मकवानपुर । प्रतिनिधि सभा निर्वाचन नजिकिँदै जाँदा मकवानपुर क्षेत्र नं. १ मा चुनावी माहोल तात्दै गएको छ।
आगामी फागुन २१ गते हुने निर्वाचनको लागि नेकपा एमाले मकवानपुर क्षेत्र नं. १ का उम्मेदवार रामेश्वर रानाले मंगलबार बागमती गाउँपालिका वडा नम्बर ६ र ७ मा मतदातासँग प्रत्यक्ष भेटघाट तथा अन्तरक्रिया गरेका छन्। यसैक्रममा उमेदवार रानाले बागमती गाउँपालिका वडा नम्बर ६ मा नेकपा एमाले चुनावी प्रचारप्रसार कार्यलयको उद्घाटन पनि गरेका छन् ।
मतदाता भेटघाटका क्रममा उम्मेदवार रानाले स्थानीय मतदाताको समस्या, आवश्यकता र अपेक्षाबारे चासो राख्दै आफ्ना चुनावी प्रतिबद्धताहरू प्रस्तुत गरेका थिए।
उनले विकास, रोजगारी, शिक्षा, स्वास्थ्य र पूर्वाधारको सुदृढीकरणलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
स्थानीय मतदाताहरूले पनि आफ्ना भोगाइ र सुझावहरू खुलेर राख्दै आगामी दिनमा प्रभावकारी नेतृत्वको अपेक्षा गरेको बताएका छन्। चुनाव नजिकिँदै जाँदा यस्ता प्रत्यक्ष भेटघाटले क्षेत्र नं. १ मा राजनीतिक चहलपहल थप बढाएको देखिन्छ।
फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै उम्मेदवार रानाले आगामी दिनमा पनि घरदैलो तथा जनसम्पर्क कार्यक्रमलाई निरन्तरता दिने बताए । रानाले सबै नेता तथा कार्यकर्तालाई आ आफ्नो गाउँ टोल र समाजमा पनि नेकपा एमालेको पक्षमा माहोल बनाउन अनुरोध गरे ।

