मकवानपुर । प्रतिनिधि सभाको लागि फागुन २१ गते निर्वाचन तोकिएको छ । देशै भर चुनावी चहलपहल बढी रहेको छ ।
उम्मेदवारहरु चुनावी अभियानमा आफ्नो क्षेत्रमा व्यस्त रहेका छन् । मकवानपुरको दुबै क्षेत्रमा चुनावी अभियानमा उम्मेदवारहरु स्थानीयस्तरमा भेटघाटमा व्यस्त छन् ।
निर्वाचन २०८२ अन्तरगत रहेर केही दिन मकवानपुरको दुबै क्षेत्रका उम्मेदवारहरुको परिचय प्रस्तुत गर्दैछौ ।
महालक्ष्मी उपाध्याय ‘डिना’ (नेपाली काग्रेस पार्टी)
२०२१ सालमा चितवनमा जन्मिएकी हुन । नेपाली काग्रेसबाट मकवानपुर क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएकी महालक्ष्मी उपाध्याय ‘डिना’।
• उनी जन्मिदा हजुरबुवा उदयनाथ अधिकारी देशद्रोहको मुद्दामा जेलमा रहेको उनी बताउछिन् । प्रजातन्त्रको लागि संघर्ष गर्दा १२ वर्ष जेल बसेका अधिकारी नेपाली कांग्रेसको चितवन जिल्ला सभापति थिए ।
• २०३९ मा काठमाडौं, बागबजारको पद्मकन्या क्याम्पसमा भर्ना भएपछि डिना खुलेरै नेविसंघको राजनीतिमा लागिन् । २०४२ को सत्याग्रह आन्दोलनका क्रममा शैलजा आचार्यसँगै ७ महिना जेल परिन् ।
• २०४३ सालमा पद्मकन्या क्याम्पसको स्ववियु सभापतिमा निर्वाचित भएकी डिना त्यसपछि २०४७ देखि २०५७ सालसम्म नेपाल महिला संघ, मकवानपुर सभापति रहिन् ।
• २०५९ सालमा पार्टी विभाजनपछि उनी नेपाली कांग्रेस (प्रजातान्त्रिक) को केन्द्रीय सदस्य भइन् । कांग्रेसको चौधौं महाधिवेशनबाट डिना सहमहामन्त्रीमा विजयी भएकी थिइन् ।
• यस अघि मकवानपुर १ बाट ४ पटक हार बेहोरेकी ‘डिना’ जनताबाट अनुमोदन हुनको लागि पुनः चुनावमा होमिएकी छिन् । कम्युनिष्ट गढ मानिने मकवानपुरमा डिनाले २०४८ को आमनिर्वाचन र २०५१ को मध्यावधि हारिन् । त्यसपछि २०६४ र २०७० मा समानुपातिकबाट संविधानसभा प्रवेश गरेकी थिइन उनी । २०७४ र २०७९ को निर्वाचन पनि सुखद रहेनन् उनको लागि ।
• डिनाले २०४८, २०५१ र २०७४ को निर्वाचनमा मकवानपुर–२ बाट नेकपा एमालेका तत्कालीन उम्मेदवार विरोध खतिवडासँग पराजित भइन् ।
• २०७९ मा निर्वाचन क्षेत्र परिवर्तन गर्दै १ नम्बरबाट प्रत्यक्षमा उठेकी उनी गठबन्धनका कारण राप्रपाका दीपक सिंहसँग पराजीत भइन् ।
• अघिल्लो निर्वाचनमा बलिया उम्मेदवारसँग त्रीपक्षीय भिडेकी डिनाले अबको निर्वाचनमा ४ जनासंग प्रतिस्पर्धा गर्नुपर्नेछ ।
• आगामी निर्वाचनमा डिनासँगै राप्रपाका सिंह, एमालेबाट रामेश्वर राना र नेकपाबाट विजय गौतम लगायतका उम्मेदवार मैदानमा छन् ।
• आफू चुनाव नलड्ने भनिसकेको अवस्थामा पनि पार्टीको नेतृत्वले चुनाव लड्नुपर्छ जितेर आउनुहुन्छ भनेर ढाडस दिएपछि उम्मेदवारी दिएको डिनाले बताइन् ।
२०७९ को मतको अबस्था:
डिनालाई २ हजार ३८२ मतान्तरले हराउँदै सिंहले २०७९ को प्रतिनिधिसभा चुनाव जितेका थिए । सिंहले २७ हजार ८१६ मत प्राप्त गरि विजयी हुँदा डिनाले २५ हजार ४३४ मतमा चित्त बुझाइन् ।
एमालेको सूर्य चिह्न लिएर उठेका राप्रपा नेपालका कमल थापाले २५ हजार ४२० मत पाएका थिए ।

