मकवानपुर । आज आषाण शुक्ल (हरिशयनी) एकादशी । आजकाे दिन ज्येष्ठ शुक्ल एकादशीका दिन राखिएको दलबाट तयार भएको तुलसीको विरुवा रोप्ने गरिन्छ । आजको दिन सनातन धर्मावलम्बीहरूले आँगनमा तुलसी रोपी भगवान् विष्णुको पूजा–आराधना गर्दछन् । वर्षमा पर्ने २४ एकादशीमध्ये हरिशयनी र हरिबोधिनी एकादशीलाई विशेष महत्व दिइन्छ ।
आषाढ शुक्ल पक्षको एकादशीलाई हरिशयनी एकादशी अथवा देवशयनी एकादशी भनिन्छ । यस दिनमा नेपाल र भारत लगायत विभिन्न मुलुकहरूमा बसोवास गर्ने हिन्दू धर्मावलम्बीहरूले व्रत राख्नुको साथै एक पर्वको रूपमा मनाउने गर्दछन् । पुराणहरूका मत अनुसार भगवान विष्णु यस दिन देखि चार महिनासम्म (चातुर्मास) पातालमा राजा बलिको द्वारमा निवास गरेर कार्तिक शुक्ल एकादशीमा फर्कन्छन् । यही प्रयोजनले यस दिनलाई ‘देवशयनी’ तथा कार्तिकशुक्ल एकादशीलाई ‘प्रबोधिनी’ एकादशी भनिन्छ ।
हरिशयनी (देवशयनी) एकादशी व्रतविधि
एकादशीको दिन प्रातःकाल उठेर घरको साफ-सफाई तथा नित्य कर्मबाट निवृत्त हुने । स्नान गरेर पवित्र जल घरमा छर्कने । घरको पूजा स्थल अथवा कुनै पनि पवित्र स्थलमा प्रभु श्रीहरि विष्णुको सुन, चाँदी, तामा अथवा पितलको मूर्ति स्थापना गर्ने । तत्पश्चात उसको षोड्शोपचार सहित पूजन गर्ने र त्यसपछी भगवान विष्णुलाई पीताम्बर आदिले विभूषित गर्ने । तत्पश्चात व्रत कथा सुन्नु पर्छ । त्यसपछी आरती गरेर प्रसाद वितरण गर्ने । अन्तमा सेतो चादरले ढाकेको गद्दा-तकिया भएको खाटमा श्री विष्णुलाई शयन गराउनु पर्छ । यि चार महीनाको लागि आफ्नो रुचि अथवा अभीष्टका अनुसार नित्य व्यवहारका पदार्थहरूको त्याग र ग्रहण गर्ने गरिन्छ ।
देह शुद्धि या सुन्दरताको लागि परिमित प्रमाणको पञ्चगव्यको, वंश वृद्धिको लागि नियमित दूधको, सर्वपापक्षय पूर्वक सकल पुण्य फल प्राप्त हुनाको लागि एकमुक्त, नक्तव्रत, अयाचित भोजन अथवा सर्वथा उपवास गर्ने व्रत ग्रहण गर्ने । आजको दिन के त्याग गर्ने- मधुर स्वरको लागि गुड, दीर्घायु अथवा पुत्र-पौत्रादिको प्राप्तिका लागि तेल, शत्रुनाशादिको लागि तिलको तेल, सौभाग्यको लागि मिठो तेल, स्वर्ग प्राप्तिको लागि पुष्पादि भोग, प्रभु शयनका दिनहरूमा सबै प्रकारका मांगलिक कार्य गर्नु हुदैन ।
खाटमा सुत्ने, पति पत्नी वा अन्य सँग मैथुन गर्नु, झूठो बोल्नु, मांस, मह र अरुले दिएको दही-भात आदिको भोजन गर्नु, मूला, पटोल एवं भण्टा आदिलाई पनि त्याग्नु पर्छ भनिएकाे छ । हरिशयनी एकादशीका अवसरमा आज बिहानैदेखि राजधानी काठमाडौंको बुढानीलकण्ठ, उपत्यकाका चार नारायणलगायत देशभरका नारायण एवम् विष्णु मन्दिरमा विशेष पूजा हुने गर्दछ । हिन्दू धर्मावलम्बीका लागि महत्वपूर्ण दिनका रूपमा लिइने यो दिन निराहार व्रत बसी भगवान् श्रीविष्णु (हरि) र तुलसीको पूजा अर्चना गरेमा आफ्नो मनोकामना पूरा हुने जनविश्वास छ ।
एकादशीका दिन विशेषगरी चामलबाट बनेका परिकार नखाई रोटी, ढिँडोलगायत फलाहार गर्ने गरिन्छ । आज रोपिएको तुलसी भगवान् विष्णु र विष्णुप्रियाका नामले चार महिनासम्म पूजा गर्ने परम्परा छ । यो अवधिलाई चतुर्मास पनि भनिन्छ । हरिशयनी एकादशीबाट सुरु हुने चतुर्मास व्रत तथा अनुष्ठान कार्तिक शुक्ल (हरिबोधिनी) एकादशी का दिन तुलसीविवाह गरेपछि सम्पन्न हुने गर्दछ ।

