मकवानपुर । प्रतिनिधि सभाको लागि फागुन २१ गते निर्वाचन तोकिएको छ । देशै भर चुनावी चहलपहल बढी रहेको छ ।
उम्मेदवारहरु चुनावी अभियानमा आफ्नो क्षेत्रमा व्यस्त रहेका छन् । मकवानपुरको दुबै क्षेत्रमा चुनावी अभियानमा उम्मेदवारहरु स्थानीयस्तरमा भेटघाटमा व्यस्त छन् ।
निर्वाचन २०८२ अन्तरगत रहेर केही दिन मकवानपुरको दुबै क्षेत्रका उम्मेदवारहरुको परिचय प्रस्तुत गर्दैछौ ।
महेश बर्तौला (नेकपा एमाले)
नेकपा एमालेका केन्द्रीय सदस्य महेश बर्तौला प्रतिनिधि सभा सदस्य निर्वाचनमा मकवानपुरकाे क्षेत्र नम्बर २ बाट उम्मेदवार छन् । उनकाे यो दोस्राे पटककाे उम्मेदवारी हाे । यस अघी २०७९ सालमा भएकाे निर्वाचनमा बर्तौलाले राजनीतिक गुरु समेत रहेका विरोध खतिवडालाई पराजीत गरेका थिए ।
बर्तौलाको राजनीतिक जीवन २०५३ सालबाट सुरु भएको हो । मकवानपुरको नामटारस्थित कालिका माविमा कक्षा ७ मा अध्ययन गर्दै गर्दा उनी अनेरास्ववियुको प्रारम्भीक कमिटिको अध्यक्ष भइसकेका थिए । अखिलको ईलाका, क्षेत्रीय कमिटि हुँदै उनी २०६० र २०६३ मा दुई कार्यकाल अनेरास्ववियु मकवानपुर अध्यक्ष भए । उच्च शिक्षाका लागि मकवानपुर बहुमुखी क्याम्पसमा अध्ययनरत रहँदा २०६० सालमा स्ववियु सदस्य बने । २०६२ र २०६५ सालमा मकवानपुर बहुमुखी क्याम्पसका स्ववियु सभापति भए ।
२०६५ सालमा अनेरास्ववीयुको केन्द्रीय सदस्य हुँदै अनेरास्ववियुको केन्द्रीय सचिव, उपाध्यक्ष र कार्यबाहक अध्यक्षको जिम्मेवारी सम्हाल्ने अवसर समेत उनले पाए । उनी स्वतन्त्र विद्यार्थी युनियन काउन्सिल नेपालको राष्ट्रिय अध्यक्ष समेत भए । २०६३ सालबाट महेश बर्तौलाले विद्यार्थी राजनीतिका अलवा पार्टीको भूगोलमा रहेर समेत काम गरे । २०६३ मा उनी नेकपा एमालेको जिल्ला कमिटि सदस्य निर्वाचित भए ।
माओवादी सशस्त्र युद्धका बेला उनले मकवानपुरको विकट भुगोल नामटार कालिकाटार र भार्ताको ईन्चार्जको जिम्मेवारी बहन गरेका थिए । २०७६ /०७७ मा नेकपा एमालेको बागमती प्रदेश कमिटि सदस्य हुँदै उपमहासचिवको जम्मेवारीमा उनी सक्रिय रहेका थिए । एमाले र माओवादी एकता हुँदा उनी नेकपाको केन्द्रीय सदस्य भए । २०८० मा एमालेको मनोनित केन्द्रीय सदस्य र २०८२ को ११ औँ महाधिबेशनबाट उनी केन्द्रीय सदस्यमा निर्वाचित भए ।
४२ बर्षको युवा उमेरमा राजनीतिक सफलतासंगै उनकाे अध्ययनले समेत निरन्तरता पाएकाे छ । शैक्षिक हिसाबले उनी अब्बल छन् । व्यवस्थापन संकाय र राजनीतीशास्त्रमा स्नातकोत्तर (एमए) सम्मको अध्ययन गरेका बर्तौला विधीशास्त्रका समेत बिद्यार्थी हुन् । उनले एलएलवी उतीर्ण गरेका छन् ।
क्षेत्र नम्बर २ बाट पहिलोपटक प्रतिनिधी सभा सदस्य भएका बर्तौलाले एमालेको सचेतक, मुख्य सचेतक हुँदै सरकारको प्रमुख सचेतकको जिम्मेवारी बहन गर्ने अवसर पाइसकेका छन् । संसदमा कानून न्याय तथा मानव अधिकार समिति सदस्य, प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त समितिको सदस्य र संसदीय समितिमा सदस्यका रुपमा उनको भूमिका रह्यो ।
संयुक्त राष्ट्रसंघको सभामा भाग लिन अमेरिका समेत पुगेका उनी संसदीय मामिला अध्ययनका लागि बेलायत गएर राजनीतिमा आफूलाई अनुभवले समेत अब्बल बनाएका छन् । स्विजरल्याण्डको जेनेभामा (ईन्टर पार्लियामेन्ट युनियन आई पि यु) को सभामा समेत उनले सहभागीता जनाएका छन् । चीन, भारत लगायतका देश पुगेर उनले विकास र राजनीतीको अन्तर्राष्ट्रिय ज्ञान हासिल गरेका छन् ।
गत भदौमा भएकाे नवयुवा (जेनजी) आन्दोलनका कारण प्रतिनिधिसभा विघटन भएपछि बर्तौलाले पुरा कार्यअवधी संसदीय भूमिकामा रहन पाएनन् । उनी भन्छन् ‘पुरा अवधी काम गर्न पाइएन थालेका काम अपुरा छन् ती काम पुरा गर्न समेत चुनावमा उठेकाे छु ।’ आफूले जिल्ला र जिल्लावासीकाे लागि धेरै काम गर्न बाँकी रहेकाेले उम्मेदवारी दिएकाे उनकाे भनाई छ ।
२०७९ सालकाे मत परिणामः
नेकपा एमालेका बर्तौलाले २०७९ सालकाे प्रतिनिधि सभा चुनावमा ३४ हजार ९१६ मत प्राप्त गरी विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एसका विरोध खतिवडाले ३० हजार ३९६ मत प्राप्त गरेका थिए । यस्तै रास्वपाका भरत पराजुलीले १२०३९ मत प्राप्त गर्दा राप्रपाका राजन मैनालीले २१९४ मत ल्याएका थिए ।

