मकवानपुर । मकवानपुरकाे हेटौंडा उपमहानगरपालिका वडा नम्बर १९, बस्तिपुरस्थित निर्मल माध्यमिक विद्यालयको स्वर्ण महोत्सव आज (मंगलबार) बाट सुरु भएको छ ।
विद्यालयले मंगलबारदेखि शनिबारसम्म ५ दिन विद्यालयको ५०औं वार्षिकोत्सवलाई स्वर्ण महोत्सवको रुपमा मनाउन लागेको प्रधानाध्यापक प्रवोध बिडारीले जानकारी दिए । उनका अनुसार बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले महाेत्सवकाे उद्घाटन गर्ने छन् । स्वर्ण महोत्सव अन्तरगत प्रत्येक दिन विशेष कार्यक्रमहरु आयोजना गरिने उनले जानकारी दिए ।
महोत्सवअन्तर्गत बुधबारदेखि शुक्रबारसम्म पालिकास्तरीय पुरुष भलिबल प्रतियोगिता हुनेछ । प्रतियोगितामा प्रथम हुने टोलीले ७५ हजार, द्वितीय हुनेले ५० हजार र तृतीय हुने टोलीले सन्त्वना पुरस्कार १५ हजार रुपैयाँ पाउने छन् । उत्कृष्ट खेलाडीले १० हजार रुपैयाँ पुरस्कार पाउनेछ ।यसैगरी बिहीबार विद्यालय परिसरमा नगरस्तरीय विद्यार्थी हाजिरीजवाफ प्रतियोगिता हुनेछ । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः १५ हजार, १० हजार र ६ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गर्नेछन् भने चौथो स्थान हासिल गर्नेले ४ हजार नगदसहित प्रमाणपत्र प्राप्त गर्ने छ ।
शिक्षक नृत्य प्रतियोगिता समेत हुने महोत्सवमा विद्यालयको गान(गीत) तथा वृत्तचित्र सार्वजनिक हुनेछ । स्वर्ण महोत्सवमा निर्मल स्मारिका प्रकाशन तथा स्वर्ण स्तम्भ अनावरण हुनेछ भने बृहत रक्तदान तथा बृहत स्वास्थ्य शिविर समेत सञ्चालन हुने प्रअ विडारीले जानकारी दिए । विद्यालयले महोत्सव अवधिभरी खानाको स्टल तथा मिनी व्यापार महोत्सव समेत सञ्चालन गर्नेछ ।
यसैगरी स्काउट मार्चपास प्रतियोगिता आयोजना हुनेछ । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः १५ हजार, १० हजार र ७ हजार रुपैयाँ पुरस्कार पाउने छ । सान्त्वना स्वरुप ५ हजार पुरस्कार राशिको व्यवस्था गरिएको छ । स्थानीय र राष्ट्रिय कलाकारकाे प्रत्यक्ष लोकदोहरी कार्यक्रम समेत महोत्सवमा हुनेछ ।
स्वर्ण महोत्सवका लागि पूर्वविद्यार्थीहरुबाट करिब २५ लाख रुपैयाँ प्राप्त भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमृत ओलीले बताए । करिव ५० लाख रकम लाग्ने अनुमान गरिएकाे महोत्सवका लागि हेटौंडा उपमहानगरपालिकाले ५ लाख, १९ नम्बर वडा कार्यालयबाट ५ लाख, मनहरी गाँउपालिकाबाट २ लाख, बुढानिलकण्ठ नगरपालिकाबाट २ लाख सहयोग प्राप्त भएको बताइएकाे छ ।
शनिबार बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री डा. दिनेशचन्द्र देवकोटाले स्वर्ण महाेत्सवकाे समापन गर्ने कार्यक्रम रहेकाे विद्यालयले जनाएकाे छ ।

