मकवानपुर । कुमार नेगी ‘पालुङ्गे चरो’ लाई यस वर्षको श्रीकृष्ण–तालुमाया नमुना स्मृति गजल सम्मान–२०८२ प्रदान गरिने भएको छ ।
गजल मञ्च मकवानपुरले फागुन २ गते काे २३३ औं गजल यात्रामा नेगीलाई ५ हजार रुपैयाँ राशिकाे उक्त सम्मानबाट सम्मानित गरिने भएकाे हाे । साहित्यकार तथा गजल मञ्च मकवानपुरका पूर्व कार्यसमिति सदस्य भोला सिलवालले माता–पिता तथा छोरीको स्मृतिमा पुरस्कार स्थापना गरेका हुन् ।
२०५८ सालमा प्रकाशित कुमार नेगीको ‘श्रीजनाका हातहरू’ गजल संग्रह मकवानपुर जिल्लाबाट प्रकाशित पहिलो गजल कृति हो। जिल्लाको गजल इतिहासमा पहिलो गजल कृति प्रकाशन गरी गजल विधाको विकास, श्रीवृद्धि र प्रवद्र्धनमा पुर्याएको योगदानको कदरस्वरूप नेगीलाई सम्मान प्रदान गर्न लागिएको गजल मञ्च मकवानपुर अध्यक्ष संजित श्रेष्ठले जानकारी दिए ।
उक्त सम्मानबाट यसअघि गजलकार अनिश न्यौपाने ‘भावना’ तथा गजल मञ्च मकवानपुरका संस्थापक एवं पूर्व अध्यक्ष दुर्गा लामिछाने ‘नमूना’ सम्मानित भइसकेका छन्।
प्रतियोगितामा उत्कृष्टलाई ‘मनमाया स्मृति गजल पुरस्कार’
गजल प्रतियोगितामा उत्कृष्टलाई ‘मनमाया स्मृति गजल पुरस्कार’ २३३औं गजल यात्रामा प्रदान गरिने भएकाे छ । गजल मञ्च मकवानपुरले हरेक वर्ष प्रदान गर्दै आएकाे ‘मनमाया स्मृति गजल पुरस्कार’ माध्यमिक तह (कक्षा ९ देखि १२) सम्मका विद्याथीहरूबीच गजल प्रतियोगिता गराई उत्कृष्ट एक जनालाई प्रदान गरिदै आएकाे अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
संस्थाका पूर्व अध्यक्ष एवम् सल्लाहकार दीपक गौतमले हजुरआमाको स्मृतिमा स्थापना गरेकाे ‘मनमाया स्मृति गजल पुरस्कार’ पुरस्कारकाे लागि माघ २५ गतेसम्म गजल पठाउनु पर्ने गरी सूचना प्रकाशित गरिएकाे उनले बताए ।

फागुन २ गते शनिबार गजल प्रतियोगिताका साथै पुरस्कार वितरण समेत गरिने कार्यक्रम रहेकाे बताइएकाे छ । उक्त प्रतियोगितामा मकवानपुर जिल्लाका विद्यालयहरुमामा माध्यामिक तह (कक्षा ८ देखि १२ कक्षासम्म ) मा अध्ययनरत विद्यार्थीहरू सहभागी हुन पाउने छन् ।
प्राप्त गजलहरु मध्ये सर्ट लिस्टमा परेका गजलहरु अन्तिम प्रतियोगितामा वाचन गरिने छ भने गजल बाचनका लागि सर्ट लिस्टमा परेका गजलकारहरु स्वयम् उपस्थित हुनुपर्ने बताइएकाे छ ।
मकवानपुर जिल्लामा गजलको उत्थान, विकास र लेखनमा उत्प्रेरणा दिने उदेश्यले गजल मञ्च मकवानपुरकाे स्थापना भएकाे हाे । मञ्चले गजल सम्बन्धी विविध कार्यक्रमहरू गर्दै आइरहेको अध्यक्ष श्रेष्ठ बताउँछन् ।

