मकवानपुर । मातृभूमि साहित्य समाज मकवानपुरले सुगम संगीतकी वरिष्ट गायिका कुन्ती मुक्तानसहित एकै मञ्चमा ६ जना व्यक्तिलाई सम्मान गरेकाे छ । मातृभूमिले मकवानपुरकाे शनिबार आयोजना गरेकाे ‘स्रष्टा सम्मान, परिचर्चा एवम् रचना वाचन कार्यक्रम’ मा विभिन्न क्षेत्रमा योगदान पुर्याउने ६ जनालाई सम्मान तथा पुरस्कृत गरेकाे हाे ।
मुक्तान नित्य गोविन्द स्मृति-मातृभूमि सङ्गीत पुरस्कार, २०८१ बाट सम्मानित भएकी हुन् । उक्त पुरस्कारकाे राशी २५ हजार रुपैयाँ रहेकाे छ ।मकवानपुर श्री सम्मान, २०८२ बाट सामाजिक अभियन्ता विश्व कान्ति कलावती सुमार्गी पराजुली सम्मानित भएकी छिन् । यसैगरी मातृभूमि राष्ट्रिय पुरस्कार, २०८१ बाट साहित्यकार प्रा.डा. लक्ष्मणप्रसाद गौतमलाई सम्मानित गरिएकाे छ । २५ हजार रुपैयाँ राशीकाे उक्त पुरस्कार गौतमलाई प्रदान गरिएकाे सचिव किशन पौडेलले जनाकारी दिए ।
यसैगरी यस्तै २१ हजार रुपैयाँ राशीकाे मायादेवी मातृभूमि पुरस्कार, २०८१ नियात्राकार भवानी खतिवडा, १५ हजार रुपैयाँ राशीकाे श्याम श्रेष्ठ स्मृति मातृभूमि पुरस्कार २०८१ बाट युवा कवि रोशन परियार तथा १० हजार रुपैयाँ राशीकाे शारदा उप्रेती स्मृति मातृभूमि सम्मान २०८१ बाट कला-साधक जीवन के.सी. सम्मानित भएका छन् ।
सचिव पौडेलका अनुसार समाजले शनिबार सम्मानसहित नारी स्रष्टा र सिर्जना परिसंवाद तथा नारी स्रष्ट्रा विशेष रचना वाचन कार्यक्रम समेत गरेकाे छ । नेपाली भाषा, साहित्य र कलाको संरक्षण र संवर्द्धन गर्ने उद्देश्यसहित २०५६ सालमा स्थापना भएकाे मातृभूमि साहित्य समाजले विभिन्न विधामा १७ वटा पुरस्कार एवम् सम्मान प्रदान गर्दै आइरहेको छ ।

बायाँबाट क्रमशः के.सी., गौतम, मुक्तान, खतिवडा र परियार
संक्षिप्तमा सम्मानित व्यक्तिहरुकाे
गायिका कुन्ती मोक्तान नित्य गोविन्द स्मृति–मातृभूमि सङ्गीत पुरस्कार २०८१ बाट सम्मानित । उनकाे परिचयकाे लागि नाम नै पर्याप्त छ। नेपाली सङ्गीत प्रेमीहरूको मन–मुटुको ढुकढुकीमा अविचल रूपमा स्थापित उनले नेपाली गीत–सङ्गीतको क्षेत्रमा लोक–आधारित आधुनिक गायनलाई विशिष्ट उचाइमा पुर्याउने काम गरेकी छिन् । तीन दशकभन्दा लामो समयदेखि नेपाली सङ्गीत प्रेमीहरूको हृदयमा बस्न सफल उनकाे वास्तविक नाम कुन्ती सुन्दास हो।
जन्म दार्जिलिङमा सन् १९६२ जुलाई ११ (वि.सं. २०१९ असार २७ ) गते भएको थियो । सन् १९८० मा पहिलो पटक नेपाल आउनु भएको उनी सन् १९८३ पछि नेपालमै स्थायी रूपमा बसोबास गर्दै आएकी हुन। गायन प्रतिको उनकाे रुचि सानैदेखि भने सन् १९७७ मा दार्जिलिङमा रहँदा पहिलो पटक अल इन्डिया रेडियोबाट लोकगीत रेकर्ड गराएकी थिइन् । सन् १९८० मा रेडियो नेपालमा गीत रेकर्ड गरेपछि उनकाे गायन यात्रा औपचारिक रूपमा प्रारम्भ भएकाे हाे । जुन यात्रा आजसम्म निरन्तर रूपमा अगाडि बढिरहेको छ।
उनले करिब ६ सयभन्दा बढी गीतहरू गाइएकी छन् भने १३ वटा एल्बमहरू सार्वजनिक भएका छन् । ‘माथि माथि शैलुङ्गेमा’, ‘खुट्टा तान्दै गर’, ‘निस्ठुरी मायालु’, ‘इलामे सहर’, ‘गोठालो जाँदा’, ‘रुँदै छु गैरी खेतमा’ जस्ता गीतहरू नेपाली सङ्गीतका कालजयी रचनामा पर्दछन्। विशेषतः ‘माथि माथि शैलुङ्गेमा’ उनकाे सर्वाधिक चर्चित तथा पहिचान बनाएको गीत हो। गायनसँगै उनी सङ्गीत गुरुआमा पनि छिन् । विभिन्न विद्यालयहरूमा सङ्गीत सिकाउँदै आएरहकी उनकाे सङ्गीतबाहेक खेलकुदप्रति पनि रुचि रहेको थियो । दार्जिलिङमा रहँदा महिला फुटबल टिमको सदस्यसमेत रहकी उनी सन् १९८३ मा सङ्गीतकार शिलाबहादुर मोक्तानसँग प्रेम विवाह गरेकी हुन् ।
उनकाे योगदानको कदर स्वरूप थुप्रै प्रतिष्ठित पुरस्कार तथा सम्मानहरू प्राप्त गरेकी छिन् । तीमध्ये प्रमुख रूपमा— राष्ट्रिय गौरव युवा पुरस्कार, छिन्नलता गीत पुरस्कार, भूपालमान सिंह युवा पुरस्कार, हिट्स एफ.एम. सर्वश्रेष्ठ महिला गायन प्रदर्शन पुरस्कार, वीरेन्द्र ऐश्वर्य सेवा पदक, म्युजिक नेपाल वेस्ट सेल्स अवार्ड, मधुरिमा फूलकुमारी महतो पुरस्कार, विद्या वासिनी लाइफ टाइम अचिभमेन्ट अवार्ड, साथै बोस्टन कलेज अफ लन्डनबाट सङ्गीतमा योगदानको कदर स्वरूप प्रदान गरिएको मानार्थ डिप्लोमा उल्लेखनीय छन्।
कला साधक जीवन के.सी शारदा उप्रेती स्मृति मातृभूमि सम्मान–२०८१ बाट सम्मानित । चित्रकार तथा डिजिटल आर्टिस्ट के.सी. नेपाली समकालीन चित्रकलाका अनुभवी कलाकारका रूपमा परिचित छन् । उनकाे सृजनात्मक यात्रा परम्परागत चित्रकलादेखि डिजिटल माध्यमसम्म विस्तार भएको छ। उनका कला–सिर्जनाले राष्ट्रिय मात्र नभई अन्तर्राष्ट्रिय कला–मञ्चमा समेत आफ्नो छुट्टै पहिचान स्थापित गरेका छन्।
बि. सं. २०१५।२।२७ मा ललितपुरमा जन्मनु भएका उनी हाल हेटौंडा सानो पोखरामा स्थायी रूपमा बसोबास गर्दै आएका छन् । स्नातक उत्तीर्ण गरेका उनले चित्रकलाको विधागत प्रशिक्षण हासिल गरेका छन्। उनकाे कलाहरूले अन्तर्राष्ट्रिय कलाकारहरूबाट प्रशंसा प्राप्त गर्नुका साथै न्यूयोर्कस्थित दुई कला दीर्घाबाट एकल प्रदर्शनीका लागि आमन्त्रण प्राप्त गरेकाे थियो ।
उनले २०३१ सालमा श्री ५ महाराजाधिराजको ३१औँ जन्मोत्सवको अवसरमा आयोजित कला प्रतियोगिता/प्रदर्शनीमा प्रथम पुरस्कार प्राप्त गरेका थिए । २०३३ सालमा मा श्री ५ वडा महारानीको २८औँ जन्मोत्सवको अवसरमा आयोजित कला प्रतियोगिता/प्रदर्शनीमा उच्चस्तरीय कृतिका लागि विशेष सम्मान प्राप्त समेत गरेका छन् । सन् १९७७ मा जर्मन कार्यक्रमको सहकार्यमा नेपाल सरकार, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण परियोजनाद्वारा आयोजित कला प्रतियोगिता/प्रदर्शनीमा चौथो पुरस्कार प्राप्त गरेका थिए । विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कला प्रदर्शनीहरूमा उनकाे निरन्तर सहभागिता रहँदै आएको छ।
श्याम श्रेष्ठ स्मृति मातृभूमि पुरस्कार -२०८१ बाट सम्मानित रोशन परियार ।
हिँड्नेछन् पैताला बोकेर बाटाहरू
उड्नेछन् आकाश बोकेर चराहरू
बाँच्नेछन् अँगालो पिएर अँध्याराहरू
हाँस्नेछन् मुस्कान पोतेर उज्यालाहरू
समकालीन नेपाली कवितामा सामाजिक चेतना, मानवीय संवेदना र यथार्थ बोधलाई सशक्त रूपमा प्रस्तुत गर्ने कविका रूपमा परिचित कवि परियार जीवनका भोगाइ, सामाजिक विभेद, श्रमको गरिमा, उत्पीडित वर्गको आवाज र मानवीय आत्मसम्मानका प्रश्नहरू स्पष्ट रूपमा अभिव्यक्त गर्ने गर्छन् । २०३८ सल असार २६ गते धनकुटा जिल्लाको पाख्रीबास नगरपालिका वडा नं. ४, रमनेमा जन्मिएका उनले विद्यालय जीवनदेखि नै कविता, गीत र गजल लेखनमा रुचि राख्दै प्रारम्भिक रचनाहरू विभिन्न अवसरमा पुरस्कृतसमेत भएका थिए।
उनका काव्यकृतिहरूमा समाजका उपेक्षित आवाज, श्रमिक वर्गको पीडा, प्रेम, प्रतिरोध र आशाका स्वरहरू सजीव रूपमा उपस्थित हुन्छन्। २०७२ सालको प्रारम्भदेखि उनले निरन्तर रूपमा साहित्य लेखनलाई साधनाको रूपमा अगाडि बढाइ रहेका छन् । उनकाे एउटा कविता हालसालै धनकुटाको पाख्रीबास स्थित पाख्री पार्कमा शिलालेखीकरण भएको थियो ।
टेलरिङ्ग व्यवसायमा संलग्न रहँदै आएका उनी विभिन्न पुरस्कारहरूबाट सम्मानित भएका छन् । २०७८ सालमा श्री कृष्ण भूषण बल युवा सिर्जना पुरस्कार’ लगायत विभिन्न साहित्यिक सङ्घ–संस्थाहरूबाट दुई दर्जनभन्दा बढी पुरस्कार तथा सम्मान प्राप्त गरेका छन् । २०७३ सालमा प्रकाशित उनकाे कविता सङ्ग्रह ‘सियोको दूरबिन’ ले नेपाली कवितामा एउटा पृथक् पहिचान स्थापित गरेको छ।
मायादेवी मातृभूमि पुरस्कार–२०८१ बाट सम्मानित व्यक्ति नियात्राकार एवम् कवि भवानी खतिवडा । उनी समकालीन नेपाली साहित्यमा छन्द कविताको अनुशासन र नियात्रा विधाको संवेगात्मक गहिराइलाई सन्तुलित रूपमा आत्मसात् गर्ने सशक्त स्रष्टा हुन। उनकाे लेखनमा प्रकृति, भूगोल, यात्रानुभूति, समाज र मानवीय चेतनाको सूक्ष्म समन्वय स्पष्ट रूपमा पाइन्छ। विशेषतः नियात्रा विधामा उनले नेपाली भू–परिदृश्य, पहाडी जीवनशैली र सांस्कृतिक अनुभूतिलाई कलात्मक तथा संवेदनशील भाषामा अभिव्यक्त गरेकी छिन्।
उदयपुर जिल्लाको नेपालटारमा जन्मिएर हाल काठमाडौंमा बसोबास गर्दै आएकी खतिवडाले कृषिमा डिप्लोमा, बी.एड., एल.एल.बी. तथा ग्रामीण विकास विषयमा एम.ए. उपाधि हासिल गरेकी छिन् । पेसागत रूपमा नेपाल सरकारको निजामती सेवामा कार्यरत उनीमा प्रशासनिक अनुभव, ग्रामीण यथार्थ र विकाससम्बन्धी प्रत्यक्ष अनुभूतिले साहित्यलाई थप जीवन्त र यथार्थपरक बनाएको देखिन्छ।
हाल नियात्रा समाज नेपालको महासचिव तथा पर्वतीय साहित्य समाज नेपालको सचिवका रूपमा जिम्मेवारी निर्वाह गरिरहेकी उनले नियात्रा तथा पर्वतीय साहित्यको प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएकी छिन् । २०७८ सालमा प्रकाशित ‘घामभन्दा पहिले’ (नियात्रा) बाट सुरु भएको कृति–यात्रा ‘चारखोलाको आँगनीमा’ (पद्य–नियात्रा, २०७९), ‘आकाश ओढेको डोल्पो’ (नियात्रा, २०८०) हुँदै ‘प्रणाम सगरमाथा’ (२०८१) सम्म पाठक माझ छ। ‘छन्दसारथी’, ‘नेपाली प्रतिनिधि नियात्रा’ र ‘हिमाल हेर्ने पाइलाहरू’ जस्ता ग्रन्थहरूको सम्पादनमार्फत उनले नेपाली साहित्यलाई समृद्ध बनाएकाे छ ।
उनकाे साहित्यिक योगदानको कदर स्वरूप लक्ष्मीप्रसाद देवकोटा काव्यिक पुरस्कार (२०७६), साहित्यपोष्ट उत्तम कृति पुरस्कार (२०७८), कवि शिरोमणि लेखनाथ पुरस्कार (२०८०) तथा चिसाप खेमलाल पुरस्कार (२०८०) बाट सम्मानित भएकी छिन् । समग्रमा भन्नुपर्दा, नियात्राकार भवानी खतिवडा छन्द कविताको शास्त्रीय चेतना र नियात्राको आधुनिक संवेदनालाई सेतु झैँ जोड्ने, भूगोल र यात्रालाई साहित्यिक सौन्दर्यमा रूपान्तरण गर्ने समकालीन नेपाली साहित्यका एक सशक्त नारी हस्ताक्षर हुन् ।
मातृभूमि राष्ट्रिय पुरस्कारबाट सम्मानित व्यक्तित्व प्रा.डा. लक्ष्मणप्रसाद गौतम । साहित्याकाशका एक विराट व्यक्तित्व, साहित्यकार गौतमकाे नाम विशाल र बहु आयामिक छ। उनका साहित्यिक योगदान, सामाजिक कर्म र प्राप्त उपलब्धिहरू अनगिन्ती छन्। प्रा. डा. गौतम नेपाली भाषा तथा साहित्यका प्रतिष्ठित समालोचक, लेखक, अनुसन्धानकर्ता र प्राध्यापक हुनु । नेपाली समालोचना, कविता समीक्षा, गद्य विधान तथा समकालीन साहित्य अध्ययनका क्षेत्रमा उनले लामो समयदेखि योगदान दिँदै आएका छन्।
वि.सं. २०२० असोज २५ गते बागलुङ जिल्लामा जन्मनु भएका उनकाे स्थायी बसोबास चितवनको भरतपुरमा रहेको थियो। पछिल्ला समय कीर्तिपुर, काठमाडौँमा बसोबास गर्दै आएका उनी हाल त्रिभुवन विश्वविद्यालय, नेपाली केन्द्रीय विभागमा अध्यापनरत छन् । भाषा, साहित्य, चिन्तन र अध्ययनप्रति गहिरो रुचि राख्ने उनले नेपाली विषयमा स्नातकोत्तर तथा विद्यावारिधि उपाधि प्राप्त गरेका छन्।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको केन्द्रीय समितिलगायत विभिन्न साहित्यिक संस्थाहरू र प्राज्ञिक निकायहरूमा सल्लाहकारको भूमिकामा समेत रहेका उनले म्यानमार र थाइल्यान्डमा नेपाली भाषा–साहित्यको प्रवर्धन र विस्तारका लागि पाठ्यक्रम, पाठ्यपुस्तक तथा शिक्षण निर्देशिका निर्माण गरी ती दुवै देशमा करिब ५०० भन्दा बढी नेपाली शिक्षकहरूलाई प्रशिक्षण प्रदान गरेका छन्। नेपाल, भारत, अस्ट्रेलिया, बङ्गलादेशलगायत विभिन्न देशहरूमा सम्पन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गोष्ठी र सम्मेलनहरूमा उनले १५० भन्दा बढी कार्यपत्र प्रस्तुत गरिसकेका छन् ।
उनका समालोचना, विश्लेषण, कथा तथा निबन्ध विधामा १८ वटा मौलिक कृतिहरू प्रकाशित छन्। नन्दनको काव्यिक परिवेश (२०५२) देखि समवेत (निवन्धसङ्ग्रह) २०८२ गरेर १८ मौलिक कृतिहरू प्रकाशित छन् । उनीद्वारा सम्पादित निर्देशिका, पाठ्यसामग्री, अनुसन्धान कार्य, अनुसन्धानात्मक लेख तथा सम्पादित कृतिहरू गरी करिब १६ वटा कृतिहरू प्रकाशित भइसकेका छन् ।
साढे चार दशकभन्दा बढी समयदेखि साहित्य साधनामा निरन्तर सक्रिय रहँदै आएका र विगत तीन दशकदेखि समालोचना लेखनमा निरन्तर योगदान पुर्याएकाे कारण उनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका विभिन्न ५२ वटा सम्मान तथा पुरस्कारबाट सम्मान गरिएकाे छ ।
१ नेपाल विद्या भूषण – क राष्ट्रपतिको कार्यालय, नेपाल सरकार २. अन्तर्राष्ट्रिय सर्वोत्कृष्ट कृति पुरस्कार (अमेरिका) ३ रोहिणी अन्तर्राष्ट्रिय सर्वोत्कृष्ट कृति पुरस्कार (अमेरिका) ४ नेपाली प्रज्ञा प्रतिष्ठान सम्मान, ५ नेपाली साहित्य सम्मान (म्यानमार, ६ भीमनिधि तिवारी साहित्य पुरस्कार, (२०७०) ७. लेटर अफ अनर, (सन् २०२२, बङ्गलादेश) ८. नेपाली दूतावास साहित्य सम्मान, (सन् २०२२, बङ्गलादेश) ९. थाई-नेपाली सङ्घ विशिष्ट सम्मान (सन् २०२५, थाइल्यान्ड) १० महाकवि देवकोटा राष्ट्रिय पुरस्कार, (नेपाल सरकार

