मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मकवानपुरले फागुन २१ गतेको चुनाव लक्षित भेटघाट तथा जनसम्पर्क अभियानलाई गरेको छ।
भेटघाटको क्रममा राप्रपाबाट प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार दिपक बहादुर सिंहले भ्रष्टाचारसँग कुनै हालतमा सम्झौता नहुने बताएका छन् । हेटौंडा -४ र हेटौंडा -१३ मा आयोजित भेटघाट कार्यक्रममा बोल्दै सिंहले देशको विकास अवरुद्ध हुनुको मुख्य कारण भ्रष्टाचार भएको उल्लेख गर्दै यसको अन्त्य बिना सुशासन सम्भव नहुने बताए।
‘जनताले परिवर्तन चाहेका छन् , भाषण होइन, इमानदार नेतृत्व र काम चाहिन्छ’ उनले भने ‘अघिल्लो चुनावमा निर्वाचित भएपछि गरेका कामहरुको सार्वजनिक समेत गरेका छौ । राप्रपा पारदर्शिता बिश्वास राख्छ ।’ हामी राजनीतिमा धन कमाउन होइन मानिस कमाउन आएको कार्यशैलीले देखाएको उनले बताए ।
राप्रपाले राष्ट्र, राष्ट्रियता, सुशासन र भ्रष्टाचार अन्त्यलाई मुख्य एजेन्डा बनाएको स्पष्ट पार्दै जनताको विश्वास नै आफ्नो सबैभन्दा ठूलो शक्ति भएको उनले बताए । राप्रपा मकवानपुरका अनुसार पार्टीले प्रत्यक्ष नागरिक संवाद र स्थानीय भेटघाटलाई प्राथमिकता दिँदै मतदातासँग सम्बन्ध बलियो बनाउदै जाने बताएको छ ।
स्थानीय स्तरबाट प्राप्त सकारात्मक प्रतिक्रिया र जनसमर्थनले पार्टी थप उत्साहित भएको राप्रपा मकवानपुरले जनाएको छ।

