनुपर्नेमा २०७६ चैत ११ गतेबाट लकडाउन भएकोले चैत २७ गते गर्न लागिएको गृह मन्त्रालयले जनाएकाे छ ।


