मकवानपुर । मकवानपुर उद्योग वाणिज्य संघको चैत अन्तिम साता हुने ५४ औं साधारण सभा सुरु भएको छ । निर्वाचनको लागि उम्मेदवारी घाेषणा गर्ने क्रम चलिरहेकाे छ । यसैक्रममा उद्योग वाण्ज्यि संघको अध्यक्षमा राजकुमार न्याैपाने सहित ४ उपाध्यक्षको शुक्रबार उम्मेदवारी घोषणा भएको छ । संघको निवर्तमान अध्यक्ष राजकुमार न्यौपाने अध्यक्ष रहने गरी प्यानल घोषणा भएको हो ।
न्यौपानेको अध्यक्षतामा उपाध्यक्ष बस्तुगत तर्फ राजु अधिकारीले उम्मेदवारी घोषणा गरेका छन् । अधिकारीले मकवानपुर कुखुरा व्यवसायी संघ लगायत व्यवसायी संघ संस्थाको नेतृत्व गरेका छन् । यस्तै हेटौंडा लेडी जेसिजकी अध्यक्ष समेत रहेकी प्रतिमा श्रेष्ठले उधोग तर्फबाट उपाध्यक्षको उम्मेदवारी घोषणा गरेकी हुन् । उनी उद्योग वाण्ज्यि संघको वर्तमान कार्यसमिति सदस्य समेत हुन् । यस्तै हाल मकवानपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष रहेका रामप्रसाद न्यौपानेले वाणिज्य तर्फबाट उपाध्यक्षको उम्मेदवारी घोषणा गरेका छन् । न्यौपानेको नेतृत्वमा ब्रोडकास्टिङ एशोसिएसन(बान)का केन्द्रीय उपाध्यक्ष रहेको उज्जवल चौलागाइँले एशोसिएट तर्फबाट उपाध्यक्षको उम्मेदवारी दर्ता गरेका छन् ।
उम्मेदवारी घोषणामा बोल्दै अध्यक्षका उम्मेद्वार न्यौपानेले आफ्नो अघिल्लो कार्यकलामा काम गर्न ठुलो चुनौती भोग्नुपरेको बताए। आफ्नै कार्यसमितिबाट असहयोगको बाबजुद पनि धेरै काम गरेको भन्दै उनले अहिलेको कार्यसमितिले केन्द्रीय सदस्यको उम्मेदवारी दिन सिफारिस समेत रोकेको बताए । उनले शुक्रबार उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य अरुणराज सुमार्गीले पत्रकारलाई गरेको व्यवहार प्रति लज्जित भएको भन्दै आफैंले पत्रकारहरु सँग माफी मागेका थिए ।

