मकवानपुर । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा (एमाले) का उम्मेदवार महेश कुमार बर्तौलाले आफ्नो चुनावी अभियानलाई तीव्रता दिएका छन् ।
मकवानपुर क्षेत्र नम्बर २ का उम्मेदवार बर्तौलाले भीमफेदी गाउँपालिकाका विभिन्न वडाहरूमा पुगेर मतदाताहरूसँग भेटघाट गर्दै आफूलाई मतदान गर्न जनताको आवाज सुन्न व्यस्त छन् । आज मंगलबार भीमफेदी २ को भैंसे दोभान, आँपचौर, टिलटार, कालिटार, चुनियाँ र वडा नम्बर ३ तथा ४ का निबुवाटार र चिउरी बगैंचा टोलहरूमा पुग्नुभएका बर्तौलाले आफू यसै माटोको छोरा भएको स्मरण गराए ।
‘अघिल्लो पटक तपाईंहरूले मलाई निर्वाचित गराउनुभयो, तर संसद विघटनका कारण ३२ महिना मात्रै काम गर्न पाएँ । मेरा बाँकी रहेका सपना र अधुरा काम पूरा गर्न तपाईंहरूको साथ चाहिन्छ’ उनले भने । आफ्नो कार्यकालको समीक्षा गर्दै बर्तौलाले ३२ महिनामा पारित भएका २९ वटा कानुनमध्ये २६ वटामा आफूले प्रत्यक्ष रूपमा काम गरेको जानकारी दिए । उनले भने ‘म मुलत कानुन निर्माता (विधायक) हुँ, तर यहाँका जनताका लागि सडक, पुल, खानेपानी र सिँचाइ जस्ता पूर्वाधार विकासलाई मैले कहिल्यै कम हुन दिने छैन ।’
भेटघाटका क्रममा स्थानीय बासिन्दाहरूले विकासका योजनाहरू माग गरेका छन् । भीमफेदी-२ बेशीकी राधिका विष्टले बागझोरा पुल र सडकका लागि बजेट विनियोजन भएकोमा खुसी व्यक्त गर्दै आफ्नो खेतलाई खोलाको कटानबाट जोगाउन थप बजेटको माग गरिन् ।
त्यस्तै, भीमफेदी- ३ इच्चुङका राम पाख्रीनले पान्द्राङ–इच्चुङ–बुढीचौर सडकको स्तरोन्नति र विद्यालय सुधारका लागि बर्तौलाकै नेतृत्व आवश्यक रहेको बताए । एमाले भीमफेदी उपसचिव आशिष अस्लामीले जनतामा सांसदको मुख्य काम नीति निर्माण हो भन्ने बुझाउन आवश्यक देखिएको बताए । ‘धेरैजसो मतदाताहरूले टोलको विकास र बजेटको माग गर्नुहुन्छ, उहाँहरूलाई सांसद विधायक पनि हो भन्ने प्रशिक्षित गराउनु पर्नेछ’ उनले भने ।
अभियानमा सहभागी समानुपातिक उम्मेदवार मेम्बर लो तामाङले बर्तौलालाई ‘बेदागी र क्षमतावान युवा नेता’को संज्ञा दिँदै प्रत्यक्ष र समानुपातिक दुवैतर्फ सुर्य चिन्हमा मतदान गर्न आग्रह गरे । जिल्ला कमिटी सदस्य सागर पाण्डेले पनि एमालेको पक्षमा बलियो माहोल बनेको दाबी गरे ।

