मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका–६ धानगोदाममा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
मंगलबार दिउँसो भीमफेदी–कुलेखानी– काठमाडौं सडकखण्डमा हेटौंडाबाट काठमाडौं जाँदै गरेको बा १२ च ४१६४ नम्बरको ल्याण्ड क्रुजरले काठमाडौंबाट हेटौंडातर्फ आउँदै गरेको बा प्र ०२–०१८ प ०४५९ नम्बरको जाभा मोटरसाइकललाई ठक्कर दिएको थियो। यसैगरी सोही दिशाबाट आउँदै गरेको बा ५४ प २५६६ नम्बरको होण्डा मोटरसाइकल अनियन्त्रित भई सडकको बायाँतर्फको नालामा खसेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
दुर्घटनामा जाभा मोटरसाइकल चालक हेटौंडा उपमहानगरपालिका–५ सिद्धार्थपथका करिब २५ वर्षीय महेश्वर घिमिरे खत्री घाइते भएका थिए। उनलाई उपचारका लागि हेटौंडा अस्पताल ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
होण्डा मोटरसाइकल चालक भारत घर भई हाल काठमाडौं महानगरपालिका–२८ माइतीघरमा बस्ने ३२ वर्षीय मुन्ना आलाम र मोटरसाइकलको पछाडि सवार सोही स्थानका ३१ वर्षीय चुन्नु आलम घाइते भएका छन्। उनीहरूको बायाँ हात र बायाँ खुट्टामा चोट लागेको र अवस्था सामान्य रहेको छ।

