मकवानपुर /जिल्ला समन्वय समिति मकवानपुरको बुधबार बसेको बोर्ड बैठकले दुईवटा सडकको कार्य सुचि पारित र एउटा व्यवसायिक भवनको संक्षिप्त वातावरणिय अध्यन प्रतिवेदन (आईई) स्वीकृत गरेको छ ।
जिसस प्रमुख रघुनाथ खुलालको अध्यक्षतामा बसेको ६८ औं बोर्ड बैठकले दुईवटा सडकको कार्य सुचि पारित गर्नुका साथै एउटा व्यवसायिक भवनको संक्षिप्त वातावरणीय अध्यन प्रतिवेदन (आईई) स्वीकृत गरेको हो । बैठकले जिल्ला समन्वय अधिकारीको संयोजत्वमा रहेको संक्षिप्त वातावरणीय अध्यन प्राविधिक उपसमितिबाट छानविन भई बोर्डमा सिफारीस साथ आएको भिमफेदी गाउँपालिका स्थित कोगटे महाभिर सडक र राक्सिराङ गाउँपालिका स्थित बोडवारी–परेवाभिर–रतुवा–डोलघारी सडकको कार्य सुचि पारित गर्ने निर्णय गरेको जिसस प्रमुख खुलालले जानकारी दिए ।
त्यस्तै बैठकले हेटौंडा–१० स्थित बसपार्कमा निर्माण हुन लागेको बस टर्मिनल अन्तरगतको भवन निर्माणको लागि उपसमितिबाट पेश भई आएको संक्षिप्त वातावरणीय अध्ययन प्रतिवेदन स्वीकृत गर्ने निर्णय गरेको छ । बैठकमा जिसस उपप्रमुख भगवती पुडासैनी, समन्वय अधिकारी आनन्दराज पोखरेल, सदस्यहरु देवराज रिमाल, चित्र बहादुर बलामी, सिता अधिकारी, बुद्धि बहादुर मोक्तान, सानुकान्छी स्याङतानलगायतको उपस्थिती थियो ।

