मकवानपुर । हेटौंडा २ मा रहेको सिद्धार्थ माध्यमिक विद्यालयले स्वर्ण जयन्ती महोत्सवको आयव्यय तथा गतिविधि सार्वजनिक गरेको छ । विद्यालयले स्वर्ण महोत्सव अवधिमा कुल ४६ लाख ७१ हजार २४३ रुपैयाँ आम्दानी तथा ३३ लाख १३ हजार १०८ रुपैयाँ खर्च भएको विद्यालयका प्रधानाध्यापक परमानन्द सरोज कर्णले बताए ।
बागमती प्रदेशका दुई ठूला विद्यालयमध्ये एक सिद्धार्थ माध्यमिक विद्यालय २०३२ साल माघ ८ गते तत्कालीन सिद्धार्थ निम्न माध्यमिक विद्यालयका रूपमा स्थापना भएको थियो । “सिद्धार्थको आगामी दशक, प्रविधिमैत्री दक्ष शिक्षक” भन्ने मूल नारासहित २०८२ पुस २४ गतेदेखि माघ ८ गतेसम्म विद्यालयले स्वर्ण जयन्ती महोत्सव विभिन्न कार्यक्रम गरेको थियो।
स्वर्ण महोत्सवको तयारीका लागि हेटौंडा–२ का वडा अध्यक्ष विष्णुगोपाल महर्जनको संयोजकत्वमा ५०१ सदस्यीय मूल समारोह समिति तथा ४० सदस्यीय सचिवालय गठन गरिएको थियो । सचिवालयको नियमित बैठकमार्फत आवश्यक कार्यक्रम सञ्चालन गरिएको विद्यालयले जनाएको छ ।
महोत्सवको अवसरमा विद्यालय भवन, सरस्वती मन्दिर तथा गेटहरूको रंगरोगन, चउर तथा चौतारा निर्माण, स्मारिका प्रकाशन, मायाको चिनो खरिद तथा स्वर्ण स्तम्भ निर्माणलगायतका पूर्वाधार निर्माणका काम सम्पन्न गरिएको थियो ।
महोत्सवअन्तर्गत पुस २४ र २५ गते सञ्चालन गरिएको दुईदिने आँखा शिविरमा ९४८ जना विद्यार्थी तथा शिक्षकको परीक्षण गरिएको थियो । जसमध्ये ५३ जनामा समस्या देखिएको विद्यालयले जनाएको छ । त्यसैगरी पुस २८ गते सम्पन्न दन्त शिविरमा ४५० जना विद्यार्थीको दाँत परीक्षण गरेको थियो ।

