मकवानपुर । पर्यापर्यटनमा स्थानीय सरकारकाे भूमिकामा बहस सिर्जना गर्नेगरी आयाेजना गरिएको वक्तृत्वकलामा सुलोचन पराजुली प्रथम भएका छ ।
हेटौंडा उपमहानगरपालिका ११ नम्बरको आर्थिक सहयोगमा साहित्य संगम मकवानपुरले आयोजना गरेको प्रतियाेगितामा हेटौंडा ११ को हेटौंडा एकेडमीका छात्र पराजुली प्रथम भएका हुन् । प्रतियाेगितामा हेटौंडा १८ ज्योति माविकी छात्रा सुनिता भोम्जन द्वितीय तथा हेटौंडा ११ त्रिभुवन माविकी छात्रा पृज्मा शिवाकोटी तृतीय भए । प्रतियाेगिताबाट हेटौंडा ९ प्रगति माविकी छात्रा सदिक्षा नेपाल र बकैया गाउँपालिका बुद्ध माविकी छात्रा सुमिना दाहालले सान्त्वना पुरस्कार पाए ।
साहित्य संगम मकवानपुरका अध्यक्ष डीबी बर्तौलाको सभाध्यक्षता तथा वडाध्यक्ष जुना दाहालको प्रमुख आतिथ्यतामा भएको प्रतियोगितामा प्रथम भएका पराजुलीले ७,५०० प्राप्त गरे । द्वितीयले ५,५०० तृतियले ३,५०० र सात्वना द्वयले जहनी १,५०० रुपैयाँ नगद सहित पुरस्कार प्रदान गरे ।
पर्यापर्यटनको सवालमा विद्यार्थीहरुको राय तथा बहस आगामी बजेट कार्यक्रममा समावेश गर्न आफूलाई परामर्श मिलेको वडा अध्यक्ष दाहालले बताइन् ।
साहित्यकार रमेशमोहन अधिकारी, पत्रकार तथा आँचल सहित्य कलापुञ्ज सह सचिव सरिता दाहाल, साहित्य संगम मकवानपुर उपाध्यक्ष मनोज पोख्रेलले प्रतियोगितामा निर्णायक मण्डलको भुमिका निर्वाह गरेका थिए ।
कार्यक्रममा वडासदस्यद्वय गीता सुनार, गोपिनी सापकोटा, त्रिभुवन माविका विद्यालय व्यावस्थापन समितिका सदस्यद्वय गोबिन्दप्रसाद न्यौपाने, बद्री लम्साल , विद्यालयका प्र.अ. रामकुमार बर्तौला, सहायक प्र.अ. बैकुण्ठ नेपाल, शर्मिला ढकाल, सिस्नुपानी नेपालका निवर्तमान अध्यक्ष राजकुमार लामिछाने, साहित्यसेवी ठाकुराम भण्डारीलगायतकाको आतिथ्यता रहेको थियो ।

