मकवानपुर । मकवानपुरकाे हेटौंंडाबाट स्राेत नखुलेकाे २१ लाख ४० हजार रुपैंयासहित २ जनालाई प्रहरीले नियन्त्रणमा लिएकाे छ । सोमबार बेलुका हेटौंडा उपमहानगरपालिका वडा नं. १ चौकीटोलबाट उनीहरुलाई नियन्त्रणमा लिइएकाे हाे ।
हेटौंडा-भिमफेदी सडक खण्ड अन्तरगत चौकिटोलमा बिरगंजबाट हेटौंडातर्फ आउँदै गरेको लुम्बिनी प्रदेश ०१-००१ च ०२०९ नम्बरको गाडीलाई रोकी चेक जाँच गर्ने क्रममा कालो पोलोथिनको झोलामा राखी ल्याइएको १ हजार रुपैंया र ५ सय रुपैंया दरको गरी २१ लाख ४० हजार नगद फेला परेकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ ।
उक्त गाडी तथा नगद रुपैयासहित चालक धादिङ निलकण्ठ नगरपालिका वडा नं. ८ बस्ने ३२ वर्षीय बिजय खाती तथा साेही गाडीमा सवार मकवानपुर राक्सिराङ गाउँपालिका वडा नं.१ बस्ने ४० वर्षीय सिंहराम रुम्बालाई नियन्त्रणमा लिइएकाे प्रहरीले जनाएकाे छ । प्रहरीका अनुसार दुवै जनालाई मकवानपुर जिल्ला अदालत हेटौडाबाट नेपाल राष्ट्र बैंक ऐन – २०५८ काे व्यवस्था अन्तर्गतकाे कसुरकाे मुद्दामा १५ दिनकाे म्याद थप भई अनुसन्धान भईरहेको छ ।

