मकवानपुर । बागमती प्रदेश सरकारका मन्त्रीहरूको कार्य विभाजन गरिएको छ । मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको सिफारिसमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले बिहीबार मौजुदा मन्त्रिपरिषद्काे कार्य विभाजन गरेका हुन् ।
बुधबार एमालेले सरकारको समर्थन फिर्ता लिँदै आफ्ना ६ मन्त्रीलाई सामूहिक राजीनामा गराउँदै सरकारलाई दिएकाे समर्थ फिर्ता लिएकाे थियो । एमाले सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री बानियाँको सिफारिसमा नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम प्रदेश प्रमुख देवकाटाले मन्त्रीहरूको कार्य विभाजन गरेका हुन् । कार्यविभाजन अनुसार मुख्यमन्त्री बानियाँसहित ८ सदस्यीय मन्त्रीकाे कार्यविभाजन गरिएको प्रदेश प्रमुखकाे कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार ।
मुख्यमन्त्री बानियाँसहित शिवराज अधिकारी आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालय, उर्मिला नेपाल कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रालय, कञ्चनचन्द्र बादे स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालय, प्रभात तामाङ आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी ताेकिएकाे छ । यसैगरी सुरेश श्रेष्ठ उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालय, कृष्णकुमार तामाङ खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय र बिनु रायमाझी पौडेललाई भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी दिइएकाे छ ।
प्रदेश सरकारको गत वैशाख २२ गतेको मन्त्रिपरिषद् बैठकले प्रदेशमा ८ मन्त्रालय कायम गरेकाे थियो । उक्त निर्णय साउन १ गतेबाट लागू गरिए पनि सत्ता गठबन्धनका कारण ६ मन्त्री विना विभागीय रहेका थिए । जसमा एमालेका ३ र कांगेसका ३ मन्त्री विना विभागीय रहेका थिए भने सरकारमा एमालेका ३ र कांग्रेसबाट मुख्यमन्त्री बानियाँसहित ५ मन्त्री रहेका थिए ।
एमालेबाट सरकारमा सहभागी मधुसूदन पौडेल, डा.दिनेशचन्द्र देवकोटा, विन्दु श्रेष्ठ, किरण थापामगर, जयराम थापा र भरतबहादुर केसीले मन्त्रीबाट राजीनामा दिएसँगै मुख्यमन्त्री बानियाँले रिक्त रहेका ३ मन्त्रालयमा कांग्रेसका मन्त्रीहरूलाई जिम्मेवारी प्रदान गरेका हुन् । कांग्रेसका मन्त्रीहरू नेपाल, श्रेष्ठ र पौडेल यसअघि विना विभागीय थिए ।

