चितवन । चितवन प्रदर्शनी केन्द्रमा आठौं एग्रीटेक इन्टरनेशनल एक्स्पो सुरु भएको छ । एक्स्पोको बागमती प्रदेशका कृषि तथा पशुपन्छी मन्त्री मदुसुदन पौडेलले शुक्रबार उद्घाटन गरे ।
प्रदर्शनीमा पशुपालन, कृषियन्त्र, बीउ–बिजन, मल, खाद्य प्रविधि तथा कृषि तालिमसम्बन्धी जानकारी उपलब्ध हुनेछ । एक्स्पोको उद्घाटन गर्दै मन्त्री पौडेलले कृषिजन्य व्यवसायिक उत्पादन बढाउन विदेशी कृषि प्रविधिको पहुँच र प्रयोग विस्तार गर्नुपर्ने बताए ।
‘प्रविधिमैत्री कृषिले उत्पादन वृद्धि र निर्यात प्रवर्द्धनमा सहयोग पुग्नेछ’ उनले भने ‘निर्वाहमुखी खेतीबाट व्यवसायिक कृषितर्फ जान प्रविधिको अधिकतम प्रयोग आवश्यक रहेको छ ।’ युवालाई कृषि क्षेत्रमा आकर्षित गर्न प्रदेश सरकारले अनुदान, व्याज अनुदान र आयात प्रतिस्थापन कार्यक्रमलाई प्राथमिकता दिएको उनले जानकारी दिए । ‘समयमै रासायनिक मल आपूर्ति र प्रांगारिक मल उद्योग सञ्चालनमा सरकार सक्रिय रहेको छ’ उनले भने ।
माघ ४ गतेसम्म चल्ने अन्तर्राष्ट्रिय प्रदर्शनीमा नेपाल, भारत, चीन लगायत देशका १०० भन्दा बढी कृषि सम्बन्धी स्टलहरू रहेका छन् ।

