मकवानपुर । मकवानपुर हेटौंडामा ४ जना स्रष्टा सम्मानित हुने भएका छन् । मकवानपुरको साहित्यिक संस्था मातृभूमि साहित्य समाजले स्रष्टाहरु प्रदिप रोदन (गोरखा), राजकुमार लामिछाने (मकवानपुर), बासुदेव पाण्डेय ‘प्रभाकर’ (सुर्खेत) र स्वस्तिका बानियाँ (मकवानपुर) लाई सम्मान गर्न लागेकाे हाे ।
आगामी जेठ ९ गते शनिबार समाजले हेटौंडामा आयोजना गर्ने ‘मातृभूमि साहित्य उत्सव–२०८३’ मा गजलकार प्रदीप रोदनलाई ‘राजकुमार स्मृति मातृभूमि सम्मान–२०८२’, साहित्यकार राजकुमार लामिछानेलाई ‘क्षेत्रबहादुर स्मृति मातृभूमि सम्मान–२०८२’, छन्द कवि बासुदेव पाण्डेय ‘प्रभाकर’ लाई ‘होमनाथ बलदेवी छन्द साहित्य सम्मान–२०८२’ र स्वस्तिका बानियाँलाई ‘मंगलादेवी स्मृति मातृभूमि सम्मान–२०८२’ बाट सम्मानित गरिने सचिवकिशन पौडेलले बताउनु भयो ।
हेटौंडा उपमहानगरपालिकासँगको सहकार्यमा शनिबार हुने ‘मातृभूमि साहित्य उत्सव–२०८३’ मा सम्मानसहित अन्तरसंवाद र कार्यपत्र प्रस्तुतिसमेत रहने सचिव पौडेलले जानकारी दिनुभयो । उनका अनुसार उत्सवमा ‘नारी स्रष्टाको साहित्य सिर्जनामा पुरुष अभिव्यक्ति’ विषयक विशेष अन्तरसंवाद हुनेछ । बहसकर्ताहरू समालोचक चेतना शर्मा, अनिता कोईराला र उपन्यासकार कल्पना खरेल रहने अन्तरसंवादमा मकवानपुरका साहित्यकार डा. निमेष निखिलले सहजकर्ताको भूमिका निर्वाह गर्नुहुनेछ ।
यसैगरी उत्सवमा दुईवटा महत्वपूर्ण कार्यपत्रहरू पनि प्रस्तुत गरिने । समालोचक डा. ज्ञानु अधिकारीले ‘साहित्यमा आध्यात्म दर्शन’ विषयमा प्रस्तुत गर्नुहुने कार्यपत्रमा अनिता कोईरालाले टिप्पणी गर्नुहुने कार्यक्रम रहेकाे पौडेलले जानकारी दिनुभयो । उनका अनुसार समालोचक घनश्याम घिमिरेले ‘साहित्यमा कृत्रिम बौद्धिकता’ विषयमा कार्यपत्र प्रस्तुत गर्नुहुनेछ भने मकवानपुरका साहित्यकार डीबी बर्तौलाले टिप्पणी गर्नुहुनेछ ।
नेपाली भाषा, साहित्य तथा कलाको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्ने उद्देश्यले वि.सं.२०५६ सालमा स्थापना भएको समाजले स्थापना कालदेखि नै विविध साहित्यिक तथा सांस्कृतिक गतिविधिहरूलाई निरन्तरता दिँदै आइरहेको बताइएकाे छ। साहित्य समाजले स्थापित तथा नवोदित प्रतिभाहरूलाई साहित्य, कला, सङ्गीत एवं सामाजिक सेवाका विभिन्न क्षेत्रमा योगदान पुर्याएवापत पुरस्कार तथा सम्मान अर्पण गर्दै आएको छ।

