मकवानपुर । मकवानपुरमा प्रतिनिधिसभा निर्वाचनका लागि ३ हजार कर्मचारी खटिने भएका छन् । २ वटा निर्वाचन क्षेत्र रहेको जिल्लामा स्वयं सेवकसहित ३ हजार ३ सय ६६ कर्मचारी निर्वाचनमा खटिने भएका हुन् ।
३ सय ७४ मतदान केन्द्रमध्ये एउटा मतदान केन्द्रमा आयोगबाट ६ जना कर्मचारी र ३ जना स्वयं सेवक नियुक्त गरिने बागमती प्रदेश निर्वाचन कार्यालय हेटौंडाले जनाएकाे छ । निर्वाचन केन्द्रित जनशक्ति व्यवस्थापन कार्य अन्तिम चरणमा पुगेको बताइएकाे छ ।
प्रदेश निर्वाचन अधिकारी हरिप्रसाद ढकालका अनुसार निर्वाचन कार्यालयबाट २ हजार २४४ जना र मतदान केन्द्रमै नियुक्त हुने स्वयम् सेवक १ हजार १ सय २२ जना कर्मचारी मतदान अवधिभर परिचालन हुने छन् । यसबाहेक निर्वाचनमा निर्वाचन स्थलको संवेदनशीलता र आवश्यकताका आधारमा निर्वाचन प्रहरी परिचालन हुने बताइएकाे छ ।
४० वटा वडा रहेको मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा ६२ वटा मतदान स्थल र १७८ वटा मतदान केन्द्र रहेका छन् । ६२ वटा वडा रहेको क्षेत्र नम्बर २ मा १०५ वटा मतदान स्थल र १९६ वटा मतदान केन्द्र छन् । जिल्लाको भीमफेदी कारागार र कर्मचारीका लागि हेटौंडामा अस्थायी मतदान केन्द्र रहने कार्यालयले जनाएकाे छ ।

