- चेतनाथ दाहाल
१.
तिर्खा हैन आजभोलि,खोली धाउन थाल्यो अरे
गुम्नाम भई बस्नेको नि,पालो आउन थाल्यो अरे
भाउ खोज्ने च्यांखे थाप्ने,मौका मिल्ने भएपछि
संसद भित्र अनायासै,खुसी छाउन थाल्यो अरे ।
२.
जाई जुहि चमेलिझैं,तिम्रो जीवन् फुलिरहोस
सुख शान्ति सम्बृद्धि कै वरिपरि डुलिरहोस
हांसो खुसी छाईरहोस,मुहारमा सदा सदा
निलो आकाश जस्तै गरि सधैंभरि खुलिरहोस ।
३.
मान्छेहरु अरुलाई किन पिर्छन् होला
अपराधी कर्म गरि किन गिर्छन् होला
पाप धर्म केही हुन्न ठान्ने हरु यहां
भगवान् को मन्दिरमा किन छिर्छन होला ।
४.
त्यै घरमा माताजि को ममताको काख थियो
त्यै घरमा पिताजि को पसिना जो लाख थियो
ऐले फगत् एक्लो भयो,सम्झनामा सिमित् रह्यो
त्यै घरमा हिजो सम्म कत्रो ठुलो साख थियो ।
५.
फूल चढाउथ्यौं अनी अपार खुसी पाएर फर्कन्थ्यौं
प्रेमील भाका एक आपसमा संगै गाएर फर्कन्थ्यौं
त्यो देउराली,जसलाई आज मोटर बाटोले खायो रे
जहां हामी कहिल्यै नछुट्ने कसम खाएर फर्कन्थ्यौं ।
६.
आज पनि प्यारो लाग्छ जन्मिएको ठाँउ
बेला बेला लाग्ने गर्छ फर्किएर जाँउ
रमाउदै प्रकृतिको हरियाली भित्र-
गुरांसको फूल टिपि शिर माथि लाँउ ।
७.
त्यो फैसला खास हुनुपर्थ्यो,भयो
अहंकारको नास हुनुपर्थ्यो, भयो
अग्नि परिक्षामा लगेर होमिएको
संबिधान चैं पास हुनुपर्थ्यो,भयो!!
८.
जमानाले गर्दा भन्दै,संस्कार उल्टो मोड्न हुदैन
परिष्कृत गर्दै जानुपर्छ,परम्परा तोडन हुदैन
जमाना त कम्प्युटर र मोबाइलको पनि छ तर-
बेला बेलामा कलम पनि चलाउन छोड्न हुदैन ।
९.
कसैलाई च्वास्स घोच्ने कांडा नबनोस
कसैको प्रगति छेक्ने डांडा नबनोस
प्रेमिल बनोस कसैको निम्ति आदर्श बनोस
साहित्य सिर्जना कहिल्यै पनि छाडा नबनोस ।
१०.
आपद् बिपद् अनायासै हामी माझ आउँछ
जसरी चल्ला टिप्न झम्टेर बाज आउँछ
जिन्दगीको हिसाब किताब मिलाउदा मिलाउदै
सम्झनु,ढोकामा एकदिन यमराज आउँछ ।
११.
मलाई अचेल,मह झिकेको घार प्यारो लाग्छ
किन किन,पानी सुकेको ईनार प्यारो लाग्छ
काम नलागे नि,मिठो याद दिलाउंछ त्यसैले-
मलाई दुस्मन् ले दिएको उपहार प्यारो लाग्छ ।
कानेपोखरी २ मोरङ्ग

