मकवानपुर । आगामी फागुन २१ गते ताेकिएकाे प्रतिनिधिसभा निर्वाचनकाे लागि मकवानपुरमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । २ वटा निर्वाचन क्षेत्र रहेको मकवानपुरमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।
हेटौंडा उपमहानगरपालिसका वडा नं. ११ स्थित प्रादेशिक कृषि तरकारी थोक बजारको भवनमा निर्वाचन मकवानपुर क्षेत्र नम्बर १ र २ का लागि निर्वाचन अधिकृतकाे कार्यालय स्थापना गरिएको हो । जिल्लामा निर्वाचनकाे कार्य गर्ने गरी जिल्ला न्यायाधीश गीता श्रेष्ठलाई मुख्य निर्वाचन अधिकृत र जिल्ला सरकारी वकिलको कार्यालय मकवानपुरका जिल्ला न्यायाधिवक्ता देवेन्द्रराज आचार्यलाई निर्वाचन अधिकृतमा नियुक्त गरिएको छ ।
३ लाख १५ हजार मतदाता
निर्वाचनका लागि जिल्लामा ३ लाख १५ हजार ३३४ मतदाता कायम भएका छन् । प्रदेश निर्वाचन कार्यालयका अनुसार कुल मतदाता संख्या ३ लाख १५ हजार ३३४ कायम रहेको हो ।
प्रतिनिधिसभा निर्वाचन २०७९ पछि मकवानपुरमा १४ हजार ६०१ जना मतदाता थपिएकाे हाे । प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी तारा प्रसाद आचार्यका अनुसार सबैभन्दा धेरै मतदाता हेटौंडा उपमहानगरपालिकामा ७ हजार १६३ थप भएका छन् । मनहरी गाउँपालिकामा एक हजार ४६८, थाहा नगरपालिकामा एक हजार ४१५ मतदाता थपिदाँ बकैया गाउँपालिकामा ८१७, बागमती गाउँपालिकामा ८४०, मकवानपुरगढी गाउँपालिकामा ७५४ र भीमफेदी गाउँपालिकामा ६९३ मतदाता थप भएका छन् ।
त्यस्तै, इन्द्रसरोवर गाउँपालिकामा ३७३, कैलाश गाउँपालिकामा ३६३ र राक्सिराङ गाउँपालिकामा २३५ मतदाता थपिएको निर्वाचन कार्यालयले जनाएको छ । मतदाता संख्या वृद्धि भएसँगै जिल्लामा मतदान केन्द्र पनि थप गरिएको छ । मतदान स्थल भने साविककै १६७ कायम राखिए पनि मतदान केन्द्र १० वटा थप गरिएको सूचना अधिकारी आचार्यले बताए ।
जिल्लाकाे निर्वाचन क्षेत्र नम्बर १ मा १ लाख ५८ हजार ४३५ र निर्वाचन क्षेत्र नम्बर २ मा १ लाख ५६ हजार ८९९ मतदाता रहेका छन् । जिल्लाभर कुल मतदातामध्ये महिला १ लाख ५३ हजार ३७६, पुरुष १ लाख ६१ हजार ९५३ र अन्य ५ जना रहेकाे प्रदेश निर्वाचन कार्यालयले जनाएकाे छ । अद्यावधिक तथा दाबी–विरोधको क्रममा निर्वाचन कार्यालयले मतदाता सूचीबाट ८८४ नाम हटाएको छ । मृत्यु भएका २१ जना मतदाता तथा दोहोरो नाम रहेका ६८३ जनाको नाम सूचीबाट हटाइएको कार्यालयले जनाएको छ ।
१६७ मतदान स्थल र ३७४ मतदान केन्द्र, १९ वटा अति संवेदनशील
प्रतिनिधिसभा अन्तर्गत २ वटा निर्वाचन क्षेत्र रहेको मकवानपुरमा हाल १६७ मतदान स्थल र ३७४ मतदान केन्द्र तोकिएका छन् । यसअघि जिल्लामा ३६४ मतदान केन्द्र रहेका थिए ।
निर्वाचन क्षेत्र नम्बर १ मा ६२ मतदान स्थल र १७८ मतदान केन्द्र रहेका छन् भने निर्वाचन क्षेत्र नम्बर २ मा १०५ मतदान स्थल र १९६ मतदान केन्द्र तोकिएका छन् । जिल्लाको १९ मतदान स्थललाई अति संवेदनशील सूचिमा राखिएको छ । सुरक्षा संवेदनशीलताको आधारमा जिल्लाका १० स्थानीय तहमध्ये ६ स्थानीय तहमा रहेका मतदान स्थल अति संवेदनशीलको सूचीमा परेका हुन् ।
जिल्लाभर रहेका कुल १६७ मतदान स्थलमध्ये १९ वटा अति संवेदनशील, ६० वटा संवेदनशील र ८८ वटा सामान्य श्रेणीमा राखिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । अति संवेदनशील सूचीमा परेका मतदान स्थलमा २६ मतदान केन्द्र रहेका छन् । सबैभन्दा धेरै बकैया गाउँपालिकामा ५ मतदान स्थल र ७ मतदान केन्द्र अति संवेदनशील रहेका छन् । त्यस्तै, राक्सिराङ गाउँपालिकामा ६ मतदान स्थल र ६ मतदान केन्द्र, बागमती गाउँपालिकामा ५ मतदान स्थल र ६ मतदान केन्द्र, भीमफेदी गाउँपालिकामा १ मतदान स्थल र ३ मतदान केन्द्र, मनहरी गाउँपालिकामा १ मतदान स्थल र ३ मतदान केन्द्र तथा कैलाश गाउँपालिकामा १ मतदान स्थल र १ मतदान केन्द्र अति संवेदनशील मानिएको छ ।
यसैगरी, जिल्लामा ६० मतदान स्थल र १ सय २३ मतदान केन्द्र संवेदनशील सूचीमा राखिएका छन् । संवेदनशील मतदान स्थलहरूमा हेटौंडा उपमहानगरपालिकाका ७ मतदान स्थल र ३१ मतदान केन्द्र, थाहा नगरपालिकाका ९ मतदान स्थल र १७ मतदान केन्द्र, राक्सिराङ गाउँपालिकाका १३ मतदान स्थल र १७ मतदान केन्द्र, बकैया गाउँपालिकाका ८ मतदान स्थल र १५ मतदान केन्द्र तथा बागमती गाउँपालिकाका ७ मतदान स्थल र १७ मतदान केन्द्र रहेका छन् ।
मकवानपुरगढी गाउँपालिकाका ४ मतदान स्थल र ७ मतदान केन्द्र, इन्द्रसरोवर गाउँपालिकाका २ मतदान स्थल र २ मतदान केन्द्र, भीमफेदी गाउँपालिकाका ४ मतदान स्थल र ४ मतदान केन्द्र, कैलाश गाउँपालिकाका ३ मतदान स्थल र ५ मतदान केन्द्र तथा मनहरी गाउँपालिकाका ३ मतदान स्थल र ८ मतदान केन्द्र पनि संवेदनशील सूचीमा परेका छन् ।
यसैबीच, निर्वाचनको सुरक्षाका लागि भर्ना गर्न लागिएको निर्वाचन प्रहरीमा युवाहरूको आकर्षण देखिएको छ। मकवानपुरमा आवश्यक संख्याभन्दा बढीले आवेदन दिएका छन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीका अनुसार हालसम्म १ हजार ६०२ पुरुष र ६६४ महिला गरी कुल २ हजार २६६ जनाले आवेदन दिएका छन्। जिल्लामा १ हजार ९२३ जना निर्वाचन प्रहरी भर्ना गरिने छ ।

