मकवानपुर । नेकपा (एमाले) का तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार महेश बर्तौलाले आफ्नो चुनावी घरदैलो अभियानलाई तीव्र पारेका छन् । बुधलबार भीमफेदी गाउँपालिका वडा नं. ५ को सुपिङ गाउँमा आयोजित शुभचिन्तक भेटघाट तथा अन्तरक्रियाका क्रममा एमाले छाडेर रास्वपा प्रवेश भएका एक दर्जन कार्यकर्तालाई पुनः एमाले फर्काएका छन् ।
कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट शेर बहादुर मुक्तान, चन्द्रबहादुर स्याङतान, रमाकान्त नेपाल, कमल बहादुर रेग्मी र सुमन थिङ लगायत एक दर्जन कार्यकर्ताहरू पुनः नेकपा एमालेमै फर्किएका हुन् । उम्मेदवार बर्तौलाले नवप्रवेशीहरूलाई पार्टीमा स्वागत गर्दै अधुरा काम पूरा गर्न आफूलाई पुनःअवसर दिन आग्रह गरे ।
स्थानीयसँगको भेटमा बर्तौलाले विगतको कार्यकाल पूर्ण हुन नपाएकोमा दुःख व्यक्त गरे । “तपाईंहरूले मलाई ६० महिनाका लागि निर्वाचित गरेर पठाउनुभएको थियो, तर संसद विघटनका कारण ३२ महिनामै मेरो कार्यकाल रोकियो,“ बर्तौलाले भने, “प्राकृतिक न्याय र २०७९ को जनादेशका आधारमा पनि मैले बाँकी २८ महिना सेवा गर्न पाउनुपर्छ । अधुरा जिम्मेवारी पूरा गर्न मलाई सहयोग गर्नुहोस् ।’
अन्तरक्रियाका क्रममा स्थानीय बासिन्दाहरूले उम्मेदवार बर्तौलासमक्ष विभिन्न समस्या र जिज्ञासा राखेका थिए । स्थानीय गुण प्रसाद पुडासैनीले बाँदरको समस्याका कारण गाउँ नै रित्तिन लागेको बताउँदै यसलाई नीतिगत रूपमै समाधान गर्न माग गरे । अर्का स्थानीय छविलाल पुडासैनीले नेपाललाई हिन्दु राष्ट्र कायम गरिनुपर्ने र गाईको मासु खान पाउनुपर्छ भन्ने खगेन्द्र सुनारको अभिव्यक्तिको कडा विरोध गरे ।
वास्थलाका सूर्य बहादुर ब्लोनले पुस्तौँदेखि बसोबास गर्दै आए पनि जग्गाको धनीपुर्जा नपाएको गुनासो गर्दै भूमि आयोगको कामलाई तीव्र बनाउन आग्रह गरे ।
कार्यक्रममा बोल्दै नेकपा (एमाले) भीमफेदीका उपसचिव आशिष अस्लामीले बर्तौलाको विगतको कार्यकाल उपलब्धि मुलक रहेको दाबी गरे । उनले बर्तौलाले संसदमा भूमिहीनका समस्या, टीआरसी विधेयक, शिक्षा विधेयक र दुग्ध किसानका पक्षमा दरिलो आवाज उठाएको स्मरण गराए ।
एमाले बागमती प्रदेश कमिटी सदस्य भगवती पुडासैनीले गएको भदौ २३ र २४ गते व्यक्तिगत र सार्वजनिक सम्पत्ति जलाएको स्मरण गराउँदै राष्ट्रियता र शान्ती सुरक्षाको लागि एमालेमा मत हाल्न अनुरोध गरिन् ।
भीमफेदेव ५ का वडा अध्यक्ष तथा एमाले नेता जहारसिं लामाले बाँदर समस्या समाधानको लागि बाँदरले नखाने टीमुर जस्ता खेती गर्न सुझाए ।

